
क्रिस्टियानो रोनाल्डोले अहीले नै सन्यास नलिने, भने– “पोर्चुगलका लागि अझै प्रतिस्पर्धा गर्छु”
मकै हाउस मिडिया,
न्युयोर्क । पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोली पोर्चुगलबाट तत्काल सन्यास नलिने स्पष्ट पारेका छन्। पछिल्लो राष्ट्रिय टोलीको क्याम्पमा भएको घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै रोनाल्डोले आफू फिट भएपछि निलम्बन पूरा गरेर पुनः पोर्चुगलका लागि खेल्न तयार रहेको बताएका छन्।
रोनाल्डोका अनुसार विश्वकपपछि पोर्चुगल फुटबल महासंघ (FPF) का अध्यक्षले उनलाई राष्ट्रिय टोलीबाट अलग नहुन आग्रह गरेका थिए। साथै, वर्तमान प्रशिक्षकबारे उनको राय माग्दा आफूले ती प्रशिक्षकलाई सही छनोट भएको बताएको रोनाल्डोले उल्लेख गरेका छन्।
उनले अगस्टमा प्रशिक्षकले आफूलाई टोलीको योजनामा महत्वपूर्ण खेलाडीका रूपमा रहेको बताएको र पहिलो तथा अन्तिम खेल खेल्ने योजना रहेको जानकारी दिएको बताएका छन्। प्रशिक्षकले केही अवे खेलमा नजान सुझाव दिए पनि आफूले कप्तान भएर टोलीसँगै रहनुपर्ने भन्दै अस्वीकार गरेको रोनाल्डोको भनाइ छ।

नर्वेविरुद्धको खेलअघि आफूलाई करिब ३० मिनेट खेल्न तयार छौ कि भनेर प्रशिक्षकले सोधेको रोनाल्डोले बताएका छन्। त्यसपछि आफूले दोस्रो हाफदेखि वार्मअप गरे पनि खेलमा अवसर नपाएको र यसबाट प्रशिक्षकले आफ्नो प्रतिबद्धता तोडेको महसुस भएको उनले बताएका छन्। खेलपछि समर्थकलाई अभिवादन नगर्नु भने आफ्नो गल्ती भएको भन्दै उनले माफीसमेत मागेका छन्।
रोनाल्डोले त्यसपछि प्रशिक्षक र आफूबीच भएको सहमतिअनुसार पत्रकार सम्मेलनमा घटनाको वास्तविक योजना सार्वजनिक गरिने अपेक्षा गरेको बताएका छन्। तर पत्रकार सम्मेलनमा आफूले सहमति गरेको भन्दा फरक कुरा प्रस्तुत गरिएको र आफूले “अनावश्यक आक्रमण” महसुस गरेको उनको आरोप छ।

“झन्डै २५ वर्षको राष्ट्रिय टोलीको यात्रामा मैले कहिल्यै प्रशिक्षकको प्राविधिक निर्णयमा हस्तक्षेप गरेको छैन,” रोनाल्डोले भनेका छन्, “तर जब मेरो विश्वास र शब्दको सम्मान हुँदैन भने त्यहाँ मेरो स्थान हुँदैन।”
राष्ट्रिय टोलीको क्याम्प छाडेको जिम्मेवारी आफूले नै लिने बताउँदै रोनाल्डोले आफ्ना सहकर्मी खेलाडीहरूसँग माफी मागेका छन्। कप्तानका रूपमा आफ्नो जिम्मेवारी अझ ठूलो भएकाले आफूलाई कुनै छुट नदिई कारबाही गर्नसमेत FPF लाई आग्रह गरेका छन्।
राष्ट्रिय टोलीबाट बिदाइ खेल खेल्ने विषयमा भइरहेको चर्चाबारे रोनाल्डोले भनेका छन् कि उनका लागि पोर्चुगलको राष्ट्रिय टोलीको अर्थ “प्रतिस्पर्धा गर्नु” हो, औपचारिक बिदाइका लागि मात्र मैदानमा उत्रिनु होइन।
आफ्ना बुबाको निधनपछि समेत अर्को खेल पूरा नहुँदासम्म राष्ट्रिय टोलीसँगै रहेको प्रसंग उल्लेख गर्दै उनले देशका लागि आफ्नो प्रतिबद्धता स्पष्ट पारे।
रोनाल्डोले अन्त्यमा आफू फिट भएमा निलम्बनपछि पुनः पोर्चुगलको राष्ट्रिय टोलीमा उपलब्ध हुने र पोर्चुगलका लागि प्रतिस्पर्धा गर्दै जित्ने लक्ष्यमा रहने बताएका छन्।
“यो नै पूर्ण सत्य हो,” रोनाल्डोले आफ्नो वक्तव्यको अन्त्यमा भनेका छन्।

