
अभियन्ता अक्कल तामाङको सक्रियतामा ब्लड क्यान्सर पीडितलाई ११ लाख भन्दा बढी सहयोग ।
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । अभियन्ता अक्कल तामाङको सक्रियतामा ब्लड क्यान्सर पीडितलाई ११ लाख भन्दा बढी सहयोग ।

जनसंख्या तथा स्वास्थ्य मन्त्री मोहन बहादुर वस्नेतले कोही नेपाली पैसाको कारण उपचारको अभावमा ज्यान गुमाउनु नपर्ने बताइ रहदा यता अस्पतालहरुमा हजारौं बिरामीहरु आफ्नो जीवन रक्षाको याचना गरिरहेका छन् । यस्तै हजारौं बिरामीहरु मध्ये सिभिल अस्पतालमा जीवन मरणको लडाइँ लडिरहेका काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका वडा नम्बर ७ कुरुवास खैरिपाखाका १० वर्षिय बालक अंकित कुमार तामाङ आफुलाई ब्लड क्यान्सर भएको तर बोन म्यारो ट्रान्सप्लान गर्न सकेमा निको हुने जसको लागि तीस चालीस लाख रुपैया खर्च लाग्ने कुरा डाक्टरले सुनाएकोले बाच्ने आशा जागे पनि आफ्नो उपचारको लागि धेरै पैसा लाग्ने तर सरकारले यस किसिमको रोगको उपचारको लागि सहयोग नगर्ने जानकारी पाएकोले चिन्तित भएको हुनाले अंकितले आफु बाच्न चाहेकोले आफुलाई बचाउन सहयोगको अपिल गरिहेको छ भने छोराको हालत देखेर विचलित भएका आर्थिक अवस्था कमजोर अंकितका आमाबुबा पैसाको कारण उपचार गर्न नसकी छोरा गुमाउनु पर्ने पो होकी भनेर विछिप्त भएर दिनरात छटपटीदै आफ्नो टोल, छिमेकी, आफन्ता अनि देश विदेशमा रहेका नेपालीहरुलाई वेदना सुनाउदै छोरा बचाउन सहयोगको लागि हारगुहार गर्ने क्रममा समाजसेवी अक्कल तामाङलाई गुहार्न पुगेको कुरा अंकितका बुबा अनिल कुमार तामाङले बताउनु भयो ।

अनिल कुमारको वेदना सुनेर आफ्नो आँखा रसाएको बताउनु हुने अभियन्ता अक्कल तामाङले आफुले पनि सहयोगको पहल गर्ने अस्वाशन दिएको तर आफु अमेरिक आएको केही समय मात्र भएकोले धेरै अमेरिकबासी नेपालीहरु नचिनेकोले कसरी सहयोग जुटाउने भन्ने कुराले पिरोलिएको बताउनु भयो ।

त्यसपछि आफ्नो नजिकको मित्र शेर्पा संघ अमेरिकका सस्थापक अध्यक्ष निमा शेर्पालाई सबै कुरा सुनाएका तामाङलाई सहयोग रकम संकलनको केही उपाय सिकाउनुको साथै आफुले पनि मद्दत गर्ने जनाएपछि हौसिएका तामाङले अर्को साथी सागर श्रेष्ठ र लुइसाङ वाइबा तामाङसंग कुरा गर्दा सामाजिक भावना भएका उनीहरुले पनि भरपुर मद्दत गर्ने अस्वाशनले ढुक्क भएको बताउनु भयो ।

”त आँट म पु–याइ दिन्छु” भने झै साथिहरुको सुझावलाई मनन गरि सहयोग संकलनको लागि तामाङले अमेरिकमा तामाङ समाज अमेरिकको अध्यक्ष विनिता तामाङ र तामाङ सोसाइटी अफ अमेरिकका ट्रष्टी कोषाध्यक्ष सानु माया तामाङ अनि कोरियामा लामा गुरु धोन्डुप लामाको संयोजकमा टिम बनाएर अभियान संचालन गर्नु भएको थियो ।

अभियानमा विनिता तामांगको टिममा तामाङ समाज अमेरिकाका सदस्यहरु, एनआरएनए अमेरिकका उपाध्यक्ष प्रेम लामा, पेन्सिलभेनिया च्याप्टरका अध्यक्ष जयन्द्र लामा, न्यूयोर्क च्याप्टरका अध्यक्ष हेमन्थ मल्ल, उपाध्यक्ष छिरिङ शेर्पा, महिला उपाध्यक्ष लक्ष्मी थापा, सचिव राजु तामाङ, कोषाध्यक्ष देवेन्द लामा, आरसी आङ छिरिङ शेर्पा र पूर्व उपाध्यक्ष शोभाकान्त पान्डे त्यस्तै नेवा गुठीका पूर्व अध्यक्ष निर्मल प्रधान, गुरुङ समाजकी अध्यक्ष मनिता गुरुङ, शेर्पा संघ अमेरिकका अध्यक्ष एपी शेर्पा, पूर्व अध्यक्ष आङ जङबु शेर्पा, सिन्धु वेलफेरका पूर्व अध्यक्ष नुर्बु शेर्पा, भिजन क्लब इन्टरनेशनलका अध्यक्ष मंगलदास श्रेष्ठ, तामाङ सोसाइटी अफ अमेरिकका पूर्व अध्यक्ष भरत मोक्तान, संस्थापक सदस्य सिर्जना तामाङ, जनजाती महाँसंघ अमेरिकका वरिष्ठ उपाध्यक्ष मिङमार शेर्पा, हामी नेपाली ग्लोबल न्यूयोर्कका अध्यक्ष ध्रुव कुँवर, एभरेष्ट टाइमका सम्पादक आङ छिरिङ शेर्पा, मकै हाउसका सम्पादक खडका बहादुर पुलामी साथै समाजसेवी रायन लामगाडे लगायत मनकारी ६५ जनाले ऐक्यवद्धता जनाइ सहयोग गर्दा ३२०८डलर (४२१४७६रुपौयाँ) संकलन भएको थियो भने सानुमायाको टिममा तामाङ सोसाइटी अफ अमेरिकका सल्लाहकारहरु, पूर्व अध्यक्षहरु, कार्यसमितिका पदाधिकारीहरु र साधारण सदस्यहरुले ऐक्यवद्धता जनाइ सहयोग गर्दा १९३७डलर (२५४४८४रुपैयाँ) संकलन भएको थियो साथै धोन्डुप लामा टिममा कोरियन लामा गुरु एक्लैले दश लाख वन र अन्य मनकारी कोरियन तथा नेपाली समाजसेवीहरुले ऐक्यवद्धता जनाई सहयोग गर्दा ४४७५०००वन (४४४९०१रुपैयाँ) संकलन भएको थियो भने अभियान देखेर अष्ट्रेलियाबाट सुमिना लामाले ५०डलर(४३२०रुपैयाँ) सहयोग पठाउनु भएको थियो । यसरी जम्मा भएको सम्पूर्ण रकम अंकित कुमार तामाङको नाममा सिटिजन बैक बानेश्वरमा रहेको खातामा र बुबा अनिल कुमार तामाङको खातामा विभिन्न मितिमा कूल ११२५१८१(एघार लाख पच्चिस हजार एक सय एकासी) रुपैयाँ पठाएको अभियन्ता तामाङले जानकारी दिनु भयो ।
बिरामीको अप्रेशनको लागि रकम नपुग भएर छटपटी रहनु भएका अंकितका परिवारलाई थोरै भए पनि आफ्नो अभियानले सहयोग जुटाउन सकेकोमा खुशी व्यक्त गर्नु हुँदै तामाङले अभियानमा संयोजन गर्नु भै अहोरात्र खट्नु हुने विनिता तामाङ, सानुमाया तामाङ र लामा गुरु धोन्डुप लामालाई विशेष धन्यवाद दिनु हुँदै ऐक्यवद्धता जनाई प्रत्येक्ष वा अप्रत्यक्ष सहयोग पु–याउनु हुने सम्पूर्ण मनकारी सहयोगीहरुलाई धन्यवाद दिनु भएको छ ।