
भित्तामा लेखिएका ठुला ठुला क ख – डा. रमेश शुभेच्छु
हाम्रा बाहरू सिलोक भन्न जान्ने थिए ।
रामायण पढ्थे । महाभारत पढ्थे । लोकगीत र श्लोकहरू आउँदो थिए ।
माताजीलाई पनि केही श्लोक आउँदो थियो । हजुरआमालाई पनि केही श्लोक आउँथ्यो । सबैभन्दा धेरै पिताजीलाई आउँथ्यो । मेरा नजरमा हजुरबा धेरै जान्ने थिए । पिताजी त्यतिकै जान्ने थिए । उनीहरू साह्रो धेरै कुरा जान्ने थिए । उनीहरूले नजानेको केही थिएन ।
म पढ्ने बहानामा धुलौँटोसँग खेलेर फोहोरी भएको हुन्थेँ । धुलौटाको माटो हात र लुगाभरि लागेको हुन्थ्यो । पाटीको मोसो पनि हातभरि लागेको हुन्थ्यो । अनुहारभरि लतपतिएको हुन्थ्यो । धुलौटाको माटाले शरीर मटाइलो भएको हुन्थ्यो । हरेक दिन कुनै न कुनै बहानामा ती वस्तुसँग घोटिन्थेँ ।
मौका पर्नासाथ खेल्न पनि भ्याउँथेँ । मैले भेला पारेका खेल्ने कुराहरूसँग साक्षात्कार हुन्थँे । आफै बनाएका खेल्ने कुराहरूसँग पनि ठोकिँदै गर्थें । खेल्ने बस्तुमध्ये बाका पुराना मोजामा पलास्टिक कोचेर सिएको गोल प्रमुख थियो । एउटा बाँसको आँखाका बिचमा प्वाल पारेको खेलौना गाडी थियो । बहिनीसँग गट्टी पनि थिए । अलि अलि गट्टी खेल्न पनि थालेको थिएँ । क्रिकेटको पोल जस्तै ढुङ्गा हार लगाएर पोल बनाएर खेल्ने खेलका ढुङ्गा पनि थिए । हामी त्यसलाई गेम मत्र भन्थ्यौँ । डन्डीबियो पनि थियो । नागी खेल्ने डोरी पनि थियो ।
पढ्ने बहानामा म थुनिएँ । म खेलको रमाइलोबाट खोसिएँ । खेल्ने भन्दा पढ्ने कुरा अगाडि आयो । खेल्ने साथी भन्दा टाढा टाढा भइयो । आमाबाट पनि टाढा भइयो । हजुरबा र पिताजीका नजिकमा बस्नुपर्ने भयो ।
मेरो पढाइमा र व्यवहारमा मेरा हिरो पिताजी थिए । मेरा हिरो हजुरबा थिए । मेरा हिरोमध्ये पिताजी विशेष थिए । मलाई लाग्थ्यो ः
उनको जस्तो क ख, अ आ लेख्न पाए त !
उनले जस्तो श्लोक आउँदो पारेर गाउन पाए त !
भनिहालेँ नि । पिताजी मेरो हिरो थिए ।
पताजीको टोपी राम्रो ।
पिताजीको कोट राम्रो ।
पिताजीका दौरासुरुवाल भन्दा राम्रो लुगा अर्को थिएन ।
पिताजीका जुत्ता चप्पल सबै राम्रा ।
पिताजीको छाता विशेष राम्रो ।
पिताजी हाँस्ता खुब राम्रा देखिन्थे । उनका दाँत खुब राम्रा थिए । उनी संसारका राम्रा मान्छे थिए । त्यति राम्रा मान्छे पढाउन थालेपछि अलि ननिका लाग्थे । मलाई कहिलै नगरेको गाली गर्न थालेका थिए । लेख्न नजान्दा कुट्न खोज्थे । कहिलेकाहीँ कुटिहाल्थे । पिताजी राम्रा कि नराम्रा म अलमलिएँ ।
पढ्नुअघि हजुरबा उस्तै राम्रा मान्छे लाग्थे । उनको काख मेरो संसार थियो । उनले लुकाएर दिएको मिस्रीको टुक्रो संसारमा नपाइने विशेष मिठाइ थियो । अनुमप चक्लेट थियो । उनी राम्रा थिए । पढाउन थालेपछि उनी पनि नजिका लाग्न थाले । म बा र पिताजी भन्दा टाढा बस्न चाहन्थेँ । सबैले उनीहरुकै नजिक पु¥याएर छाड्थे । उनीहरूसँगको सम्बन्ध बिग्रला जस्तो हुन्थ्यो ।
म भागेर जाने तल्ला घर, माथ्ला घरमा पनि म पढ्न थालेको थाहा थियो । मलाई भागेर जाने ठाउँ कतै थिएन । त्यस बिचमा मावल जान पनि पाइएन । एक दिन साइँला मामा आएका थिए । उनीसँग भागेर मावल जाने सल्लाह भएको थियो । माताजीलाई मात्र भनेर पिताजीलाई नभनी भाग्ने योजना थियो । मामाले सुनाइदिएछन् । मावल जान पनि पाइएन । पिताजीको टोपी लगाइहोरी भाग्न लागेको मान्छे रोकिएँ ।
म भाग्ने ठाउँ खोज्दै हुन्थेँ । कुनै दिन सबेरै माताजीसँग घाँसमा जान्थेँ । माताजीको प्यारो बन्न खोज्थेँ । घाँस काट्न र मुठा बाँध्न सिक्थेँ, सघाउँथेँ । माताजी पनि पढ्नुपर्छ है नानी भन्थिन् । घाँसबाट फर्कनासाथ हजुरबा पक्रिहाल्थे । उनी भन्थे, पढ्नुपर्छ भनेर भागिस् ? पिताजीबाट त्यस्तै प्रश्न आउँथ्यो । मेरो घाँस काट्न भेला पार्न सघाएर गरेको योगदान त्यतिकै माटामा मिल्थ्यो ।
कहिलेकाही दिदीहरुसँग बाख्रा चराउन जान्थेँ । त्यहाँ जाँदा पनि उही पढिनस् भन्ने हुन् कि भन्ने खतरा हुथ्यो । बडीआमासँग गाई चराउन जाँदा पनि उही समस्या हुन्थ्यो । अरु नै काम गरेर अयो, तेरो काम पढ्ने हो भनिदिन्थे ।
म भाग्दै र समातिँदै पढ्न थालेँ । क ख र अ आका साथै एक दुई पनि पढ्न थालेँ । पहिलो किताबमा भएका सबै कुरा पढ्नुपर्छ भन्ने बाहरुको ढिपी थियो । पढ्दा भन्न त छिटै आउँथ्यो । लेख्न भने साह्रै गाह्रो । कहिले त पढ्दिन भनेर झगडा गरुँझैँ हुन्थ्यो ।
लेख्न नजान्दा बाहरु रिसाउँथे । म पनि दुःखी हुन्थेँ । एक दिन औँलाले धुलौटामा लेख्दा लेख्दै चोरी औँलो पिल्सिएर रगतै आयो । औँला दुःखे डिक समाउनु पथ्र्यो । डिक र खरी समाउने बानी लागेपछि बल्ल मैले अक्षर लेख्न जानेँ । त्यसपछि अगेनाबाट उडेको खरानीमा, बारीका माटामा औँलाले कोेरेर वा कुनै डिकले लेख्न थालेँ । साना ढुङ्गाले ठुला ढुङ्गामा, खरीले काठमा, जहाँ पनि अक्षर लेख्दै हिँड्न थालेँ । काँटीले बाँसमा लेख्दा झन् मजा आउँथ्यो ।
सुरु सुरुमा जतिखेरै पढ् भन्थे । अलिपछि बाहरु पनि काममा लागे । मलाई अलि शान्ति भयो । आमैहरुले पढ् त भन्थे तर पढ्यो कि पढेन भनी जाँच्न सक्तैन थिए ।
एक दिन अँगारले कमेरो छ्यापेका भित्तामा जाने जति कुरा लेखेँ । चित्त बुझ्दा ठुला ठुला क ख लेखेँ । अ आ पनि लेखेँ । कालो गाजल पोतेका ठाउँमा खरीले लेखेँ । रातोमाटोले पोतेका ठाउँमा अँगारले लेखेँ । सप्पै भित्ताभरि लेखेँ । सिकुवाको भित्ताभरि लेखेँ । जाने जति सबै लेखेँ । मलाई लागेको थियो । आज बहादुरी गरेँ । बाहरु आएपछि मेरो बहादुरी देखाउँछु । दौडेर गएर आमैलाई भनेँ, आमै आज मैले ठुला ठुला क ख लेखेँ । मैले झन् ठुला ठुला अ आ लेखेँ । आमै उत्साही बनेर मेरा पछिपछि आइन् ।
बिचैमा आमै रोकिएर कराइन् । कराउँदै कराउँदै ताउरमाउर गर्दे कुट्न लखेटिन् । ए मोरा, अँगारले यसरी भित्तो कोर्नुहुन्छ । रिन लाग्छ । हेर न, गर्नु गरेछ । ए बुहारी यता आइज । आमैले हजुरआमालाई बोलाइन् ।
हजुरआमा केके न भएछ भन्ठानेर कुदेर आइन् । उनका हातमा कुचो थियो । देख्ना साथ हातमा बोकेको कुचाका डाँठले एक पटक बजाइन् । मलाई निकै ताल पारेर कुटेपछि भनिन् ला जा । यसरी भित्तो कोर्नुहुन्छ । आमै हजुरआमैले रातो माटाको डल्लो र कमेराको डल्लो निकालेर छुट्टा छुट्टै भाँडामा भिजाए । कपडा च्यातेर छुट्टा छुट्टै पोता बनाए । ती पोता दलेर मेरा अक्षर मेटिदिए । कमेरामाथि कमेरै दले । रातो मातोमाथि रातो माटै दले । कालो गाजलमाथि गाजल नै दले ।
मेरा बल्ल बल्ल लेखेका ठुला ठुला क ख मेटिए । कति मिहिनेतले लेखेका ठुला ठुला अ आ मेटिए । लाग्नसम्म नरमाइलो लाग्यो । भित्तामा लेखेका अक्षर बाहरु र माताजीलाई देखाउनै पाइएन ।
दिउँसो बाहरु काममा जान्थे । बिहान र बेलुका एक न एक समय पढ्न बस्नुपथ्र्यो । मकै छर्ने बेला पिताजीसँगै खेतमा गएर मकै छर्दा रमाइलो हुन्थ्यो । ती मकैमा जुँघा र धानचामर आएपछि रुङने बेला हुन्थ्यो । मकै रुङ्ने बेला भएपछि आमैसँग याक्सामा गइन्थ्यो । बिहनदेखि साँझसम्म याक्सामै बसिन्थ्यो । रुङ्न छोड्यो भने बाँदरको बगाल आएर मकै खाइदिन्थ्यो । कहिले ढेडुको बगाल आउँथ्यो ।
मकै रूङ्ने याक्साको संसार छुट्टै थियो । त्यस बेला काले कुकुर, आमै र म याक्सामा बस्थ्यौँ । आमैले उतै पकाएर खुवाउँथिन् । मकै खाने बेला भएपछि पोलेर खुवाउँथिन् । फ्याप्लाको रोटी पकाएर खुवाउँथिन् । कहिले काहीँ पहिलो किताब लिएर गए पनि त्याँ पढ्नु पर्दैन थियो ।
असार लागेसँगै मेरो खरी धुलौटो हरायो । जानेका कुरा पनि कति बिर्सिएँ । सबै जना काममा लागे । मेरा क, ख, अ आ , एक दुई जाममा परे । म पनि हिलामा कोदालो बोकेर छिरेँ । जानेको आली लाएँ । जानेको बाउसे गरेँ । त्यो भन्दा धेरै पानी भरिएका गराका समाहा खोलेर पानी बगाएँ । त्यही बगेको पानीसँगै तल्ला गरामा उफ्रिएँ । पानीका छाँगासँगै उफ्रिन खुब रमाइलो हुन्थ्यो । कुलाको पानी भत्काएर अर्कातिर लगाएर सँगसँगै कुद्दा साह्रै रमाइलो हुन्थ्यो ।
असार सकियो । साउँने सङ्क्रान्तिका दिन भव्य हाहाहोहो गरेर लुतो फालियो । भदौ लागेपछि तिज आयो । एक महिना बस्ने गरी माल्दिदी आइन् । उनले घरमा बसुन्जेल मेरो भाइ भनेर खुब माया गरिन् । उनले पनि पढ्नुपर्छ चाहिँ भन्न छाडिनन् । म बढी समय माल्दिदी, साँल्दिदी र कान्छीदिदीसँग भएँ । त्यस बेला त्यति पढ्नु परेन । उनीहरु स्वेटर बुन्न सिकाउँथेँ । म पनि बुन्न खोज्थेँ तर मेरो स्वेटर उनीहरुको जस्तो राम्रो हुँदैन थियो ।
दशैँ आयो । ढिकीमुनि पिङ लाग्यो । बाटो खन्ने, घर सफा गर्ने बेलामा मेरा खरी पाटी हराए । हजुरबाले घरमा गुरुबालाई बोलाए । घरमा चण्डी पढ्न थालियो । बाले नातिलाई चण्डी पढाउन भनेर सँगै राखे । उनले सिकाए ः
ओम नमः चण्डिकायै
मार्कण्डेउवाच ।
बाले मार्कन्डेउवाच भन्दा मलाई खुब हाँस उठेको थियो । अक्षरै नचिनी ती शलोक पढाइएका थिए । घोकाइएका थिए । मेरो पढाई कुहिराको काग भएको थियो ।
हिउँदको कुनै दिन हाम्रा घरमा सरादको दिन थियो । गुरुबा घोडा लिएर आए । ठुल्दिदी, बाहुन्दिदी, ठुलाबाहुनदाजु, सानाबाहुनदाजु, बाहुनीबहिनी सबै आए । उनीहरुसँग खुब खेलियो । खेलेर थाकेपछि मैले पढ्न जान्दछु भनेर देखाउन पहिलो किताब निकालेँ । त्यस बेला मेरो किताब समाएर ठुला बाहुनदाजुले भने – तँ के के पढ्न सक्छस् ?
मैले त्यसमा भएका क ख पढेर सुनाएँ । अ आ पनि सुनाएँ । कराग्रे बसते लक्ष्मी पनि सुनाएँ । ओम नमःचण्डिकायै पनि सुनाएँ । उनले भने अब ए.वी सी.डी पनि पढ्नुपर्छ ।
मेरा जीवनमा नसुनेको नयाँ कुरा थियो त्यो ए वी सी डी ।
त्यसै बेला ठुल्दिदीले भनिन् आफ्ना भाइलाई चाहिँ कहिले पढाउँछस् । हेर् मावली भाइले सबै पढेछ ।
म ठुल्दिदीका कुरा सुनेर मख्ख परेँ । सबै पढेछ भनेर प्रशंसा गर्ने पहिलो मान्छे मेरी ठुल्दिदी थिइन् । साना बाहुनदाजु र म सँगसँगैका थियौँ । उनले भन्दा मैले पढेको रहेछु भन्ने थाहा पाएर मेरो नाक सानो मात्र भएन । मैले उनलाई गफ लगाएँ । उनी मेरा गफमा भुलिए ।
वास्तवमा म पढेँ भन्न जान्ने मात्र भएको थिएँ ।
पढ्न जान्ने भएकै थिइनँ ।