
लेखिरह्यो– मेटिइरह्योः डा. रमेश शुभेच्छु
माथ्ला घरका काइँलाकाका स्कुल जान्थे । कान्छाकाका पनि स्कुल जान्थे । तल्लाघरका ठुलाकाका स्कुल जान्थे । माइलाकाका पनि स्कुल जान्थे । माथ्ला घरका दिदीहरु पनि स्कुल जान्थे । साँल्दिदी, काँल्दिदी, कान्छीदिदी सबै स्कुल जान्थे ।
हाम्रा काका थिए तर स्कुल जाँदैन थिए । हाम्रा साँल्दिदी, कान्छीदिदी थिए तर स्कुल जाँदैन थिए । हाम्रामा स्कुल जाने कोही थिएन । सबै जना खेतबारीमा काम गर्थे । तल्ला घरकी ठुल्दिदी, माल्दिदी पनि स्कुल जाँदैन थिए । घाँस काट्थे । बारी खन्थे । उखु खेती गर्थे । माथ्लारा साहिँलाकाका चाहिँ स्कुल जाँदैन थिए । माहिलाबडी पनि स्कुल जाँदैन थिए । उनीहरु पनि घरै बसेर काम गर्थे ।
घरबाट आफूभन्दा ठुला मानिस स्कुल नजानु नै म स्कुल जान ढिला हुनुको कारण । त्यसमा म असाध्यै दुब्लो पातलो हुनु अर्को कारण । अरुको भर परेर पठाउन नसक्नु त्यस बेलाको सामाजिक परिवेश । स्कुल जान सक्ने बालक लड्न भिड्न पनि सक्ने हुनुपर्ने । बिहान आठ बजे खाएर साँझ चार बजेसम्म भोक खप्ने हुनुपर्ने । खाजा बोकेर जाने चलन थिएन । खाजा बोक्ने कुरा घरमा पनि थिएन । मकै भुटेर बोकेर लगे पनि उदण्ड केटाहरुले बाटैमा खोसेर खाइदिने । नखाए खोसेर घरछार पारिदिने । अनि स्कुल पठाउनु पनि कसरी ?
म अलि अलि अक्षर चिन्दै पनि थिएँ, हुर्कँदै पनि थिएँ । घरमा सकेको जानेको काम सघाउँदै पनि थिएँ । कति काम त जान्ने भइसकेको । हात जोगाएर घाँस काट्न थालेको । घाँस काटेर खुकुलै भए पनि मुठो बाँध्न जानेको । बाख्रा चराउन जानेको । घाँसको भारी बाँध्न नजाने पनि डोकामा घाँस बोक्न थालेको । घरबारी र घरसम्म एक्लै हिँड्न थालेको । घरबाट एक्लै पखेरो कटेर घरबारीको खलेगरासम्म जान सक्ने भएको । गोदामसम्म पुग्न सक्ने भएको ।
मलाई पढ्न गाह्रो भए पनि अरु काम सिक्न गाह्रो थिएन । त्यस बेला अभिभावकसँग सिकेका काम थुप्रै थिए । मल बोक्न नसके पनि थ्रुप्रोबाट बारीमा छर्न सक्थेँ । एक्लै ढिकी कुट्न नसके पनि अरुलाई सघाउन सक्थेँ । आमालाई जाँतो घुमाउन सघाउन सक्थेँ । मकैको घान हालिदिन सक्थेँ । ढिकीमा धानको घान हालिदिन सक्थेँ । एक्लै नभए पनि आमासँगै पँधेरा जान सक्थेँ । टाढाको धाराबाट घ्याल्चे लोटामा पानी ल्याउन सक्थेँ । सानो हतरमा पनि पानी बोकेर ल्याउन सक्थेँ ।
आमाले धुने लुगा कुनै खोल वा तन्दामा पोको पारेर कुम्लो बनाउँथिन् । ती लुगा बोकेर अँगेरी धारासमम पुर्याउन सक्थे । धोएको लुगा पर लगेर सुकाउन सक्थेँ । सुकेको लुगा उठाउन सक्थेँ भाइबहिनाका कोक्रा हल्लाउन सक्थेँ । याक्सामा हजुरबा, आमैसँग बसेर लहै लहै भनेर बाँदर नआओस् भनेर मकै रुङ्न सक्थेँ । हजुरबालाई देउता पुज्न फूल टिपिदिन सक्थेँ । पारिजातका फुल टिपेर बाबियाका त्यान्द्रामा उनेर माला बनाउन सक्थेँ । सियोले उन्न खोज्दा हात घोचेर हैरान पाथ्र्यो । आफू सियो चलाउन डराए पनि आमैलाई धागो उन्न सघाउन सकथेँ ।
म अरु पनि काम गर्न सक्थेँ । घरबाट याक्सासम्म कुकुर डोर्याएर जान । कुकुरलाई खाने कुरा दिन । बाख्रालाई खोले दिन । थाङ्ग्रामा फलेका स्कुस झार्न, सिँबी टिप्न, आलु खन्दा भेला पार्न । उखुलाई ठिँडी पारेर काट्न । मलाई लाग्थ्यो म अब ठुलो भएँ ।
सानै छस् भनेर स्कुल नपठाएको मान्छे । आफूलाई ठुलो भएँ लाग्ने । ठुलो भएँ लाग्नुका कारण थिए । खोलेको भाँडो एकातिर बोक्ने । तेल पेल्दा कोलमाथि ढुङ्गा उचालेर राख्ने । तेल झरिसकेपछि झिक्न सघाउनेँ । कागती पेल्दा कोलको बियामा झुन्डिएर भए पनि पेल्ने । हारका दाउरा भान्सामा पुर्याउने । गाईवस्तु र बाख्रालाई घाँस हालिदिने । यसो गर्ने मान्छे ठुलो हो भन्ने लाग्ने । म ठुलो भएँ लाग्ने ।
मलाई सबै काम रमाइलै लाग्थ्यो । तीमध्ये बाख्राका पाठा समाएर थुन्न र तिनलाई बिहान माउसँग भेट्टाएर दुध खुवाउन खुब रमाइलो लाग्थ्यो । बाख्रो व्याएपछि एक दुई हप्ता म ती पाठासँग रमाउँथेँ । तिनलाई बोक्न र डोकाले छोप्न सक्थेँ । गाई वा भैँसी बिहाउने बित्तिकै पाडो वा बाछो घरभित्रै भर्याङमुनि बाँध्ने चलन थियो । तिनलाई एक हप्ताको हुन्जे सम्म बाहरु भित्रबाटै बोकेर लैजान्थे र ल्याउँथे । त्यसो नगरे स्यालले खान्छ भन्थे । मलाई बाछापाडा घरभित्र ल्याएको देख्दा रमाइलो लाग्थ्यो । म पनि बाहरुसँगै तिनलाई बोक्न खोज्थेँ तर सक्तिैनथिएँ । मेरा प्यारा बस्तु पाठा, बाछा र पाडा थिए । बाछापाडा घरभित्र आउँदा खुसी लाग्नुमा बिगौतीको स्वाद पनि हुन सक्छ ।
म बाख्राका पाठको म्या म्या नक्कल गर्थेँ । गाईका बाछाको हम्मा पनि राम्ररी नककल गथेँ । भैँसीका पाडाको म्वाइँ पनि नक्कल गरेर कराउन सक्थेँ । मैले त्यसरी नक्कल गर्दा कहिलेकाहीँ त आमै साँच्चै पाठो कराएछ कि भन्दै हेर्न पुग्थिन् । पाठो नदेखेर ए बच्चु पो रहेछ भन्दै हाँसेर फर्किन्थिन् । आफ्ना वरिपरि जे छ त्यही सिकिने त रहेछ । त्यही जानिने त रहेछ । आफ्नै परिवेशमा रमाइने त रहेछ ।
मैले सघाउन सक्ने काम अरु पनि थिए । उखु पेल्ने कोल घुमाउन सघाउन सक्थेँ । हजुरबाले जनै बनाउँदा धागो समाएर सघाउन सक्थेँ । दाम्लो बाट्ता पोया मस्काउने बेला दाम्लाको डोरी एकापटि समाइदिन्थेँ । बाबियो फिँजाएर पोया लगाउँदा अलि अलि खटाएर दिन सक्थेँ । कहिलेकाहीँ गाईभैँसीले दाम्लो छिनाउने बित्तिकै बाटेर बाँध्नुपर्ने हुन्थ्यो । त्यस बेला बालाई बाबियो दिएर पोया बनाउन सघाउनु पथ्र्यो । हजुरआमाले गजेरा बुन्दै गर्दा परालको मुठो र्याइदिन सक्थेँ । मेरो पूर्वस्कुलमा यी सीप थिए । मेरो पूर्वस्कुलका यी कला थिए । मेरो क्षमता अभिवृद्धि हुँदै थियो । पारिवारिक गुरुहरु उद्देश्य प्राप्ति गर्दै थिए । उदेश्य प्राप्तिसँगै मेरो जनशक्तिको उपयोग पनि गर्दै थिए ।
मलाई क ख र अ आबाहेकका यतिका कुराको ज्ञान थियो । यी कुरा सबैले सिकाए । यी सिकाइका लागि शिक्षक चाहिएको थिएन । सबै अभिभावकबाट सिकिएका थिए । पढ्न जान्ने कुरा गाह्रो थियो । घरबाट टाढाको थियो । पढ्न जान सक्ने भयो भन्ने कुरा उठेकै थिएन । गाउँका काका दिदीहरु स्कुल त जान्थे तर मेरो परिवेशबाट स्कुल टाढा थियो । त्यस परिवेशमा हुर्कनेले स्कुल नजिकबाट देख्दैन थियो । मलाई कति हो कति डाढा लाग्थ्यो, गाउँबाट आजको काठमाडौँ जस्तै । काठमाडौँबाट समुद्रपार जस्तै । आमाहरुका लागि लङ्काको सुन जस्तै । नजिकैको भनिने स्कुल पनि धेरै टाढा । त्यहाँ पुग्न घरबाट ढेढ घण्टा लाठे हिँडाइ हिँड्नु पर्ने । यो भूगोलको समस्या मेरो घरसँग निकै चर्को थियो । मेरो जीवनमा पनि चर्को भयो ।
मेरा लागि स्कुलजीवन आरम्भ गर्नु अर्को जीवनमा प्रवेश गर्नु थियो । त्यति सजिलो थिएन । अलिअलि सजिलो पनि थिएन । र त बाहरुले स्कुल नपठाइ घरमै राखेर पढाएका । सबैले घरायसी शिक्षा दिएका । घरायसी काममा तालिम दिएका । आज्ञाकारी हुन सिकाएका । हाम्रो घर गाउँको पुछारमा । त्यो पनि कोल्टो ठाउँमा । ठाडो नाक ठोकिने उकालो हिँडेर मात्र अर्को गाउँमा पुगिने । सात चोटि थकाइ मारेर मात्र बजार पुगिने । विकट र कठोर बाटो काटेर मात्र स्कुल पुगिने ।
बाटो भन्नु मात्र बाटो । त्यही बाटामा खेतीका लागि पानीको कुलो कुद्थ्यो । त्यही बाटामा खेतीका ढुङ्गा पन्साएर फालिन्थ्यो । साँधुरा बाटामा वस्तु र मान्छे मिलेर हिँड्नु पथ्र्यो । खेतका आली आली भएर बाटो जान्थ्यो । लडिनु पछारिनु स्वाभाविक हुन्थ्यो । लडे उठेर कुद्न सक्नु पथ्र्यो । मूल बाटालाई गल्ली भन्थे । साखा बाटा सबै गोरेटा । पर्खाल लगाएर बारी वा खेत बिराएका ठाउँमा निकै अफ्ठयारा सिँढी हुन्थे । त्यहाँ सिँढी होइन खुट्किला मात्र हुन्थे । तिनमा खुट्टा पुर्याउन सक्नु पथ्र्यो । हिँड्न मात्र जानेर नहुने । । कुद्न पनि सक्नुपर्ने । उफ्रिन पनि सक्नुपर्ने ।
नजिकैको भनिने ओराङफुङ स्कुल टाढा भइगयो । अर्को निलगिरी स्कुल थियो । त्यो झन् टाढा । दुई घण्टाको बाटो हिँड्दा पनि नपुगिने । अढाइ घण्टा हिँड्नुपर्ने । सम्झँदा पनि कहाँ हो कहाँ ? झन् टाढा । बाटामा खोला, जङ्गल । लड्ने डर, थकाइ लाग्ने डर, सर्पको डर परै जाओस् । बाघको पनि डर । ठाउँको नामै भालुखोप भालुको पनि डर । तर भालुले मान्छे मारेको चाहिँ सुनिएन । भालुले लखेट्ता ओह्रालो भाग्नु चाहिँ भन्थे । सानो बालकलाई एक्लै पठाउन अभिभाकलाई पनि सजिलो थिएन । त्यस बेला अन्तिम बिकल्पका रुपमा अभिभावकहरुले घरमा पढाएका थिए ।
बाहरुले अक्षर लेख्न सिकाउँदै गए । म पनि अभ्यास गर्दै गएँ मलाई सबै भन्दा सजिलो अक्षर पाटी प लाग्यो । बाले हलो तास्ता तास्तै एउटा पातलो काठको चोइटामा प आकारको आकृति बनाइदिए । त्यो मेरालागि प ब्लक थियो । प जानेपछि छोरी बोके फ लेख्न झन् सजिलो भयो । त्यही ‘प’ मा खुटी झारो झ को खुट्टो हालेपछि फ भइगयो । त्यो खुट्टो कपुरी क लेख्दा पनि काम लागेको थियो । त्यस दिन म ज्यादै खुसी भएँ । मलाई बाले छोरीबोके फ भन्दा खुब हाँसो उठेको थियो । किताबमा आमाले छोरी कोकेको जस्तो चित्र थियो । बाले भने तेरी आमाले तेरी बहिनीलाई बोकेको जस्तो फ, तेरी हजुरआमाले तेरी कान्छी दिदीलाई बोकेको जस्तो फ, राम्ररी हेर् त भन्दै देखाए । मलाई पनि हो जस्तो लाग्यो ।
बाटुलो ब मेरो अर्को प्यारो अक्षर थियो । बाटुलो ब लेख्ने बेला पिताजीले धुलौटामा क लेख्न लगाए । मैले ब पो भनेँ । पिताजीले फेरि भने क लेख् न । मैले क लेखेँ । लेखेको कको खुट्टो मेट्न लगाए । मैले खुट्टो मेटेँ । खुट्टा मेटेको क मा धर्को तान्न लगाए । मैले एउटा धर्को तानेँ । उनले ब भयो भने र स्याबासी दिए । म मख्ख परेँ । ब एकै तालमा लेखियो ।
एकै तालमा अक्षर लेखिनु ठुलो कुरा थियो । लेख्दा लेख्दै पिताजीलाई सोध्दा पनि नसोधी कुदेर गएर माताजीलाई भनेँ – मैले पाटी प पनि जानेँ, छोरीबोके फ पनि जानेँ । बाटुलो ब पनि जानेँ । माताजी खुसी भइन् । त्यस बेला उनका आँखा चम्किला बनेका थिए । उनले पनि केही पाए जिते जस्तो गरेकी थिइन् ।
म माताजीको मुहार हेरेर उत्साही भएँ । मेरा हातमा खरी थियो । मतानका भित्तामा रातो माटोले पोतेका ठाउँमा लेखिदिएँ , पाटी प, छोरी बोके फ र बाटुलो ब । त्यस बेला माताजी बहिनीको कपाल कोर्दै थिइन् । उनले मैले लेख्दै गरेको थहा पाइनछन् । उनले कपाल कोर्दा बहिनी चाहिँ मतिरै फर्किएकी थिई । उसले भनी हेर दाइले के गर्यो । माताजीका आँखा भित्तामा परे । भित्तो कोरेको देख्ने बित्तिकै माताजी कराइहालिन् । लौ न नि भित्तामा कोरेछ । अब पिताजीले मार्छन् । अस्ति पनि त्यसै गर्यो । आज पनि त्यसै गर्यो । परबाट पिताजी कराए फेरि के बिगार गर्यो बच्चेले ?
माताजीले मेरो बिगार लुकाइन् । यहाँ बहिनीको बाटिसकेको कपाल बिगार्यो । जान्ने भएर कोर्छु भन्यो र बिगार्यो नि । फेरि बहिनीलाई दुखायो पनि । आफूलाई धन्दा गर्न जान ढिलो भइसक्यो । मलाई माताजीले बचाइदिइन् । कुटाइ नखाइने कुरामा ढुक्क भयो । उता बहिनी कराई –दाइले कपाल बिगारेको होइन पिताजी, भित्तो को….। बहिनीले कोर्यो भन्न नपाई माताजीले उसको मुख थुनिदिइन् । उसले को …मात्र भन्न भ्याई । मलाई लाग्यो, धन्न त्यो कुरा पिताजीले सुनेन् ।
माताजीले उल्टै बहिनीलाई गाली गरिन्, पोल लाउँछेस् । अहिले दाजुले कुटाइ खान्छ । कुटाइ खायो भने पछि तिजमा लिन आउँदैन अनि । बहिनी चुप्प लागी । उसले ठुला कुरा गरी भने तँलाई तिज वा तिहारमा लिन आउँदिन भने पुगिहाल्थ्यो । त्यति भने ऊ रोकइकराइ गरेर मलाई खुसी बनाउँथी र भन्थी दाजु मलाई लिन आइज है ।
माताजीले बाट्ता बाट्तैको कपाल छोडिन् । उठेर एउटा टालाले मैले लेखेका अक्षर पुछपाछ पारिन् । अक्षर पुछिएनन् । बहिनीको कपाल कोर्ने काठको काइँयाको डाँठले कोरकार पारिन् । त्यसो गर्दा सबै त मेटिएनन् तर मेरा अक्षर मधुरा बनाइन् । प्रत्यक्ष नदेखिने बनाइदिइन् । मलाई पाटी प, छोरीबोके फ र बाटुलो ब लेख्न जानेकामा पनि त्यति सुखी लागेन । आफूले जानेको कुरा सबैले देख्ने ठाउँमा लेख्न नपाए के जानेको भयो । जानेको गरेको काम त देखाउनु पो पर्छ ।
म जानेको कुरा भित्तामा लेख्न खोज्ने । अरुले भित्तामा लेख्नुहुँदैन भनिरहने । यो जुहारी लामो समयसम्म चल्यो । लेखिरह्यो – मेटिइरह्यो । मेरा अक्षर अरुले देख्ने गरी अभिलेख हुनै पाएनन् ।