
एनआरएनए अमेरिकाको अध्यक्षमा सतेन्द्र साह निर्वाचित, सबैप्रति आभार प्रकट
मकै हाउस मिडिया, अक्कल तामाङ
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिका (NCC-USA) को 2025/2027 कार्यकालका लागि सतेन्द्र शाह अध्यक्षमा निर्वाचित भएका छन्।
निर्वाचनमा बहुमत प्राप्त गर्दै नेतृत्वको जिम्मेवारी सम्हाल्न लागेका शाहले आफ्ना समर्थक, मतदाता सदस्य तथा सम्पूर्ण एनआरएनए अभियन्ताहरुप्रति आभार प्रकट गरेका छन्।

“मलाई आफ्नो अमूल्य मत प्रदान गरी नेतृत्वमार्फत सेवा गर्ने अवसर दिनुभएकोमा सबै मतदाताहरुप्रति हृदयदेखि धन्यवाद व्यक्त गर्दछु। मेरो उम्मेदवारी सार्वजनिक गरेदेखि अहिलेसम्म अनवरत सहयोग, सद्भाव र विश्वास देखाउनुहुने सबैप्रति म कृतज्ञ छु,” शाहले भन्नु भयो ।
शाहले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका भानु खरेल, रामहरी अधिकारी र रामजी आचार्यप्रति विशेष सम्मान प्रकट गर्दै, “हामी सबै एनआरएनए अभियानमा सहयात्री रहनेछौं भन्ने दृढ विश्वास लिएको छु। उहाँहरुका राम्रा योजनाहरुलाई कार्यान्वयनमा ल्याउन मेरो विशेष भूमिका रहनेछ,” भनेका छन ।

“मत परिणामले पदमा पुगेकाहरुलाई मात्र होइन, पदमा नपुगेकाहरुलाई पनि अभियानमा समेटेर लैजानेछु,” शाहले भने। “हार वा जितभन्दा माथि अभियान हो भन्ने विश्वाससहित मैले काम गर्नेछु” ।
हालैका वर्षहरुमा एनआरएनए संस्थामाथि नै प्रश्न उठिरहेको र विश्वासको कमी बढिरहेको सन्दर्भलाई स्मरण गर्दै शाहले संस्थाको आवश्यकता अझै रहेको स्पष्ट सन्देश दिएका छन्।
“चुनावी अभियानमा गरेका प्रतिवद्धताहरु कार्यान्वयन गर्दै आम मतदाताले वास्तविक परिणाम देख्नेछन्। यदि मैले बाटो बिराएँ भने मलाई मार्गनिर्देशन गर्न तपाईँहरुको अग्रसरताको अपेक्षा राख्छु,” उनले भने ।
शाहले निर्वाचन समितिलगायत डा. अर्जुन बञ्जाडेको नेतृत्वमा कार्यरत वर्तमान कार्यसमिति, पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, एनआरएनए अभियन्ता, पत्रकार तथा सम्पूर्ण संलग्न सदस्यहरुमा विशेष धन्यवाद व्यक्त गरेका छन ।
साथै शाहसँगै विभिन्न पदमा निर्वाचित भएका पदाधिकारीहरुलाई पनि उनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्।