Banner

नेपाली अमेरिकी समुदायमा बढ्दो घरेलु हिंसा र आत्महत्या: कारण र समुदायको भूमिका के हुन सक्छ ?

 

मकै हाउस मिडिया, शंकर भण्डारी – न्युयोर्क
फेयरफ्याक्स, भर्जिनिया – यही फाल्गुन १२ (फेब्रुअरी २३) २०८२ मा भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा भएको एक अत्यन्त दुखद घटनाले सम्पूर्ण नेपाली अमेरिकी समुदायलाई स्तब्ध र चिन्तित तुल्याएको छ ।

५० वर्षीय छत्रबहादुर थापाले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमती बृन्दा थापा र छोरी ममता थापाको हत्या गरेका थिए भने ज्वाइँ शन्तोष बस्नेत गम्भीर घाइते भएका छन् । सो घटनामा १ वर्षीय नाबालक भने भाग्यवश बाँच्न सफल भए । प्रहरीले पटक पटक आत्मसमर्पण गर्न दिएको आदेश अस्वीकार गरेपछि अभियुक्त छत्रबहादुर प्रहरीको गोलीबाट मारिए ।

यो र यस्ता घटना  नेपाली अमेरिकी समुदायका लागि पहिलो र नयां भने होइन । गत वर्ष टेक्सासको डलासमा ५३ वर्षीय ललित प्रधानले आफ्नी श्रीमती रन्जना श्रेष्ठ र ३ वर्षीय छोरालाई गोली हानी हत्या गरेर आफूले पनि आत्महत्या गरेका थिए । केही वर्षअघि भर्जिनियामै नरेश भट्टले श्रीमती ममता काफ्लेको हत्या गरी लुकाउने प्रयास गरेका थिए । त्यस्तै, अर्जुनप्रसाद मैनाली (नर्थ क्यारोलिना), कृष्ण लामिछाने र हरिबोल भण्डारी (टेक्सास) लगायत दर्जनौं व्यक्तिहरूले आत्महत्या गरेका दुख:द घटनाहरू सुन्दै देख्दै र भोग्दै आएका छौं ।

यस्ता घटना कुनै एक समुदायको मात्र समस्या होइन, समग्र मानव समाज कै साझा समस्या हो।
घरेलु हिंसा र आत्महत्या कुनै निश्चित जाति, धर्म, क्षेत्र वा समुदायमा मात्र सीमित हुँदैनन् । यी र यस्ता दुखद घटनाहरू मानव समाजमा कहिँ न कतै घटि रहेका हुन्छन् । तर पछिल्ला वर्षहरूमा अमेरिकामा बस्ने नेपाली समुदायमा यस्ता घटनाहरू दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । यसले समुदायलाई चिन्तित मात्र तुल्याएको छैन, हामी सबैलाई सोच्न बाध्य पनि बनाएको छ । किन बढ्दै छन् यी र यस्ता घटनाहरू ? र, अब के गर्न सकिन्छ ?

घटनाहरू बढ्नुका मुख्य कारणहरू
१. मानसिक स्वास्थ्यको चरम बेवास्ता : कामको बढी चाप, आर्थिक अभाब, अज्ञानता, एक्लोपन र डिप्रेसनका बाबजुद धेरैले मानसिक स्वास्थ्य समस्या स्वीकार गर्न,उपचार खोज्न र भन्न डराउँछन् ।
२. पितृसत्तात्मक सोच : महिला र पुरुषबीचको असमानता, निर्णयमा पुरुषको एकल अधिकार जस्ता पुराना मानसिकताहरू हाम्रो समाजमा अझै कायम छन् ।
३. आर्थिक दबाब र एक्लोपन : महँगी, कामको तनाव, परिवारबाट टाढा बस्नुपर्ने बाध्यता र सामाजिक सम्पर्कको अभावले तनाव बढाउँछ ।
४. कानुनी तथा कागजी जटिलता : भिसा, नागरिकता, सम्पत्ति बिभाजन र छुट्टा छुट्टै बस्ने प्रक्रियाका जटिलताहरूले झगडालाई थप विकराल बनाउन सक्छ ।
५. ‘घरको कुरा घरभित्रै’ भन्ने मानसिकता : हिंसा वा समस्या बाहिर ल्याउन लाज मान्ने, छिमेकी वा समुदायलाई नभन्ने संस्कार र मानसिकता हाम्रो समाजमा अझै प्रबल देखिन्छ ।
६. मादक पदार्थको दुरुपयोग : रक्सी, लागूपदार्थ र अन्य खराब बानीले स्थिति थप बिगार्न सद्दत गर्दछ।
समुदायको भूमिका र रोकथामका उपायहरू
यो व्यक्तिगत वा पारिवारिक समस्या मात्र नभइ, समुदायकै साझा समस्या हो । यसलाई समाधान गर्न समुदाय र संबन्धित सरकारी निकाय तथा दूतावासहरूको सक्रिय भूमिका अत्यावश्यक छ ।
• जागरण र शिक्षा कार्यक्रम : नेपाली समुदायका संघ–संस्था, दूतावास र स्थानीय क्लबहरूले नियमित रूपमा मानसिक स्वास्थ्य, घरेलु हिंसा र आत्महत्या रोकथाम सम्बन्धी कार्यशाला, सेमिनार र बहस सञ्चालन गर्नुपर्छ ।
• तत्काल हस्तक्षेप : यदि कुनै परिवारमा हिंसा, डिप्रेसन वा आत्महत्या गर्ने संकेत देखिएमा ‘घरको कुरा घरमै’ भन्ने मानसिकता त्यागेर नजिकका मानिसहरूले तुरुन्तै समुदायका अगुवा, प्रहरी वा काउन्सेलरलाई खबर गर्नुपर्छ ।
• सहयोग संयन्त्र : प्रत्येक समुदाय र सहरमा ‘नेपाली हेल्पलाइन’ वा ‘मानसिक स्वास्थ्य सहायता समूह’ बनाएर निशुल्क सेवा दिन सकिन्छ ।
• परिवार र समुदायबीच खुला संवाद : युवा, महिला र वृद्ध सबैलाई समेट्ने गरी नियमित भेटघाट, चिनजान र छलफल मूलक सामाजिक सांस्कृतिक कार्यक्रमहरू संचालन गर्नु पर्छ ।
• सरकारी सहयोग : अमेरिकी स्थानीय सरकारसँग समन्वय गरी निःशुल्क काउन्सेलिङ र कानुनी सहायता उपलब्ध गराउन समुदाय र दूतावासले पहल गर्न सक्छ ।

निष्कर्ष
छत्रबहादुर थापाको यो घटनालाइ नेपाली समुदायले एउटा चेतावनीको रूपमा लिन जरूरी छ । यदि हामीले अहिले नै मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएनौं, समुदायले हस्तक्षेप गर्न सिकेनौं र पुराना सोचहरूलाई परिवर्तन गरेनौं भने यस्ता दुखद घटनाहरू अरू थप बढ्नेछन्।
यस घटनाबाट पाठ सिकेर समयमै समुदायका अगुवा, संघ–संस्था, दूतावास र हरेक नेपालीले मिलेर काम गर्न सकेमा धेरैको जीवन बचाउन सकिन्छ । “घरको कुरा घरभित्रै” भन्ने मनोभाबलाई परिबर्तन गरी यस्ता गम्भिर “समस्यालाइ समाज र समुदाय संग मिलेर समाधान गर्न सकेमा अबश्य पनि हामी एउटा सुरक्षित, सभ्य र सुसंस्कारयुक्त नेपाली समाजको बिकास र निर्माण गर्न सकिनेछ ।
(यदी यस बिषयमा यहांहरूको थप राय सुझाब र सल्लाहा भएमा कमेन्ट बक्समा )॥

 

Loading...