Banner

ममता हत्या प्रकरणमा महत्वपूर्ण फैसला :नरेश भट्ट तीनवटै अभियोगमा दोषी

मकै हाउस मिडिया, बिमल डॅागी

नोभेम्बर १०, २०२६ | भर्जिनिया, ममता काफ्ले भट्टको हत्या प्रकरणमा ज्यूरीले उनका पति नरेश भट्टलाई तीनवटै अभियोगमा दोषी ठहर गरेको छ। भर्जिनियाको प्रिन्स विलियम काउन्टीमा चलेको मुद्दामा लामो सुनुवाइ, साक्षीका बयान र प्रमाणहरूको परीक्षणपछि यो फैसला आएको हो।

नरेशलाई प्रथम श्रेणीको हत्या, मृत शरीर लुकाउने तथा प्रमाणसँग छेडछाड गर्ने र मृत शरीरमाथि अनुचित व्यवहार गर्ने अभियोगमा दोषी ठहर गरिएको छ।

शव नभेटिए पनि प्रमाणका आधारमा दोषी ठहर

यस मुद्दाको प्रमुख पक्ष ममताको शव हालसम्म फेला नपर्नु हो। अभियोजन पक्षले वैज्ञानिक तथा परिस्थितिजन्य प्रमाण र साक्षीहरूको बयानलाई आधार बनाएर हत्या भएको दाबी प्रस्तुत गरेको थियो।

सुनुवाइका क्रममा नरेशले ममताको मृत्यु आत्महत्याबाट भएको दाबी गरेका थिए। उनले शव टुक्र्याएर विभिन्न स्थानमा फालेको स्वीकार गरे पनि हत्या गरेको आरोप अस्वीकार गरेका थिए। बचाउ पक्षले अभियोजनले उचित शंकाभन्दा पर अपराध प्रमाणित गर्न नसकेको तर्क राखेको थियो।

ज्यूरीले भने प्रस्तुत प्रमाण र बहसको मूल्याङ्कनपछि तीनवटै अभियोगमा उनलाई दोषी ठहर गरेको हो। 7News का अनुसार अभियोजन पक्षले मुद्दामा करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण तथा प्रदर्शनी सामग्री प्रस्तुत गरेको थियो।

अन्तिम दिनको सुनुवाइमा के भयो?

मुद्दाको १९औँ दिन विषविज्ञान विशेषज्ञ डा. अबिगेल केर्न्सले एल्युमिनियम फस्फाइडको प्रभावबारे बयान दिइन्। नरेशका पूर्वरुममेट आकाश रच्छले पनि सन् २०२१ मा भएको भनिएको धम्कीसम्बन्धी घटनाबारे अदालतलाई जानकारी दिए।

साक्षी र प्रमाण प्रस्तुत गर्ने प्रक्रिया सकिएपछि दुवै पक्षले अन्तिम बहस गरेका थिए। त्यसपछि विचारविमर्शमा बसेको ज्यूरीले सोही दिन साँझ दोषी ठहर गर्ने निर्णय सुनाएको हो।

सजायको निर्णय मार्चमा

दोषी ठहर भए पनि नरेशको अन्तिम सजाय निर्धारण हुन बाँकी छ। Court TV का अनुसार सजाय निर्धारणसम्बन्धी सुनुवाइ मार्च १२, २०२७ का लागि तय गरिएको छ। त्यसबेलासम्म उनी हिरासतमै रहनेछन्।

प्रथम श्रेणीको हत्या अभियोगमा उनलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने भए पनि वास्तविक सजाय अदालतले आगामी सुनुवाइमा निर्धारण गर्नेछ।

ममताको सम्झना र समाजको जिम्मेवारी

यो फैसलाले ममताका लागि न्यायको माग गर्दै आएका परिवार र समुदायका लागि महत्वपूर्ण अर्थ राख्छ। तर कुनै पनि अदालती निर्णयले परिवारले गुमाएको प्रियजन वा छोरीले गुमाएको आमाको अभाव पूरा गर्न सक्दैन।

यस घटनाले घरेलु हिंसा, धम्की र असुरक्षाका संकेतलाई समयमै गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता फेरि सम्झाएको छ। पीडितको आवाज सुन्नु, सहयोग गर्नु र आवश्यक निकायसम्म पुग्न साथ दिनु हामी सबैको जिम्मेवारी हो।

 

 

 

Loading...