Banner

मगर संघ अमेरिकाको आठौं बार्षिक साधारण सभाको तयारी पूरा

 

 

मकै हाउस टिभी एण्ड न्युज,दिप सागर बुढा मगर, 

न्युयोर्क । मगर संघ अमेरिका केन्द्रीय समितिको ऐतिहासिक आठौं बार्षिक साधारण सभा यहि शनिवार अगस्ट ६, २०२२ का दिन टेक्सास राज्यको डल्लास शहरमा हुने भएको छ ।

 

मगरहरुको बाहुल्यता रहेको अमेरिकाको १२ राज्यका मगरहरुको जमघट टेक्सासको डल्लासमा हुने र सभाको सम्पुर्ण तयारी पूरा भएको पनि मगर संघ अमेरिका केन्द्रिय समितिका अध्यक्ष कुलदिप राना मगरले जानकारी गराएका छन् ।

मगर संघ अमेरिका केन्द्रीय समितिको आयोजना र मगर संघ अमेरिका, टेक्सास च्याप्टरको संयोजनमा सभा हुन लागेको हो ।

प्राय: न्युयोर्क , न्युजर्सी र मेरिल्याण्ड आसपासमा मगर संघ अमेरिकाले अधिबेशन र साधारण सभा गर्दै आएको थियो । यस्पाली भने पनि टेक्सास राज्यमा पाइला टेक्दै संयुक्त राज्य अमेरीका भर “मगर संघ अमेरिका” फैलिएको र अमेरिका भरी छरिएर रहेका मगरहरुको एकताको सन्देश पनि दिन खोजिएको बताएका छन् ।

“अमेरिकाको मुलप्रबाहमा मगरहरुको उपस्थिति र सहभागिता – उदाउँदो मगर पुस्ता माझ मगर भाषा, संस्कार र संस्कृति हस्तान्तरण आजको आवश्यकता ” भन्ने मुल नाराका साथ मगर संघ अमेरिकाको आठौं बार्षिक साधारण सभा सम्पन्न हुने भएको छ । बिगत एक दशक देखि मगर समुदाय माझ चर्चाको बिषय बनेको “MAGAR EMERGENCY FUND” लाई मुर्तरुप दिएर साधारण सभामा लन्च गरिने भएको छ । यसबाट भैपरी आईपर्ने आपत बिपत्तिको बेला मगर समुदाय लाभान्वित हुनेछन ।

यसैगरी मगर विद्यार्थीहरुलाई हौसला र प्रोत्साहन , संस्था प्रति बिद्यार्थीको आकर्षण बढाउने हेतुले पहिलो पटक तीन तहका उत्कृष्ट मगर बिद्यार्थीहरुलाई Magar Student Scholarship प्रदान गर्न लागिएको र हरेक बर्ष निरन्तरता रहने जनाइएको छ ।

नेपाल आदिवासी जनजाती अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मान बहादुर राना मगरको प्रमुख आतिथ्य र City of Euless टेक्सास राज्यका काउन्सिल मेम्बर टीका पौडेलको विशेष आतिथ्यतामा कार्यक्रमको समुदघाटन हुने जानकारी दिएका छन । म मगर र मेरो मगर संघ भनी संस्था प्रती सदैव उत्तरदायी रहेर काम गरिरहेका विभिन्न बिधामा पोख्त मगर बुद्धिजीवीहरुलाई टेक्सासको सुन्दर शहर डल्लासमा स्वागत गर्न पाउनु भनेको टेक्सास च्याप्टरको लागि गर्बको कुरा भएको मगर संघ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष भुवन सिंह आले मगरले बताए ।

समुदघाटन समारोह , बन्द सत्र र सांस्कृतिक कार्यक्रम गरी तीन चरणको कार्यक्रमको रुपरेखा मगर संघ अमेरिका केन्द्रीय समितिका महासचिव दिप सागर बुढा मगरले सार्बजनिक गरेका छन् ।

 

 

Loading...