
नेवा: नख: न्यूयोर्कको दशौँ सामूहिक ईही कार्यक्रम सम्पन्न
मकै हाउस मिडिया,
न्यूयोर्क — नेवा: नख: न्यूयोर्कको आयोजनामा नेपाल सम्वत् ११४६, गुंलागा: नवमी अर्थात् शनिबार, सेप्टेम्बर ५, २०२६ का दिन दशौँ सामूहिक ईही कार्यक्रम न्यूयोर्कको ज्याक्सन हाइट्सस्थित युनाइटेड शेर्पा एसोसिएसनको भवनमा आयोजना गरिएको थियो।
नेवा: गुभाजु समन्त श्री बज्राचार्यले नेवा: परम्परा र विधिअनुसार ईही पूजा सम्पन्न गराउनुभएको थियो। पूजामा गुरूमा पुष्पा बज्राचार्य तथा नेवा: नख:का पूर्व अध्यक्ष, सल्लाहकार एवं कार्यक्रम संयोजक महेन्द्र वीर बज्राचार्य र पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु मान प्रधानले जजमान (मुख्य कर्ता) का रूपमा सहयोग गर्नुभएको थियो।

यस बर्षको सामूहिक ईही कार्यक्रममा दुई बालिका टिसा प्रधानाङ्ग र माईरा श्रेष्ठ सहभागी भएका थिए।
संस्थाका महासचिव सलोनी वन्त श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्दै सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्रुति अमात्यले गर्नु भएको थियो भने द्वितीय उपाध्यक्ष राधिका कुमारी श्रेष्ठले सहभागी तथा अतिथिहरूलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो। प्रथम उपाध्यक्ष तुलसी नारायण चित्रकारले सहभागीहरूको परिचय गराउँदै ईही संस्कारको महत्वबारे प्रकाश पार्नुभएको थियो। निवर्तमान अध्यक्ष तथा सल्लाहकार डा. नरेश मान शाक्यले नेवा: नख: न्यूयोर्कको स्थापना, उद्देश्य तथा संस्थाका गतिविधिबारे जानकारी दिनुभएको थियो।

कार्यक्रमको अवसरमा अध्यक्ष श्रुति अमात्य र प्रथम उपाध्यक्ष तुलसी नारायण चित्रकारले ईहीमा सहभागी बालिकाहरूलाई सहभागिता प्रमाणपत्र वितरण गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो।
कार्यक्रमको अतिथि स्वागत तथा दर्ता कोषाध्यक्ष मेनी श्रेष्ठ छोचूँ र सदस्य नम्रता प्रधानले गर्नुभएको थियो। सह-कोषाध्यक्ष तथा थाय्-भू संयोजक उजिला प्रधान, कार्यसमिति सदस्यहरू मोहिनी कर्माचार्य र अनिता बज्राचार्य तथा सदस्यहरू शोभाना शाक्य, लक्ष्मी शोभा चित्रकार, कमला प्रधान, कान्तेश्वरी डंगोल, रोशनी चित्रकार र कल्याणी श्रेष्ठले ईही पूजाका सामग्री तयारी गर्नुका साथै बालिकाहरूलाई मूलढोकाबाट लस:कुस: गरी ईही गर्ने स्थलमा भित्र्याउनुभएको थियो। उहाँहरूले उपहार तथा सगुनसहित सहभागी बालिकाहरूका लागि थाय्-भू पनि तयार गर्नुभएको थियो।

त्यसैगरी, संस्थाका सदस्यहरू दिपक कुमार प्रधान, जीवेन्द्र भक्त प्रधानाङ्ग तथा स्वयंसेवकहरू अभिषेक छोचूँ, मुनिन्द्र बज्राचार्य, साईमन शाक्य, विष्लेक्स मान प्रधान, उज्जन प्रधान, सिद्धार्थ बज्राचार्य र रोहन चित्रकारले अतिथिहरूको सत्कार तथा नेवा: समयबजीको व्यवस्थापनमा सहयोग गर्नुभएको थियो। जस राईले कार्यक्रमको फोटोग्राफी गरी सहयोग गर्नुभएको थियो।
कार्यक्रमको समापनमा अध्यक्ष श्रुति अमात्यले उपस्थित बालबालिका, अभिभावक, गुभाजु, गुरूमा, अतिथि, संस्थाका सम्पूर्ण सदस्य, सल्लाहकार तथा सहयोगी एवं स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। उहाँले ईहीमा सहभागी बालिकाहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। अध्यक्ष अमात्यले अमेरिकामा रहेर पनि नेवा: समुदायको महत्वपूर्ण संस्कारलाई संस्थागत रूपमा निरन्तरता दिन पाउनु गौरवको विषय भएको बताउँदै अमेरिकामा जन्मे–हुर्केका नयाँ पुस्तालाई नेवा: भाषा, संस्कृति, संस्कार र परम्पराबारे सिकाउँदै यसको संरक्षण र पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।

नेवा: नख: न्यूयोर्क नेवा: भाषा, संस्कार, परम्परा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०११ मा न्यूयोर्कमा स्थापना भएको नेवा: संस्था हो। संस्थाले स्थापनाकालदेखि नै नेवा: समुदायको भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका साथै समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

