
नेपाली फुटबलका स्टार विमल घर्ती मगरले लिए सन्यास, भावुक सन्देशमार्फत यात्राको अन्त्य
मकै हाउस मिडिया,
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व फरवार्ड विमल घर्ती मगरले फुटबल करियरबाट सन्यासको घोषणा गरेका छन्। उनले शनिबार सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै आफ्नो फुटबल यात्रा टुंग्याएको बताएका हुन्।
बुटवलबाट सुरु भएको उनको फुटबल यात्रा काठमाडौं हुँदै नेपाली राष्ट्रिय टोलीसम्म पुगेको थियो। देशका लागि खेल्दा आफूले मनदेखि खेलेको र आफ्नो सम्पूर्ण समय तथा समर्पण फुटबलमै दिएको उनले उल्लेख गरेका छन्।

फुटबल यात्राका क्रममा माया, साथ र समर्थन दिने सम्पूर्ण समर्थक तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्दै विमलले सन्यासको निर्णय लिँदा आफू निकै भावुक भएको बताएका छन्।
एन्फा एकेडेमीबाट फुटबल करियर अघि बढाएका विमलले १४ वर्षको उमेरमै सन् २०१२ मा नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। राष्ट्रिय टोलीका लागि नौ गोल गरेका उनी नेपाली फुटबलका चर्चित युवा फरवार्डमध्ये एक हुन्।

३ सेप्टेम्बर २०१३ साफ च्याम्पियनसिपमा पाकिस्तानले अग्रता लिइरहेको अवस्थामा विमलले इन्जुरी समयमा (९०+२) गोल गर्दै नेपाललाई हारबाट जोगाएका थिए। यो गोलले उनलाई नेपाली फुटबलको सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीका रूपमा चर्चित बनाएका थिए ।
उनको सन्याससँगै नेपाली फुटबलमा लामो समय योगदान दिएका एक परिचित खेलाडीको खेलाडी जीवनले औपचारिक विश्राम लिएको छ।

