
लङ्ग आईल्यान्डमा LINSNY को दशैं विशेष कार्यक्रम सम्पन्न, सामुदायिक योगदानकर्ताहरू सम्मानित
मकै हाउस मिडिया, पुरुषोत्तम सापकोटा
न्युयोर्क। लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क (LINSNY) द्वारा आयोजित विजया दशमी विशेष सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम २०२६ सम्पन्न भएको छ। नेपाली तथा गैरनेपाली समुदायको सहभागिता रहेको कार्यक्रममा सांस्कृतिक प्रस्तुति, शुभकामना आदानप्रदान तथा सामुदायिक सेवामा योगदान पुर्याएका व्यक्तित्वहरूको सम्मान गरिएको थियो।
संस्थाकी अध्यक्ष सावित्रा सिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव विशाल रेग्मीले गरेका थिए। गुरु पीपलमणि सिग्देलले वैदिक स्वस्ति मन्त्र उच्चारण तथा मङ्गलकामनासहित कार्यक्रमको शुभारम्भ गरेका थिए।

कार्यक्रममा टाउन अफ ओइस्टर बेकी काउन्सिलवुमन माननीय Vicki Walls तथा साउथ एसियन एडभाइजरी बोर्डका अध्यक्ष एवं टाउन सुपरभाइजरका प्रतिनिधि Harry Malhotra को उपस्थिति थियो। अतिथिहरूले नेपाली समुदायप्रति सम्मान व्यक्त गर्दै विजया दशमीको शुभकामना दिएका थिए।
त्यसैगरी, हामी नेपाली ग्लोबलका अध्यक्ष नवराज केसी, आशामाई मन्दिरका पूर्वअध्यक्ष Sena P. Lund तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका उपाध्यक्ष दिवाकर पाण्डेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।

आयोजकका अनुसार, समाजसेवी दिवाकर पाण्डेको दीर्घकालीन सामुदायिक योगदानको कदर गर्दै टाउन अफ ओइस्टर बेले अक्टोबर १९, २०२६ लाई आधिकारिक रूपमा “Diwakar Pande Day” घोषणा गरेको छ। कार्यक्रममा उक्त सम्मानलाई नेपाली समुदायका लागि गौरवपूर्ण उपलब्धिका रूपमा उल्लेख गरिएको थियो।

यसै अवसरमा सामुदायिक सेवा तथा सामाजिक योगदानको कदरस्वरूप डा. यमराज गिरी, पुरुषोत्तम सापकोटा, प्रभाकर पाण्डे, नीलिमा प्रधान, पुष्पराज रेग्मी, दीपक अधिकारी तथा पार्वती थापा गिरीलाई टाउन अफ ओइस्टर बेको प्रशंसापत्र (Citation) प्रदान गरिएको थियो।
कार्यक्रममा नृत्य, गीत–सङ्गीत, कविता वाचन, मन्त्रपाठ तथा विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए। विशेषगरी बालबालिकाको सहभागिताले नेपाली भाषा, कला र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयासलाई थप प्रोत्साहन दिएको आयोजकले जनाएको छ।

समारोहमा LINSNY का पूर्वअध्यक्षहरू, पूर्वकार्यसमितिका पदाधिकारीहरू, संरक्षकहरू, सल्लाहकारहरू, वर्तमान कार्यसमितिका सदस्यहरू तथा लङ्ग आईल्यान्डवासी नेपाली समुदायको उपस्थिति थियो। कार्यक्रमको अन्त्यमा संयोजक मिलन क्षेत्री तथा नीलिमा प्रधानले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमका लागि आशामाई मन्दिरले निःशुल्क स्थान उपलब्ध गराउनुका साथै भोजनको व्यवस्था गरेको आयोजकले जनाएको छ। संस्थाले मन्दिर परिवार, कलाकार, अभिभावक, स्वयंसेवक, सहयोगदाता, प्रायोजक तथा व्यवस्थापनमा खटिएका सबैप्रति आभार व्यक्त गरेको छ।
विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक सम्पदासँग जोड्नु तथा समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको LINSNY ले जनाएको छ ।

