Banner

म्यासाचुसेट्सको केप कडमा “दशै शुभकामना साँझ २०८३” भब्यताका साथ सम्पन्न ।

मकै हाउस मिडिया, 

केप कड । केप कड नेपाली समाजको आयोजनामा यहि अक्टूबर १७ तारीख, शनिवारका दिन समाजका अध्यक्ष बिष्णु मान प्रधानको सभापतित्वमा स्थानिय Margaritaville Resort Cape Cod को हलमा दशै शुभकामना साँझ, २०२६ भब्यताका साथ सम्पन्न भयो।

समाजका महासचिव सरस्वती खनाल र सचिव हर्कुलस कन्दंग्वा द्वारा संयुक्त रूपमा संचालित उक्त कार्यक्रममा नेपाल महावाणिज्यदुताबास न्यूयोर्क बाट महाबाणिज्यदुत दधिराम भण्डारीको प्रमुख अतिथिको रूपमा सहभागि हुनुभएको थियो भने केप कडका स्थानिय निकायका प्रतिनिधि (Mr Seth Burdick, Councilor from Barnstable Town Council, Mr Dan Gessen, candidate, Barnstable county Commissioner & Mrs. Jena Cullum, former councilor of Barnstable town council) हरू, भोटेकोशी समाज, अमेरिकाका अध्यक्ष, अकबर तामागं पनि अतिथि को रूपमा सहभागी हुनुभएकोले कार्यक्रम थप प्रभावकारी भएको थियो।

कार्यक्रमको औपचारिक शुरुआत स- साना नानी बाबुहरूद्वारा नेपाल र अमेरीकाको राष्ट्रीय गान गाएर गरिएको थियो भने समाजका बरिष्ठ उपाध्यक्ष कृष्ण तिमल्सिनाले कार्यक्रममा उपस्थित आमन्त्रित पाहुनाहरू, कलाकार हरू साथै समुदायका सम्पूर्ण सदस्यहरूलाई न्यानो स्वागत गर्दै विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभयो।

प्रमुख अतिथि दधिराम भण्डारीले विजया दशमीको शुभकामना दिनुको साथै नेपाली आप्रवासी हरूले अमेरीका बसाईको क्रममा भोग्दै आएका समस्याहरू, चुनौतीहरू साथै अवसरहरूको बारेमा पनि संक्षेपमा चर्चा गर्दै सबैले आफू बस्ने तथा काम गर्ने देशको नियम कानुनको पूर्ण रूपमा पालना गर्दै ईमानदार र अनुशासित भएर अगाडि बढेमा विभिन्न समस्या वा चुनौतीहरूलाई न्यूनीकरण गर्न मदत पुग्ने कुरामा जोड़ दिनुभएको थियो। यसैगरि वहांले नेपालमा गत भदौ १० गते भएको भोटेकोशीको बाडीबाट प्रभावितहरूको लागि केप कड नेपाली समाजको अगुवाईमा संकलित राहत कोष नेपालको प्रधानमंत्री राहत कोषमा हस्तान्तरण गरिसकेको उल्लेख गर्दा सम्पूर्ण सहयोगी दाताहरू लगायत केप कड नेपाली समाजलाई नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन समेत गर्नुभयो।

यसैगरि वाणिज्यदुत प्रेम बहादुर बुढ्थापाले पनि विजया दशैको शुभकामना दिनुको साथै कुनै पनि नेपाली आप्रवासीहरूको समस्या वा अन्य आवश्यकताको लागि महावाणिज्यदुताबासको सहयोगमा कमी आउन नंदिने प्रतिबद्धता समेत जनाउनुभयो।

त्यसैगरि, स्थानिय काउन्टी तथा टाउनबाट आउनुभएका अतिथिहरूले पनि केप कड़को समग्र विकासको लागि यहाँ बसोबास गर्ने नेपाली समुदायको सहभागिता अपरिहार्य भएको बिचार ब्यक्त गर्दै नेपालीहरूको महान चाड विजया दशैको शुभकामना ब्यक्त गर्नुभयो।

भोटेकोशी समाज, अमेरिकाका अध्यक्ष अकबर तामागंले पनि विजया दशैको शुभकामना ब्यक्त गर्दै आमन्त्रण गरेकोमा आयोजकहरूप्रति धन्यवाद तथा आभार ब्यक्त गर्नुभयो।
केपकड नेपाली समाजका निवर्तमान अध्यक्ष तथा सल्लाहकार केबी राईले पनि प्रमुख अतिथि, अन्य आमंत्रित पाहुनाहरू साथै कार्यक्रममा उपस्थित समुदायका सम्पूर्ण सदस्यहरूलाई विजया दशमीको शुभकामना ब्यक्त गर्दै यस्ता मौलिक चाडपर्वहरूले हाम्रो सामाजिक एकता बलियो बनाउंदै लैजाने विश्वास ब्यक्त गर्नुभयो।

औपचारिक कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष बिष्णुमान प्रधानले प्रमुख अतिथि लगाएत सम्पूर्ण आमन्त्रित पाहुनाहरू साथै समुदायका सबैलाई दशै शुभकामना सांझमा उपस्थिति भइदिनुभएकोमा केप कड नेपाली समाजको तर्फबाट धन्यवाद तथा आभार ब्यक्त गर्दै सबैलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना समेत ब्यक्त गर्नुभएको थियो।

समाजका सह सचिव साथै दशैं विशेष सांस्कृतिक कार्यक्रम संयोजक खगेन्द्र राई तथा ज्योति बुढाथोकी लिवागंले संयुक्त रूपमा संचालन गर्नुभएको कार्यक्रममा स्थानिय कलाकार स-साना नानी बाबुहरू लगाएत दिदीबहिनीहरूले प्रस्तुत गर्नुभएको एकल तथा सामुहिक नृत्यहरूको प्रस्तुतिले कार्यक्रममा थप रौनकता भरेको थियो।

यसैगरि कार्यक्रममा केप कड नेपाली समुदायबाट यसवर्ष मास्टर डिग्री ग्रेजुएट हुनुभएका भाईबहिनीहरूलाई प्रोत्साहनको लागि समाजको तर्फबाट प्रमाण पत्र प्रदान समेत गरिएको थियो। यसरी प्रमाण पत्र पाउनेहरूमा इंसान खड्का र श्रद्धा तामागं हुनुहुन्छ।

 

उक्त कार्यक्रममा केप कड नेपाली समाजको अगुवाईमा नेपालका भोटेकोशीको बाढीबाट प्रभावितहरूको लागि संकलित राहत कोष नेपाल सरकारको प्रधानमंत्री राहत कोषमा पठाईसकेको र सो को डमी चेक नेपाल सरकारको प्रतिनिधि महावाणिज्यदुतावासबाट न्यू योर्कबाट आमंत्रित प्रमुख अतिथि, महावाणिज्यदुत श्री दधिराम भण्डारी ज्यूलाई हस्तान्तरण गरिएको थियो।त्यसैगरि, महावाणिज्यदुत भण्डारीले केप कड नेपाली समाजको अगुवाईमा सम्पन्न राहत संकलन र हस्तान्तरण कार्यलाई उच्च सम्मान गर्दै नेपाल सरकारको तर्फबाट केप कड नेपाली समाजलाई प्रसंशापत्र समेत प्रदान गर्नुभयो।
कार्यक्रमको अन्तिम सत्रमा नेपालका चर्चित कलाकार विजय लामा तथा वहांको टिमले गरेको सांस्कृतिक नाचगान र डिजेको प्रस्तुतिले दशै शुभकामना साँझलाई भरपूर मनोरंजन प्रदान गरेको थियो।

कार्यक्रम अन्त्यमा, समाजका वरिष्ठ उपाध्यक्ष तथा यस कार्यक्रम आयोजक समितिका मुख्य संयोजक कृष्ण तिमल्सिनाले सम्पूर्ण आमन्त्रित साथै स्थानिय कलाकारहरूलाई वहाँहरूको प्रस्तुतिको लागि धन्यवाद ज्ञापन गर्नुभयो । 

 

 

Loading...