
सीप तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्न जया र जेनिसबीच समझदारी
भदौ ७, काठमाडौँ । आधुनिक र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले जया मल्टिपल क्याम्पस र जेनिस क्लाउड एकेडेमीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा जया मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख भवानीप्रसाद पौडेल र जेनिस क्लाउड एकेडेमीका कार्यक्रम व्यवस्थापक नीलमणि न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।

समझदारीअनुसार जेनिस क्लाउड एकेडेमीले जया मल्टिपल क्याम्पसका विद्यार्थीहरूका लागि अमेजनले डिजाइन गरेका विषयवस्तु अध्यापन गराउनेछ । साथै उक्त विषयवस्तु अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नसीप र रोजगारीको व्यवस्थापनको समेत सहजीकरण गर्नेछ । अमेजनले तयार गरेको यस विषयवस्तु पूर्णरूपमा अनलाइनबाट अध्यापन गराइनेछ । अमेजनले १०० अमेरिकी डलर बराबरको अभ्यास प्याकेज सुविधा उपलब्ध गराउनेछ । यसको माध्यमबाट विद्यार्थीले क्लाउडसँग सम्बन्धित सम्पूर्ण विषय अध्ययन गर्न सक्नेछन् ।

जया मल्टिपल क्याम्पसमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीका लागि अतिरिक्त सीप र शिक्षा प्रदान गर्ने उद्देश्यले यो समझदारी गरिएको क्याम्पस प्रमुख पौडेलले बताउनुभयो । अमेजनले तयार गरेको यो विषयवस्तु अध्ययन गरिसकेपछि विद्यार्थीलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको सम्पर्क एवं आवद्धता विस्तार र रोजगारीका लागि सहयोग पुग्ने उल्लेख गर्नुभयो । ‘जया मल्टिपल क्याम्पसले सुलभरूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने क्रममा जेनिस क्लाउड एकेडेमीबीच समझदारी गरेको छ,’ उहाँले भन्नुभयो, ‘यस क्याम्पसमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय सम्पर्क र पहुँच विस्तारमा हामीले पहल सुरु गरेका छौँ ।’ क्याम्पस प्रमुख पौडेलले क्याम्पसको स्थापनाकालदेखि नै काठमाडौँकै पूर्वीउत्तरमा संस्थागत रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थी र अभिभावकको रोजगाई बन्न सफल भएको बताउनुभयो ।

त्यस्तै प्याब्सनका केन्द्रिय महासचिव कुमार घिमिरेले नयाँ प्रविधिको प्रयोगले मात्र जीवनको उपलब्धी हासिल गर्न सकिने बताउनुभएको छ । जेनिसले ल्याएको कार्यक्रम हरेक शैक्षिक संस्थाहरुका लागि उर्पुक्त हासिल गर्न सक्ने बताउँदै विद्यार्थी र सिंगो देशलाई नै कोशे ढुंगा सावित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्याब्सन काठमाडौँका अध्यक्ष अवको शिक्षालाई विज्ञान र प्रविधिमैत्री बनाउन सरकारोवालाहरुले ध्यान दिनुपर्ने बताउनुभयो । जया मल्टिपल क्याम्पस स्थापनाकालदेखि नै विद्यार्थीहरुको सार्वङ्गीन वृद्धि विकासका साथै प्रायोगात्मक रुपमा अग्रणी रहेको उल्लेख गर्दै पुनः जेनिस क्लाउड एकेडेमीसंग सम्झौता गरी सीपयुक्त शिक्षा प्रदान गर्न लागिएकोमा खुशी व्यक्त गर्नुभयो ।
एडब्लुएस के १२ कोर्स माध्यामिक तहका विद्यार्थीका लागि र एडब्लुएस सर्टिफिकेसन कोर्स स्नातक तहका विद्यार्थीका लागि उपलब्ध गराइनेछ । कार्यक्रममा जेनिस क्लाउड एकेडेमीका कार्यक्रम व्यवस्थापक न्यौपानेले भविष्यमा अष्ट्रेलिया, अमेरिका लगायतका विकसित देशका विश्वविद्यालय र कलेजसँग यस कलेजका विद्यार्थीलाई सहज पहुँच स्थापित गर्न समझदारी महत्वपूर्ण कोशेढुङ्गा सावित हुने बताउनुभयो ।