
टिम च्याम्पियन देउराली डोजो

फागुन १५, काठमाडौँ । आयोजक देउराली डोजो दोस्रो देउराली कप भीमचन्द ठकुरी स्मृति खुला कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । शनिबार देउरालीले १० स्वर्ण, ५ रजत र ६ कांस्य पदक जित्दै टिम च्याम्पियनको उपाधि जितेको हो ।
रेफ्री संयोजक राजेन्द्र कपालीका अनुसार नगदेशले ३ स्वर्ण, १ रजत र ४ कांस्य जित्दै दोस्रो स्थान हात पार्यो । च्याम्पियन डोजोले २ स्वर्ण, ३ रजत र ३ कांस्यसहित तेस्रो स्थान हात पार्यो । बानेश्वरस्थित इपीएस स्कुलमा भएको एकदिने प्रतियोगिताको पुरुषमा नगदेशका निखिल कार्की र महिलामा देउरालीकी कञ्चन नेपाली उत्कृष्ट खेलाडी भए । देउरालीकै नेली जोशी उदीयमान खेलाडी बनिन् ।

विजेतालाई अर्थमन्त्री जनार्दन शर्मा, प्रदेश सांसद्द्वय गणेशप्रसाद दुलाल र राजेन्द्र गुरुङ, नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसी, आयोजक देउरालीका अध्यक्ष राजेश जोशी, प्रतियोगिता संयोजक १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कुशल श्रेष्ठ, राखेप कर्मचारी संघका पूर्व उप–महासचिव कुमार बस्नेतलगायतले पुरस्कृत गरे । सो अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वसहित कान्तिपुर दैनिकका ध्रुव तुलाधर, राजधानी दैनिकका दिलबहादुर तामाङलाई सम्मान गरिएको थियो । प्रतियोगितामा २ सय खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।