
सुरक्षाको हिसाबले ‘टिकटक’ अमेरिकालाई बेच्नु पर्ने नभए प्रतिबन्ध लगाईने

मकैहाउस टिभी एण्ड न्युज,
एजेन्सी । चाईनाबाट संचालित नयॅा सामाजिक एपको रुपमा चर्चित एप ‘टिकटक’ अमेरिकालाई नबेचे सो एप अमेरिकामा प्रतिबन्ध लगाउने विधेयक अमेरिकन हाउस अफ रिप्रेजेन्टेटिभले पास गरेको छ।
द न्यूयोर्क टाइम्सका अनुसार यो विधेयक अब सिनेटमा जानेछ। र सिनेटले यो विधेयक पास गर्छ कि गर्दैन भन्ने यकिन नभएको समेत जनाएका छन् । सुरक्षाको हिसाबले निकै चुनौती रहेकोले सो एप अमेरिकालाई बेच्नु पर्ने भन्दै बुधबार अमेरिकी हाउसले यस्तो विधेयक पास गरेको हो।

दुबै सदन हाउस र सिनेटले पास गरेपछि यो विधेयक राष्ट्रपतिकहाँ जान्छ। राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो विधेयक कानुन बन्नेछ। राष्ट्रपति जो बाइडेनले कंग्रेस (दुबै सदन) ले यो विधेयक पास गरेमा आफूले हस्ताक्षर गर्ने बताएका छन्।
टिकटकमा अहिले १५ करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताहरू रहेको यस् एप चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको छ।
यो बाइटडान्स कम्पनी चीन सरकारको भएको र यसले अमेरिकी प्रयोगकर्ताहरूको व्यक्तिगत विवरणहरू संकलन गरिरहेको अमेरिकी हाउसका सदस्यहरूको भनाइ छ।
चीनले कुनै पनि बेला प्रयोगकर्ताहरूको थप विवरण माग्ने पनि उनीहरूको भनाइ छ। यसबाट अमेरिकालाई असुरक्षा हुने भन्दै उनीहरूले कि टिकटकको स्वामित्व बेच्नुपर्ने, नभए प्रतिबन्ध लगाउनुपर्ने भनाई राखेका छन् ।
