Banner

तामाङ सोसाइटी अफ अमेरिकाको समर बार्बेक्यु कार्यक्रम सम्पन्न ।

 

मकै हाउस मिडिया, अक्कल तामाङ

न्युयोर्क । तामाङ समुदायबीच आपसी सद्भाव, भेटघाट, र सास्कृतिक सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले तामाङ सोसाइटी अफ अमेरिकाले आयोजना गर्ने वार्षिक समर बार्बेक्यु (BBQ) कार्यक्रम यस वर्ष पनि भव्य र स्मरणीय रूपमा सम्पन्न भएको छ।

न्युयोर्कको खुल्ला रमणीय स्थलमा आयोजित उक्त कार्यक्रममा करिब ३००–४०० जनाको उल्लेखनीय उपस्थिति रहेको थियो। विभिन्न उमेर समूह, व्यवसाय, र संस्थागत पृष्ठभूमिका व्यक्तिहरूको सहभागिताले कार्यक्रमलाई विशेष र आकर्षक बनाएको थियो।

कार्यक्रमको व्यवस्थापन पक्ष अत्यन्त व्यवस्थित र अनुशासित रहेको थियो । यसमा मामा-भान्जा समूहको योगदान विशेष उल्लेखनीय रह्यो। उनीहरूको सक्रिय भूमिका, जिम्मेवारीको बोध र अथक मेहेनतले कार्यक्रमको समग्र व्यवस्थापन र अतिथि स्वागत-सत्कारलाई थप सजीव बनाएको सहभागीहरूले प्रशंसा गरेका छन्।

कार्यक्रममा रमाइलोको रौनक थप्न परम्परागत विङ्गो खेल, बालबालिकालाई लक्षित खेलकुद, गीत-सङ्गीत, र खाना-पिउनाको विशेष व्यवस्था गरिएको थियो। मनोरञ्जनात्मक गतिविधिहरूले सबै पुस्तालाई उत्साहित र संलग्न गराएको देखियो।

तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्षहरु , NRNA (गैरआवासीय नेपाली संघ) का केन्द्रीय महासचिव बि आर लामा अनेरास्ववियुकी पूर्व केन्द्रीय अध्यक्ष आरती लामा, र अन्य सामाजिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति ले कार्यक्रमको गरिमा अझै बढाएको थियो।

कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव चाँदनी तामाङले आकर्षक ढंगले गर्नुभएको थियो। कार्यक्रमको समापन अध्यक्ष तुल बहादुर तामाङले धन्यवाद ज्ञापनसहित गर्नुभयो। उहाँले उपस्थित सबै सदस्य, स्वयंसेवक, सहयोगी संस्था र विशेषतः मामा-भान्जा समूहप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनुभयो।

यसरी, तामाङ सोसाइटी अफ अमेरिकाको समर BBQ कार्यक्रमले समुदायमा एकता, सहयोग, र सास्कृतिक चेतना फैलाउने सन्देश दिँदै स्मरणीय सफलता हासिल गरेको छ।

 

Loading...