
रिजउड नेपाली समाजद्वारा स्वस्थानी महोत्सव–२०२६को भव्य आयोजनाको तयारी तिव्र
मकै हाउस मिडिया, शंकर भण्डारी (लंगआईल्याण्ड, न्युयोर्क)
न्यूयोर्क, डिसेम्बर ३०, २०२५ – रिजउड नेपाली समाज (RNS), न्यूयोर्कले आफ्नो स्थापित दुर्गा मन्दिर तथा नेपाली सामुदायिक र सांस्कृतिक केन्द्रको निरन्तर विकासका लागि यस वर्ष पनि एक महिने स्वस्थानी महोत्सव–२०२६ को भव्य आयोजना गर्ने भएको छ। यो महोत्सव आउँदो जनवरी ३ तारिखबाट सुरु हुँदैछ र एक महिनासम्म विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूका साथ सम्पन्न हुनेछ।
रिजउड नेपाली समाजले न्यूयोर्क सहरमा आफ्नै भवन खरिद गरी दुर्गा मन्दिर तथा नेपाली सामुदायिक र सांस्कृतिक केन्द्र स्थापना गरेर विभिन्न सामाजिक, धार्मिक र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यो केन्द्र नेपाली अमेरिकी समुदायको साझा गौरवको प्रतीक बनेको छ। यस वर्षको स्वस्थानी महोत्सवलाई सभ्य र भव्य रूपमा सफल बनाउन समाजले मूल आयोजक समिति गठन गरेको छ, जसमा न्यूयोर्क र आसपासका क्षेत्रका नेपाली अमेरिकी समुदायका अग्रज समाजसेवी, बुद्धिजीवी, व्यवसायी, सहयोगी दाता तथा यहाँका सरकारी अधिकारीहरूलाई समेत समावेश गरिएको छ।
महोत्सवको उद्घाटन बाजागाजासहित कलश यात्रा गरी न्यूयोर्कका उच्च सरकारी अधिकारीबाट गरिने तयारी भइरहेको छ। यस महोत्सवको मुख्य उद्देश्य आर्थिक सङ्कलन रहेको छ। भवन खरिद गर्दा नपुग रकम व्यक्तिगत जमानतमा बैंक ऋण लिएको र मन्दिर तथा केन्द्रको थप निर्माण तथा परिमार्जनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन यो कार्यक्रम आयोजना गरिएको हो।
समाजले आर्थिक मितव्ययिता र पूर्ण पारदर्शितालाई प्राथमिकतामा राखेर आर्थिक समितिमार्फत यो कार्य गर्दै आएको छ। हाल समाजका अध्यक्ष राजेश भट्टको नेतृत्वमा यो महान् अभियान सञ्चालित छ। यो परियोजनालाई सुरुआतदेखि यहाँसम्म पुर्याउन योगदान गर्ने सबै अग्रज अभियन्ता, सहयोगी, दाता र सहभागीप्रति समाज कृतज्ञता व्यक्त गर्दछ।
यो हामी नेपाली समुदाय सबैको साझा गौरवको परियोजना हो। यसलाई थप हौसला र बल प्रदान गर्न सबैलाई कार्यक्रममा उपस्थित भई यो पवित्र कार्यको हिस्सेदार बन्न समाज हार्दिक अनुरोध गर्दछ। यस स्वस्थानी महोत्सवमा हामी सहभागी भएर धार्मिक आस्था, सांस्कृतिक एकता र सामुदायिक सहयोगको सन्देश फैलाऔँ।
थप जानकारीका लागि रिजउड नेपाली समाजसँग सम्पर्क गर्नुहोस्।
रिजउड नेपाली समाज (RNS), न्यूयोर्क
वेबसाइट: www.nepalesesociety.org
फेसबुक: Ridgewood Nepalese Society

