
केप कडमा ल्होसार साँझ – २०२६ सम्पन्न ।
मकै हाउस मिडिया,
केपकड । संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडमा रहेको नेपालीहरूको साझा संस्था “केप कड नेपाली समाज” ले सधैंझै विभिन्न नेपाली मौलिक चाडपर्वहरू मनाउने क्रममा यस वर्षको ल्होसार पर्व ( ल्होसार, नयांबर्ष-२१५३) समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा यही मार्च महिनाको २८ तारीख, शनिवारको दिन सेन्टरभिलस्थित Fraternal Lodge को सभाकक्षमा भब्यताका साथ सम्पन्न गरिएको थियो।

समाजका महासचिव, इच्छा खड्का र सचिव सरस्वती खनालद्वारा संयुक्त रूपमा संचालित उक्त कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष बिष्णुमान प्रधानले कार्यक्रममा उपस्थिति सबैलाई स्वागत गर्नुको साथै ल्होसारको हार्दिक मंगलमय शुभकामना पनि ब्यक्त गर्नुभएको थियो।

त्यसैगरि “लोसार साँझ”कार्यक्रमका संयोजक छेजी शेर्पाले लोसार पर्वको बारेमा प्रकास पार्दै यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने समाजका सबै पदाधिकारीहरू लगायत सम्पूर्ण अतिथिहरू साथै समुदायका सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरूलाई धन्यवाद दिदै सबैमा ल्होसार वर्ष २१५३ को शुभकामना पनि ब्यक्त गर्नुभएको थियो।

नेपाली संस्कृति झल्किने विभिन्न मौलिक भेषभुषामा सजिएका केप कडका स्थानीय कलाकारहरू साथै समाजका पदाधिकारीहरूले शेर्पा भाषाको स्वागत गान प्रस्तुत गरि “ल्होसार विशेष सांस्कृतिक कार्यक्रम” को शुरुआत गरिएको थियो।

कार्यक्रममा स्थानीय कलाकारहरूको विभिन्न समुहले सामूहिक रूपमा प्रस्तुत गरिएका नेपाली समुदायको विभिन्न मौलिक भेषभुषा, परम्परा र सांस्कृतिलाइ प्रतिबिम्बित गर्ने शेर्पा, गुरूंग, तामागं साथै नेपाली भाषाका नाच गानहरूको प्रस्तुतिले ल्होसार सांझको विशेष रौनकता बढाएको थियो। ल्होसार विशेष सांस्कृतिक कार्यक्रमलाई सफल पार्न विशेष भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण स्थानीय कलाकारहरू, के. ओंगछु शेर्पा, आश्ना शेर्पा, सुस्मा क्षेत्री-शेर्पा, छेजी शेर्पा-एन्ड्रू, झरना अन्डरउड, ओंग्जु शेर्पा, मिंग्मा लामु शेर्पा, निमा शेर्पा लाई समाजका अध्यक्ष केबी राईले खादा लगाएर सम्मान गर्नुभएको थियो।

स्थानीय दिदीबहिनी तथा दाजुभाईहरूले ल्होसार विशेष पुजा तथा अन्य सजावट सामाग्रीहरू ल्याई कार्यक्रम गर्ने सभाकक्षलाई सजाएर आकर्षक बनाएका थिय। त्यसैगरि पर्व विशेष परिकारहरूः खाप्से, ढेसे, नुन घ्यु हालेको चिया (Suchiya) र फलफुलहरूको पनि ब्यवस्था गरेका थिए।जस्ले कार्यक्रम स्थल लोसारमय बनेको थियो। समाजका उपाध्यक्ष कुवेर विन्दुकारको संयोजकत्वमा कार्यक्रमको लागि आवश्यक खानपिनको तयारी र ब्यवस्थापन कार्यक्रम स्थलमै गरिएको थियो।
त्यसैगरि कार्यक्रममा बोष्टन तथा न्यू हाम्पसाएर बाट पनि अतिथिहरूको उपस्थिती रहेको थियो। अतिथि दोर्जे शेर्पाले पनि नेपाली मौलिक गीतहरू गाएर कार्यक्रमलाई थप मनोरंजन प्रदान गर्नुभयो।
कार्यक्रमको समापन सत्रमा “ल्होसार साँझ” लाई सफल बनाउन नगद तथा जिन्सी सामाग्री उपलब्ध गराई सहयोग पुर्याउनुहुने सम्पूर्ण प्रायोजकहरूको नाम पढेर सुनाउनुको साथै सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो। यस कार्यक्रमका प्रायोजन समितिका संयोजक संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहाकार हरी राई हुनु हुन्थ्यो ।

कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष साथै यस कार्यक्रमको सभापति, केबी राईले उपस्थित सबैलाई ल्होसार नंयावर्ष २१५३ शुभकामना ब्यक्त गर्नुको साथै कार्यक्रमलाई सफल बनाउनको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो अमुल्य समय, श्रोत, श्रम साथै बिचारहरू प्रदान गर्नुहुने समाजका सम्पूर्ण पदाधिकारीहरू, स्थानीय कलाकारहरू, प्रायोजकहरू, खाना आपूर्ति तथा ब्यवस्थापन गर्ने तथा ल्होसार विशेष परिकारहरू बनाएर ल्याउने स्थानीय समुदायका दाजुभाई – दिदीबहिनीहरू, कार्यक्रमको लागि हल उपलब्ध गराउने टिम, म्यूजिक ब्यवस्थापनमा सहयोग गर्ने DJ टिम साथै केप कड भन्दा बाहिरबाट यस कार्यक्रममा आउनुभएका सम्पूर्ण अतिथिहरूलाई समाजको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

