Banner

चक्कु प्रहारबाट दाजुभाईको मृत्यु, आमा भेट्न लण्डन जाने सपना अधुरै

 

मकै हाउस मिडिया, 

काठमाण्डौ । ललितपुरको पाटन दरबार क्षेत्र मा बुधबार साँझ भएको चक्कु प्रहारको घटनामा दुई दाजुभाइको ज्यान गएको छ। मृत्यु हुनेमा ३३ वर्षीय सुमित नेम्वाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्वाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुर का अनुसार सामान्य विवादका कारण घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। फोन डायल गर्दा भएको सानो त्रुटिबाट सुरु भएको विवाद मिलाउन र माफी माग्न दाजुभाइ घटनास्थल पुगेका थिए। तर, त्यही क्रममा नजिकैको मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले अचानक सिर्जनमाथि चक्कु प्रहार गरेका थिए।

भाइमाथि आक्रमण भएपछि छुट्याउन गएका सुमितमाथि पनि आक्रमण हुँदा दुवै गम्भीर घाइते भएका थिए। घटनाको जानकारी पाएलगत्तै सातदोबाटो र पुल्चोकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तत्काल ग्वार्कोस्थित बीएन्डबी अस्पताल पुर्‍याएको थियो। तर उपचारका क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

घटनापछि फरार हुने प्रयास गरेका आरोपी सञ्जीव नेपालीलाई प्रहरीले नजिकैको एक रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्ने क्रममा उनले प्रहरीमाथि दुर्व्यवहार गर्ने प्रयाससमेत गरेको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार मृतक दाजुभाइ ललितपुरको इमाडोल क्षेत्रमा बसोबास गर्दै आएका थिए। उनीहरू आफ्नी आमालाई भेट्न लन्डन जाने तयारीमा रहेको अवस्थामा यो घटना भएको बताइएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

 

 

Loading...