
दुई प्रत्यासीसंग नेपाली समुदायको साक्षत्कार हुने
मकैहाउस सामुदायिक मिडिया । अक्कल तामाङ
न्युयोर्क । Ramos र Somnath Ghimire को संयुक्त उपस्थितिमा विशेष भेटघाट तथा फन्डरेजर कार्यक्रम आयोजना हुने भएको छ।
मे २२, २०२६ शुक्रबार साँझ ७ बजेदेखि ९ बजेसम्म एल्महर्स्ट, न्यूयोर्कस्थित New Life Senior Care Center मा आयोजना हुने उक्त कार्यक्रममा समुदायका विभिन्न मुद्दा तथा जनचासोका विषयमा प्रत्यक्ष छलफल गरिने आयोजकले जनाएको छ।
कार्यक्रममार्फत NYS Senate District-13 तथा Assembly District-30 अन्तर्गत बसोबास गर्ने समुदायका नागरिकहरूले आवास, सार्वजनिक सुरक्षा, यातायात, शिक्षा, स्वास्थ्य सेवा, आप्रवासन सेवा, भाषा पहुँच, साना व्यवसाय संरक्षण तथा बढ्दो जीवनयापन खर्चजस्ता दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयमा आफ्ना आवाज र सुझाव राख्न सक्नेछन्। समुदायको वास्तविक आवश्यकता सुनेर त्यसलाई नीतिगत प्राथमिकतामा रूपान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।
Jessica Ramos न्यूयोर्क राज्य सिनेटकी प्रभावशाली नेतृमध्ये एक हुन्। उनी विशेषगरी श्रमिक अधिकार, आप्रवासी समुदाय, महिला सशक्तिकरण, सार्वजनिक शिक्षा तथा आर्थिक समानताको पक्षमा सक्रिय आवाज उठाउँदै आएकी छन्। क्विन्स क्षेत्रका बहुसांस्कृतिक समुदायसँग नजिकबाट काम गर्दै आएकी Ramos ले स्थानीय जनताको समस्यालाई राज्यस्तरमा पुर्याउने नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छन्।

त्यस्तै Somnath Ghimire नेपाली समुदायबाट उदाएका युवा तथा सक्रिय सामाजिक व्यक्तित्व हुन्। उनी Assembly District-30 का उम्मेदवारका रूपमा समुदायको प्रतिनिधित्व गर्दै शिक्षा, साना व्यवसाय, आप्रवासी अधिकार, सार्वजनिक सेवा पहुँच तथा समुदायिक एकतालाई आफ्नो मुख्य एजेन्डा बनाइरहेका छन्। विशेषगरी नेपाली तथा दक्षिण एसियाली समुदायको आवाजलाई मूलधार राजनीतिमा स्थापित गर्न उनको सक्रियता उल्लेखनीय मानिन्छ।
समुदायका सदस्यहरूलाई कार्यक्रममा उपस्थित भई आफ्ना जिज्ञासा, सुझाव तथा अनुभव प्रत्यक्ष रूपमा राख्न आयोजकले हार्दिक निमन्त्रणा गरेका छन्। कार्यक्रममा सहभागिताले समुदाय र नीति निर्माणबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

