Banner

न्युयोर्क सिटीको ‘Best 100 Restaurants’ को सूचीमा नेपाली भान्छाघर

 

मकैहाउस सामुदायिक मिडिया, अक्कल तामाङ

न्युयोर्क । अमेरिकाको चर्चित पत्रिका The New York Times ले सार्वजनिक गरेको सन् २०२६ को “New York City’s 100 Best Restaurants” सूचीमा क्विन्स, ज्याक्सन हाइटस्थित नेपाली रेस्टुरेन्ट नेपाली भन्छा घर पर्न सफल भएको छ। यो उपलब्धिसँगै नेपाली परिकार र नेपाली समुदायले अन्तर्राष्ट्रिय स्तरमा थप ठूलो पहिचान बनाएको छ।

रेस्टुरेन्टकी सञ्चालिका बिमला हमाल श्रेष्ठको नेतृत्वमा सञ्चालन हुँदै आएको भान्छाघरले नेपाली मौलिक स्वाद, पारिवारिक आतिथ्यता र परम्परागत परिकारमार्फत न्युयोर्कको बहुसांस्कृतिक खाद्य बजारमा विशेष स्थान बनाएको मानिन्छ। विशेषगरी मःम, सेलरोटी, झोल मःम, थकाली परिकार लगायत नेपाली खानाको स्वादले नेपाली भन्दा विदेशी ग्राहकहरुको ध्यान केन्द्रित गरेको छ ।

भान्छा घर अहिले केवल नेपाली समुदाय मात्र नभई, सम्पूर्ण न्युयोर्कको बहुसांस्कृतिक खानाप्रेमीहरूको रोजाइ बन्दै गएको छ। न्यूयोर्क टाइम्सले आफ्नो सूची तयार गर्दा “imagination, ambience, service, technique, passion, commitment and sheer deliciousness” लगायतका पक्षलाई आधार बनाएको जनाएको छ।

ज्याक्सन हाइट्स क्षेत्र लामो समयदेखि दक्षिण एसियाली तथा नेपाली समुदायको केन्द्र मानिन्छ। यही क्षेत्रमा नेपाली स्वाद र संस्कृतिलाई विश्वसामु चिनाउने काममा भान्छाघर रेस्टुरेन्टले महत्वपूर्ण भूमिका खेलेको स्थानीय समुदायको भनाइ छ। नेपाली खानालाई अन्तर्राष्ट्रिय खाद्य मानचित्रमा स्थापित गराउन यो उपलब्धि ऐतिहासिक मानिएको छ।

सामाजिक सञ्जालमा समेत भन्साघर रेस्टुरेन्टको यो सफलताप्रति नेपाली समुदायले खुसी व्यक्त गरिरहेका छन्। धेरैले यसलाई “नेपाली समुदायको गौरव” भन्दै बधाई दिएका छन्।

यस सफलताले अमेरिकामा रहेका अन्य नेपाली व्यवसायीलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ। नेपाली स्वाद, मेहनत र संस्कृतिले विश्वस्तरमा सम्मान पाउन सक्छ भन्ने उदाहरणका रूपमा भन्साघर रेस्टुरेन्ट उभिएको छ।


Loading...