Banner

जेसिका रामोस र सोमनाथ घिमिरेको संयुक्त कोष संकलन कार्यक्रम सम्पन्न ।

 

मकै हाउस सामुदायिक मिडिया, 

अक्कल बहादुर तामांग

न्युयोर्क । जेसिका रामोस र सोमनाथ घिमिरेको समर्थनमा शुक्रबार एल्महर्स्टस्थित New Life Senior Care Center मा आयोजित विशेष कोष संकलन कार्यक्रम विशाल जनसहभागिताका बीच भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा साउथ एशियन लगायत विभिन्न एशियन समुदायका नागरिक, सामाजिक अभियन्ता, व्यवसायी तथा सामुदायिक नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी समुदायका अगुवाहरूले आप्रवासी समुदायको आवाजलाई बलियो बनाउन यसपटक Jessica Ramos र Somnath Ghimire लाई जिताउन “साम, दाम र पूर्ण शक्ति” लगाएर अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले विशेष गरी नेपाली, बङ्गाली, भारतीय, तिब्बती, पाकिस्तानी,  तथा अन्य एशियन समुदायलाई एकजुट भएर मतदान गर्न आह्वान गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै सेनटर Jessica Ramos ले आफू निर्वाचित भएपछि आप्रवासी, श्रमिक, निम्न आय भएका परिवार र साना व्यवसायीहरूको पक्षमा निरन्तर काम गरेको बताइन्। उनले विशेष गरी कोरोना महामारीको कठिन समयमा तत्काल १ बिलियन डलरभन्दा बढी राहत रकम जुटाएर प्रभावित जनताको सेवा तथा सहयोगमा समर्पित भएको दाबी गरिन्। उनले आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षा, श्रमिक अधिकार, सार्वजनिक सुरक्षा र आप्रवासी समुदायको संरक्षणमा महत्त्वपूर्ण काम गरेको उल्लेख गर्दै अबको कार्यकालमा अझ प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाइन्।

उनले भनिन्, “यो चुनाव केवल राजनीतिका लागि होइन, हाम्रो समुदायको भविष्यका लागि हो। मैले आप्रवासी परिवारको पीडा नजिकबाट देखेकी छु, त्यसैले म तपाईंहरूको आवाज बनेर अझ मजबुत रूपमा काम गर्नेछु।”

त्यसैगरी Assembly District 30 का उम्मेदवार Somnath Ghimire ले आफू निर्वाचित भएमा समुदायसँग गरेका सबै वाचा पूरा गर्ने दृढ प्रतिबद्धता व्यक्त गरे। उनले affordable housing, youth development, immigrant support services, small business assistance, शिक्षा र रोजगारीका क्षेत्रमा विशेष पहल गर्ने चुनावी एजेन्डा प्रस्तुत गरे।

सोमनाथले भने, “यो अभियान कुनै एक व्यक्तिको होइन, सम्पूर्ण समुदायको सपना हो। हामीले अब आफ्नो प्रतिनिधित्व आफैं निर्माण गर्नुपर्छ। तपाईंहरूको विश्वास र साथ पाएँ भने हरेक वाचा व्यवहारमा उतार्नेछु।”

कार्यक्रमभरि उपस्थित समुदायका सदस्यहरूले उत्साहपूर्ण समर्थन जनाउँदै अबको चुनावमा एशियन र आप्रवासी समुदाय निर्णायक शक्ति बन्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न कम्युनिटी लिडरहरूले “अब आफ्नो आवाज बलियो बनाउन मतदान अनिवार्य छ” भन्दै जनतालाई सक्रिय सहभागिताका लागि प्रेरित गरेका थिए।

 

एल्महर्स्टमा सम्पन्न उक्त कार्यक्रमले न्यूयोर्कको बहुसांस्कृतिक राजनीतिमा South Asian तथा Asian समुदायको प्रभाव अझ बलियो बन्दै गएको स्पष्ट संकेत दिएको सहभागीहरूको भनाइ थियो।

 

 

Loading...