
न्यूयोर्कमा नेवाः सभ्यताको गौरवमय नगर योजना विषयमा विशेष अन्तरक्रिया सम्पन्न
मकै हाउस सामुदायिक मिडिया, अक्कल तामाङ
न्यूयोर्क । न्यूयोर्कस्थित Newah Nakha New York को आयोजनामा नेवाः सभ्यताको ऐतिहासिक नगर योजना, संरचना र व्यवस्थापन विषयमा एक विशेष अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रख्यात शहरी योजनाविद् तथा अनुसन्धानकर्ता प्रोफेसर पद्म सुन्दर जोशी ले “Introducing Newah Town Planning: History, Structure and Management” विषयमा करिब ४५ मिनेट लामो प्रस्तुति दिनुभएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव तुलसी चित्रकार ले गर्नुभएको थियो भने संस्थाका अध्यक्ष डाक्टर नरेशमान शाक्यले वक्ता प्रोफेसर जोशीको परिचय प्रस्तुत गर्दै उहाँको शैक्षिक, सामाजिक तथा अनुसन्धानात्मक योगदानबारे प्रकाश पार्नुभएको थियो।

प्रोफेसर पद्म सुन्दर जोशी को हुन?
प्रोफेसर पद्म सुन्दर जोशी नेपालका चर्चित शहरी योजनाविद्, वास्तुकला तथा सांस्कृतिक सम्पदा संरक्षणका विज्ञका रूपमा परिचित हुनुहुन्छ। उहाँले काठमाडौं उपत्यकाको परम्परागत बस्ती विकास, सांस्कृतिक सम्पदा संरक्षण, सार्वजनिक स्थल व्यवस्थापन तथा दिगो शहरी विकास सम्बन्धी विषयमा लामो समयदेखि अध्ययन, अनुसन्धान र वकालत गर्दै आउनुभएको छ। विशेषगरी नेवाः सभ्यताले निर्माण गरेका ऐतिहासिक नगरहरूको संरचनागत विशेषता र त्यसको आधुनिक सहर व्यवस्थापनसँगको सम्बन्धबारे उहाँको गहिरो अध्ययन रहेको छ।

काठमाडौं उपत्यकाको प्राचीन नगर योजनाको अद्भुत इतिहास आफ्नो प्रस्तुतिमा प्रोफेसर जोशीले काठमाडौं उपत्यकाका प्राचीन नगरहरू कुनै संयोगवश बनेका नभई अत्यन्त वैज्ञानिक, सामाजिक, धार्मिक र वातावरणीय सोचका आधारमा निर्माण गरिएको बताउनु भयो।
उहाँले परम्परागत नेवाः बस्तीहरूमा रहेका :
चोक र बहालहरूको सम्रचना
सार्वजनिक पानी व्य्वस्थापन
मठ-मन्दिरको स्थान चयन
सामुदायिक जिवनशैली
पैदलमैत्री सडक सन्जाल
सांस्कृतिक केन्द्रहरूको योजना
सामाजिक व्यवस्थापन योजन प्रणाली जस्ता पक्षहरू आजको आधुनिक “स्मार्ट सिटी” अवधारणासँग समेत तुलना गर्न सकिने उल्लेख गर्नुभयो।
उहाँका अनुसार, “हाम्रा पुर्खाहरूले सयौं वर्षअघि नै मानव केन्द्रित, समुदाय केन्द्रित र वातावरणमैत्री सहरको अवधारणा व्यवहारमा उतारिसकेका थिए।”

कार्यक्रममा संस्थाका सदस्यहरूका साथै न्यूयोर्कमा रहेका विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले प्रस्तुति पश्चात् जिज्ञासा राख्दै नेवाः सभ्यताको ज्ञान, संस्कृति र नगर व्यवस्थापन सम्बन्धी महत्वपूर्ण विषयमा छलफल गरेका थिए।
काठमाडौं उपत्यकाका प्राचीन नगरहरू केवल इँटा र ढुंगाले बनेका संरचना होइनन्; ती समुदाय, संस्कृति, सहकार्य, वातावरणीय सन्तुलन र दिगो विकासका जीवित उदाहरण हो।
“आधुनिकताको दौडमा आफ्नो इतिहास, संस्कृति र पुर्खाहरूको ज्ञान प्रणालीलाई बिर्सनु हुँदैन।” भन्ने सन्देश दिन आयोजना गरेको यस कार्यक्रमले
आफ्नो इतिहास र पहिचानप्रति गर्व गराउन
नयाँ पुस्तालाई सांस्कृतिक शिक्षा दिन समुदायलाई एकताबद्ध गर्न
नेपालका मौलिक ज्ञान प्रणालीहरू विश्वसामु चिनाउन
नेपाली समाजको बौद्धिक विकासमा योगदान पुर्याउन सक्नेछ ।
विदेशमा बसेर पनि आफ्नो मौलिक पहिचान, इतिहास र सभ्यतासँग जोडिइरहनु नै विश्वव्यापी नेपाली समुदायको शक्ति हो। Newah Nakha New York ले आयोजना गरेको यो कार्यक्रम त्यस दिशामा एक महत्वपूर्ण र प्रेरणादायी प्रयासका रूपमा स्मरणीय रहने सहभागीहरूले बताएका छन्।

