Banner

एशियन अमेरिकन हेरिटेज मन्थ समारोह भव्य रूपमा सम्पन्न, नेपाली समुदायका टिकाराज ढकाल सम्मानित

 

मकै हाउस सामुदायिक मिडिया, 

हेम्पस्टेड, न्यूयोर्क । Town of Hempstead द्वारा आयोजित पाँचौं वार्षिक Asian American Heritage Month Celebration भव्य रूपमा सम्पन्न भएको छ। एशियाली मूलका समुदायहरूको इतिहास, संस्कृति, परम्परा तथा अमेरिकी समाजमा उनीहरूले पुर्‍याएको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपालसहित चीन, भारत, कोरिया, पाकिस्तान, फिलिपिन्स, टर्की, ताइवान लगायत विभिन्न देशका समुदायहरूको उत्साहजनक सहभागिता रहेको थियो।

हेम्पस्टेड टाउनको Dorothy L. Goosby Plaza मा आयोजित समारोह विभिन्न देशका राष्ट्रिय झण्डा, सांस्कृतिक झाँकी, परम्परागत भेषभूषा, संगीत तथा नृत्य प्रस्तुतिले आकर्षक बनेको थियो। सहभागीहरू आ–आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित भएका थिए। विभिन्न देशका परम्परागत परिकार, हस्तकला तथा सांस्कृतिक प्रदर्शनीले कार्यक्रमस्थललाई एशियाली सभ्यता र संस्कृतिको साझा केन्द्रका रूपमा रूपान्तरण गरेको थियो।

कार्यक्रमका प्रमुख वक्ता तथा हेम्पस्टेड टाउनका सुपरभाइजर John Ferretti ले हेम्पस्टेडलाई विश्वका विभिन्न संस्कृति, भाषा र परम्पराले सजिएको “सुन्दर फूलबारी” को संज्ञा दिँदै विविधताभित्रको एकताले अमेरिकाको शक्ति निर्माण गरेको बताए। उनले सबै समुदायलाई समान अवसर र सम्मान प्रदान गर्ने टाउनको प्रतिबद्धता दोहोर्‍याउँदै आप्रवासी समुदायको योगदानको प्रशंसा गरे।

त्यसैगरी Department of Community Affairs का कार्यकारी निर्देशक Zahid Syed ले एशियन अमेरिकन हेरिटेज मन्थ केवल उत्सव मात्र नभई विभिन्न समुदायका संघर्ष, उपलब्धि र योगदानलाई सम्मान गर्ने अवसर भएको बताए। उनले शिक्षा, स्वास्थ्य, व्यवसाय, सार्वजनिक सेवा तथा सामुदायिक विकासका क्षेत्रमा एशियाली समुदायको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै यस्ता कार्यक्रमले समुदायबीच आपसी सम्मान, सहिष्णुता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा विभिन्न मुलुकका सांस्कृतिक नृत्य, संगीत, फेस पेन्टिङ, हेन्ना कला, परम्परागत हस्तकला तथा एशियाली स्वादका परिकारहरू प्रस्तुत गरिएको थियो। सहभागीहरूले विभिन्न देशका संस्कृति र परम्पराबारे जानकारी आदानप्रदान गर्दै एकअर्काको जीवनशैली र मूल्य–मान्यताबारे बुझ्ने अवसर प्राप्त गरेका थिए।

समारोहको विशेष आकर्षण समुदायमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूको सम्मान कार्यक्रम थियो। सो अवसरमा नेपाली समुदायका अग्रणी समाजसेवी, CCNC USA का संस्थापक तथा सामुदायिक अभियन्ता टिकाराज ढकाल लाई विशेष सम्मान प्रदान गरिएको थियो। नेपाली समुदायलाई संगठित गर्न, सामाजिक एकता अभिवृद्धि गर्न तथा बहुसांस्कृतिक समाजमा नेपाली समुदायको पहिचान स्थापित गर्न खेलेको भूमिकाको कदर गर्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

सम्मान ग्रहणपछि ढकालले उक्त सम्मान सम्पूर्ण नेपाली समुदायको सम्मान भएको उल्लेख गर्दै आप्रवासी समुदायबीच सहकार्य, सद्भाव र सेवाभावलाई अझ सुदृढ बनाउन आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

यस वर्षको समारोहमा सबैभन्दा बढी उपस्थिति नेपाली समुदायको रहेको थियो। नेपाली समुदायका तर्फबाट प्रिशा ढकाल, दिया छेत्री, राज ढकाल, सचिन कटेल तथा आमोद ढकाल ले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए, जसले दर्शकहरूको विशेष प्रशंसा प्राप्त गरेको थियो।

कार्यक्रममा नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूमा CCNC USA का संस्थापक तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि वेद खरेल, विश्व वास्तोला, महेश खड्का, संस्थाका अध्यक्ष बाबुराम शर्मा, लङ आइल्याण्ड नेपाली समाजका पूर्व अध्यक्ष बसन्त चापागाईं, उपाध्यक्ष बाबुराजा सिंह ,महासचिव विशाल रेग्मी, सल्लाहकार केदार कटेल, सुजन रेग्मी, टिका भक्त फाउन्डेसन का संस्थापक तथा Town of Hempstead को Department of Community Affairs का नेपाली प्रतिनिधि शंकर भण्डारी, सानु महर्जन, Global PAR Foundation की अध्यक्ष एलिजाबेथ ढकाल, Overseas Nepali Forum International Committee का अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य सञ्जय थापा, समाजसेवी पिताम्बर काफ्ले, बिन्जामिन प्याकुरेल, लक्ष्मी सुवेदी, लक्ष्मी वास्तोला, रोशनी सिंह खड्का, टंक अनु फुयाल, मुना सिटौला, राजन थापा र रमेश सत्यल , मिलन पौडेल , सृष्टि पौडेल राजिन्द्र केसि ,माघव अर्याल,शर्मा,पुष्पा सुवेदी
पुजा सुवेदी , बिनिता चापागाईं लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीय निर्वाचित जनप्रतिनिधि, विभिन्न समुदायका अगुवा, सामाजिक अभियन्ता, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले हेम्पस्टेड टाउनले विविध संस्कृतिलाई सम्मान गर्दै सबै समुदायलाई एउटै परिवारका रूपमा अघि बढाउने प्रयासको प्रशंसा गरेका थिए।

आयोजकका अनुसार एशियन अमेरिकन हेरिटेज मन्थ समारोहले एशियाली मूलका समुदायहरूको गौरवशाली इतिहास, सांस्कृतिक सम्पदा तथा अमेरिकी समाजमा पुर्‍याएको योगदानलाई उजागर गर्नुका साथै विविधतामा एकता, सहअस्तित्व र सामाजिक सद्भावको सन्देश प्रवाह गरेको छ। कार्यक्रमले हेम्पस्टेड टाउनलाई बहुसांस्कृतिक सहकार्य र समावेशी समाज निर्माणको उत्कृष्ट उदाहरणका रूपमा पुनः स्थापित गरेको सहभागीहरूले बताएका छन्।

 

 

Loading...