
किन हुन्छन् विवादित नेपाली डायस्पोराका विशिष्ठ कार्यक्रमहरु?
मकै हाउस सामुदायिक मिडिया,
सम्पादकीय:
नेपाली डायस्पोराका धेरै जस्तो विशिष्ठ कार्यक्रमहरु विवादरहित हुँदैनन्।किन होला?
सन् २०१६ मा न्यूयोर्कमा पहिलो पटक सम्पन्न भएको “नेपाल डे परेड” नेपाली डायस्पोराको सबैभन्दा बृहत र विशिष्ठ किसिमको पहिलो कार्यक्रम थियो। प्रवासी नेपाली पहिचान, अस्तित्व र भविष्यसँग जोडिएको नेपाल र नेपालीको निम्ति डायस्पोरामा आयोजित पहिलो ऐतिहासिक कार्यक्रम विवाद सहित सम्पन्न भएको थियो। त्यसताका केही संस्थाको ठुलो आप्पत्ति सहित “नेपाल डे परेड” को शुभारम्भ सन् २०१६ मा न्यूयोर्कमा भएको थियो।सन् २०१७ केही संस्था “नेपाल डे परेड” मा सहभागी भयो। त्यस लगत्तै सन् २०१८ देखि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले “नेपाल डे परेड” बहिस्कार नै गर्यो। लगभग ७ वर्ष लामो बहिस्कारको राजनीति पश्चात ए.पी. लामा शेर्पाको कुशल नेतृत्वमा फिप्नाले “नेपाल डे परेड” मा गत मे २०२६ देखि पुन: सहभागिता जनाएको छ। नेपाल डे परेडमा फिप्नाको सहभागितासंगै सिंगो नेपाली डायस्पोराले ठुलो खुशियाली सहित परेडलाई भव्य रुपमा सम्पन्न गरेको छ। नेपाल र नेपालीको पहिचानलाई विशिष्ठ किसिमले प्रस्तुतीकरण गरिने “नेपाल डे परेड” अमेरिकाको विभिन्न राज्य र शहरमा विस्तार हुँदै अन्य मुलुकहरुमा समेत उल्लासपूर्ण ढंगले मनाउन थालिएको छ।

यसै गरेर न्यूजर्सी राज्यमा गत साल २०२५ देखि नेपाल डे परेडको स्वरुपमै “नेपाल डे” कार्यक्रम शुरुवात गरिएको थियो। पहिलो वर्ष अत्यन्तै उल्लासमय र एक्तावद्द ढंगले मनाइएको “नेपाल डे” दोश्रो वर्षसम्म आइपुग्दा ठुलो अन्तरिक विवाद सहित यही जून ६, २०२६ मा सम्पन्न हुँदैछ। पहिलो वर्ष संगै आयोजक भएका स्थानीय केहि महत्वपूर्ण संस्था र व्यक्तिहरुले दोश्रो “नेपाल डे” अघोषित रुपमा बहिस्कार गरिरहेको समाचार सतहमा आएको छ। नेपाल र नेपालीको पहिचानलाई प्रवासमा स्थापित गर्ने यस्ता गौरवशाली कार्यक्रमहरु एक्तावद्द रुपमा सम्पन्न गर्नु नै हामी सबैको दायित्व हो। निषेध र विभाजनले हाम्रो समुदायको हित कदापी नगर्नेमा हामी सबैलाई अवगत नै छ। समुदायका अगुवाहरुले ठुलो मन राखेर ऐक्यवद्द रुपमा यस्ता कार्यक्रमहरु आयोजना गर्दा नै नेपाल र नेपालीको मान र शान रहनेछ।असन्तुष्ट पक्षलाई समाहित गरेर लैजानु नै आयोजकको सफलता मानिने छ।निषेध र वैरभावले हाम्रो सानो समुदायलाई विभाजन र कम्जोर बनाउनेमा कुनै शंका छैन। लामो गन्तव्यको यात्रामा सबैसंग हातेमालो गर्दा सफलता हासिलहुने हो। त्यसै गरेर असन्तुष्ट पक्षले झिनामसिना कुरामा सानो मन गर्नु हुन्न भने आयोजक पक्षले फराकिलो छाती बनाएर ‘नो वन सुड बि लेफ्टबिहाइन्ड ’ भन्ने उद्धार भावना सहित सबैसँग हातेमालो गर्ने सामर्थ्य राख्नु पर्दछ। अझै पनि केहि बिग्रीसकेको छैन। आगामी जून ६, २०२६ भन्दा अगाडि नै असन्तुष्ट पक्षलाई आयोजक समितिमा संग्लग्न गराउनु एउटा कुशल आयोजकको दायित्व हो।
हामी डायस्पोराका नेपालीहरु एक्तावद्द् रहौँ। हाम्रो एकीकृत शक्तिलाई हाम्रोदोश्रो पुस्ताको भविष्य सुनिस्चित गर्न उपयोग गरौँ। न्यूजर्सीमा सम्पन्न हुनेजून ६ को “नेपाल डे” एकतावद्ध भएर भव्य सफल बनाऔं। सबैमा चेतना छाओस्।

