
हामी नेपाली ग्लोबलको ध्यानाकर्षण पत्र, महावाणिज्यदुतावास न्युयोर्कलाइ
मकै हाउस सामुदायिक मिडिया, अक्कल तामाङ
न्यूयोर्क । हामी नेपाली ग्लोबल अमेरिका, न्यूयोर्क सब-च्याप्टरले न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा दुई महत्वपूर्ण विषयमा ध्यानाकर्षण पत्र बुझाएको छ। महावाणिज्यदूत ददिराम भण्डारीलाई बुझाइएको उक्त पत्रमा अमेरिकामा रहेका नेपाली नागरिकहरूको अद्यावधिक अभिलेख (डाटाबेस) व्यवस्थापन तथा महावाणिज्यदूतावासको सेवा पहुँचलाई थप प्रभावकारी बनाउने विषयमा ध्यानाकर्षण गराइएको हो।
कार्यक्रममा हामी नेपाली ग्लोबल न्यूयोर्क सब-च्याप्टरका अध्यक्ष आदिप तामाङ, उपाध्यक्षद्वय लक्ष्मी थापा कार्की तथा कुमार बमजन, महासचिव बिरेन्द्र गिरी, सचिव सुरज सुवेदी तथा संयुक्त अध्यक्ष पेम्बा दोर्जे लामा लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो। महासचिव बिरेन्द्र गिरीले वाचन गर्नुभएको पत्रमा विशेषगरी न्यूयोर्क तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूको व्यवस्थित तथा अद्यावधिक अभिलेख तयार गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो। साथै, नेपाली समुदायले सहज रूपमा सेवा प्राप्त गर्न सक्ने गरी महावाणिज्यदूतावासको सेवा पहुँच र कार्यालय स्थान सम्बन्धी विषयमा समेत ध्यानाकर्षण गराइएको थियो। पत्र वाचनपछि उक्त ध्यानाकर्षण पत्र महावाणिज्यदूत श्री ददिराम भण्डारीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
ध्यानाकर्षण पत्र ग्रहण गरेपछि भएको रचनात्मक छलफलमा महावाणिज्यदूत भण्डारीले नेपाली नागरिकहरूको डाटाबेस व्यवस्थापनका लागि महावाणिज्यदूतावासले प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो। हाल सञ्चालनमा रहेको प्रक्रिया अपेक्षाअनुसार पूर्ण रूपमा प्रभावकारी हुन नसकेको स्वीकार गर्दै उहाँले आगामी दिनमा नेपाली समुदाय, सामुदायिक अगुवा, विभिन्न संघसंस्था तथा नेपाली सञ्चारमाध्यमहरूसँग सहकार्य गरी टाउन हल बैठक लगायतका कार्यक्रममार्फत यसलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले विदेशमा रहेका नेपाली नागरिकहरूको अद्यावधिक विवरण संकलन तथा व्यवस्थापन दूतावासको महत्वपूर्ण प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै यसलाई व्यवस्थित, विश्वसनीय र उपयोगी बनाउन आवश्यक पहल जारी रहने बताउनुभयो।
त्यसैगरी, महावाणिज्यदूतावासको वर्तमान कार्यालय स्थानका कारण सेवाग्राहीहरूले भोगिरहेका पहुँच, पार्किङ तथा यातायात सम्बन्धी असुविधाका विषयमा पनि छलफल भएको थियो। यस सम्बन्धमा महावाणिज्यदूत भण्डारीले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र परामर्श गरी सम्भावित विकल्पहरूको अध्ययन गरिने बताउनुभयो। उहाँले न्युयोर्क राज्यको सम्बन्धित निकाय तथा नेपाल सरकारसँग समेत समन्वय गरी नेपाली समुदायले भोगिरहेका असुविधालाई यथासम्भव न्यूनीकरण गर्ने प्रयास गरिने धारणा व्यक्त गर्नु भयो। साथै महावाणिज्यदुतावासले विगत ६ महिनादेखि नै सन्चालन गरेको अध्यावधिक अभिलेखमा बल्ल २० जनाले मात्र भाग लिएको कुरा उल्लेख गर्नु हुदै नागारिकले पनि आफ्नो दायित्व सम्झेर अध्यावधिक अभियानमा साथ नदिएकोमा गुनासो व्यक्त गर्नु भयो।

सो अवसरमा हामी नेपाली ग्लोबलका पदाधिकारीहरूले नेपाली समुदायसँग प्रत्यक्ष सरोकार राख्ने समुदाय, नागरिक तथा सेवामूलक विषयहरूलाई निरन्तर रूपमा बहसको केन्द्रमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, प्रवासी नेपालीहरूको तथ्यांक व्यवस्थापन, अध्ययन, अनुसन्धान तथा समुदायको हितसँग सम्बन्धित विषयमा सम्बन्धित निकायहरूसँग सहकार्य र समन्वय गर्दै रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाइएको थियो।
हामी नेपाली ग्लोबलले प्रवासी नेपालीहरूको हक, हित, सुविधा तथा सेवा पहुँच अभिवृद्धिका लागि यस्ता संवादमूलक र रचनात्मक पहललाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।



