Banner

डाक्टर बन्ने सपना अधुरै, अब अमेरिकामा पाइलट बन्ने लक्ष्य: सर्लाहीकी ईशाको प्रेरणादायी यात्रा

 

मकै हाउस सामुदायिक मिडिया, 

टेक्सस, अमेरिका । सर्लाहीकी २२ वर्षीया ईशा देवकोटा अमेरिकामा व्यावसायिक पाइलट बन्ने लक्ष्यसहित निरन्तर अघि बढिरहेकी छन्। सन् २०२२ अगस्टमा पाइलट कोर्स अध्ययनका लागि अमेरिका पुगेकी ईशाले डेल्टा क्वालिफ्लाइट एभिएसन एकेडेमीबाट अध्ययन पूरा गरेपछि हाल टेक्ससस्थित हफम्यान एभिएसनमा फ्लाइट इन्स्ट्रक्टर प्रशिक्षण लिइरहेकी छन्।

अमेरिकामा एयरलाइन्स पाइलटका रूपमा काम गर्न कम्तीमा ७०० घण्टाको फ्लाइट इन्स्ट्रक्टर अनुभव आवश्यक पर्ने भएकाले उनी सोही लक्ष्य हासिल गर्न जुटेकी छन्। अहिलेसम्म ३२५ घण्टाको अनुभव संकलन गरिसकेकी ईशाले सन् २०२७ भित्र ७०० घण्टा पूरा गर्ने लक्ष्य राखेकी छन्।

उनीसँग उडान अनुमति (पाइलट लाइसेन्स) प्राप्त भइसकेको छ र हाल टेक्सस राज्यभित्र परीक्षण उडान गर्न सक्ने अधिकार छ। यात्रु राख्न पाइने व्यवस्था भए पनि खर्चिलो हुने भएकाले परीक्षण उडानमा सामान्यतया यात्रु नराखिने उनले बताइन्।

ईशाका अनुसार नेपालको तुलनामा अमेरिकामा पाइलट क्षेत्रको अवसर र सम्भावना धेरै भएकाले उनले भविष्य पनि अमेरिकामै निर्माण गर्ने सोच बनाएकी छन्। सुरुमा चिकित्सक बन्ने सपना बोकेकी उनी ए-लेभल अध्ययनका क्रममा छात्रवृत्तिमा अमेरिका गएर चिकित्सा शिक्षा अध्ययन गर्ने योजनामा थिइन्। तर कोभिड–१९ महामारीका कारण त्यो योजना पूरा हुन नसकेपछि उनले पाइलट पेशालाई आफ्नो करियरका रूपमा रोजिन्।

दक्षिण अफ्रिकालगायत अन्य देशमा अध्ययन गर्दा परिवारको आर्थिक सहयोगमा मात्र निर्भर हुनुपर्ने अवस्था देखेपछि पढाइसँगै काम गरेर खर्च व्यवस्थापन गर्न सकिने अवसरका कारण आफूले अमेरिका रोजेको ईशाले बताइन्।

उनका अनुसार सुरुमा पाइलट अध्ययनका लागि करिब ६० हजार अमेरिकी डलर खर्च हुने अनुमान गरिएको भए पनि अन्ततः ८२ हजार डलरभन्दा बढी खर्च भएको थियो। हाल भने पाइलट प्रशिक्षणका लागि झण्डै ८५ हजार अमेरिकी डलर आवश्यक पर्ने उनको अनुभव छ।

ईशाको संघर्ष, मेहनत र दृढ संकल्पले नेपाली युवापुस्तालाई अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा करियर बनाउन प्रेरणा दिने विश्वास गरिएको छ।

 

 

Loading...