
न्यूयोर्कमा ‘हाम्रो नेपाल मेला–२०२६’ भव्य रुपमा सम्पन्न, साकेला पर्वको संयुक्त आयोजनाले थप्यो विशेष आकर्षण।

मकै हाउस सामुदायिक मिडिया
अक्कल तामाङ
न्यूयोर्क, अमेरिका । नेपाली कला, संस्कृति, पर्यटन तथा स्थानीय व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित ‘हाम्रो नेपाल मेला–२०२६’ भव्य रूपमा सम्पन्न भएको छ। बिहान १०:०० बजेदेखि बेलुका ६:०० बजेसम्म सञ्चालन भएको मेलामा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
यस वर्षको मेलाको विशेष आकर्षण साकेला पर्वको संयुक्त आयोजना रह्यो। मेलासँगै मनाइएको साकेला पर्वका अवसरमा गरिएको साकेला पूजा र सामूहिक साकेला नृत्य ले कार्यक्रमस्थललाई उत्साह, उमंग र सांस्कृतिक रंगले भरिपूर्ण बनाएको थियो। विभिन्न समुदायका सहभागीहरूले नेपाली मौलिक संस्कृतिको अनुपम झल्को प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका न्यूयोर्कस्थित महावाणिज्यदूत दधिराम भण्डारी रहनुभएको थियो। त्यसैगरी जनजाति महासंघ अमेरिकाका अध्यक्ष एपी लामा, एनआरएनए अमेरिकाका उपाध्यक्ष आङ छिरिङ शेर्पा र न्यूयोर्क च्याप्टरका अध्यक्ष वाशु लामिछाने, नेपाल अमेरिका कलाकार संघकी अध्यक्ष वशन्ती राई, हामी नेपाली ग्लोबल न्यूयोर्क च्याप्टरका अध्यक्ष आदिप तामाङ, युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाका अध्यक्षन्यूयोर्कमा ‘हाम्रो मेला–२०२६’ भव्य रुपमा सम्पन्न, साकेला पर्वको संयुक्त आयोजनाले थप्यो विशेष आकर्षण। उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा अतिथिहरूले यस्ता मेलामार्फत नेपालको कला, संस्कृति, पर्यटन र नेपाली पहिचानको अन्तर्राष्ट्रिय प्रवर्द्धन हुने तथा अमेरिकामा रहेका नेपाली साना व्यवसायीहरूलाई बजार विस्तार गर्ने महत्वपूर्ण अवसर प्राप्त हुने भएकाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाका विशेष प्रतिनिधि केशव राईले यस वर्ष पहिलो पटक ‘हाम्रो नेपाल मेला’सँग संयुक्त रूपमा साकेला पर्व मनाइएको उल्लेख गर्दै यसले मेलाको गरिमा र सांस्कृतिक महत्वलाई अझ उचाइमा पुर्याएको बताउनुभयो। उहाँले विभिन्न समुदायबीचको एकता, सहकार्य र सांस्कृतिक सद्भावको उत्कृष्ट उदाहरणका रूपमा यस कार्यक्रमलाई लिन सकिने धारणा व्यक्त गर्नुभयो।
आयोजकका अनुसार मेलामा नेपाली परिकार, हस्तकला, व्यवसायिक स्टल, सूचना प्रदर्शनी तथा सामुदायिक सेवासँग सम्बन्धित विभिन्न स्टलहरू राखिएका थिए। यस्ता कार्यक्रमले विशेषगरी अमेरिकामा रहेका नेपाली साना तथा मध्यम व्यवसायीहरूको व्यवसाय प्रवर्द्धन, नेटवर्क विस्तार तथा आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको दोस्रो चरणमा आयोजित सांस्कृतिक प्रस्तुति ले दर्शकहरूको विशेष ध्यान आकर्षित गर्यो। नेपाली लोक, आधुनिक तथा जातीय सांस्कृतिक नृत्य–संगीतका आकर्षक प्रस्तुतिहरूले उपस्थित दर्शकलाई दिनभर मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रमको सन्चालन मकै हाउस मिडियाका अध्यक्ष विकी पुलामीले गर्नुभएको थियो।
‘हाम्रो नेपाल मेला–२०२६’ ले नेपाली भाषा, कला, संस्कृति, पर्यटन तथा व्यवसायलाई एउटै मञ्चमा जोड्दै अमेरिकामा बसोबास गर्ने नेपाली समुदायबीच एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने सफल प्रयास गरेको आयोजकहरूको निष्कर्ष रहेको छ।