Banner

समाजसेवी हेम थापालाई पुत्र शोक, अमेरिकी सेनामा कार्यरत ड्युटीकै क्रममा निधन

 

मकै हाउस सामुदायिक मिडिया

न्युयोर्क । अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ समाजसेवी हेम थापा र माया थापाका कान्छा छोराको अमेरिकी सेनामा कार्यरत रहँदा ड्युटीकै क्रममा भएको दुर्घटनामा दुःखद निधन भएको छ। यस घटनाले थापा परिवार मात्र होइन, नेपाली समुदायलाई समेत स्तब्ध बनाएको छ।

परिवारका अनुसार, केही समयअघि मात्रै उनी आफ्नो सेवामा पदोन्नति भएका थिए। त्यसपछि उनले बिदा लिएर अमेरिका स्थित आफ्ना आमा–बुवा र परिवारसँग केही समय बिताएका थिए। बिदा समाप्त भएपछि उनी पुनः आफ्नो कार्यस्थलमा फर्किएका थिए।

मृतकका पिता हेम थापाले दिएको जानकारीअनुसार, नियमित ड्युटीका क्रममा हतियार सञ्चालन भइरहेको बेला भएको दुर्घटनामा गोली आफ्नै कन्चटमा लाग्दा घटनास्थलमै उनको ज्यान गएको हो। घटनापछि सम्बन्धित अमेरिकी निकायले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको बताइएको छ।

यस अप्रत्याशित घटनापछि थापा परिवार गहिरो शोकमा डुबेको छ। खबर सार्वजनिक भएपछि देश तथा विदेशबाट आफन्त, साथीभाइ र शुभेच्छुकहरूले समवेदना व्यक्त गर्दै सम्पर्क गर्ने प्रयास गरेका भए पनि अत्यधिक पीडाका कारण परिवारले सबैलाई प्रतिक्रिया दिन नसकेको जनाइएको छ।

घटनापछि हेम थापाले आफ्नो फेसबुकमार्फत अत्यन्त भावुक अभिव्यक्ति सार्वजनिक गरेका थिए। पहिलो स्टाटसमा उनले “जीवनको सबैभन्दा दुःखद घडी…” लेखेका थिए भने अर्को स्टाटसमा उनले आफ्नो जीवनको सबैभन्दा असह्य पीडा व्यक्त गर्दै भगवानप्रति गुनासो पोखेका थिए। ती स्टाटसमा घटनाको स्पष्ट विवरण उल्लेख नगरिएकाले धेरै शुभेच्छुकहरूमा जिज्ञासा र विभिन्न अड्कलबाजी समेत सुरु भएको थियो।

यसैबीच, आज हेम थापासँग भएको करिब दुई मिनेट अठ्ठाइस सेकेन्डको कुराकानीमा उनले पहिलो पटक घटनाबारे संक्षिप्त जानकारी दिएका छन्। गहिरो शोकका बीच उनले अमेरिकी कानुनी प्रक्रिया पूरा नभएसम्म परिवारले छोराको शव प्राप्त गर्न नसकेको जानकारी गराए। आवश्यक प्रक्रिया सम्पन्न भएपछि मात्र शव परिवारलाई जिम्मा लगाइने उनले बताए।

दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल हेम थापा, माया थापा तथा सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

 

 

 

Loading...