
न्यूयोर्कमा इतिहास रचियो: १० देशका बौद्ध समुदाय पहिलोपटक एउटै मञ्चमा, मेयर जोहरान ममदानीले दिए एकताको सन्देश

मकै हाउस सामुदायिक मिडिया, अक्कल तामाङ
न्यूयोर्क, जुन २८। विश्वकै सबैभन्दा विविध संस्कृतिको शहर न्यूयोर्कमा पहिलोपटक १० राष्ट्रका बौद्ध समुदाय एउटै छानामुनि भेला भएर अन्तर्राष्ट्रिय बुद्ध पूर्णिमा (International Vesak Day 2026) संयुक्त रूपमा मनाउँदै इतिहास रचेका छन्।

न्यूयोर्कको PS 69Q – द ज्याक्सन हाइट्स स्कूल मा आयोजित यस ऐतिहासिक समारोहको आयोजना Bangladesh Buddhist Community of New York Inc. (BBCNY) ले गरेको थियो। कार्यक्रममा बंगलादेश, भुटान, चीन, भारत, जापान, म्यानमार, नेपाल, श्रीलंका, थाइल्यान्ड र तिब्बतका बौद्ध समुदायका सयौं श्रद्धालु, भिक्षु, सामाजिक अगुवा तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ३३ वटा विभिन्न संस्थाको सहभागिताले यसलाई न्यूयोर्कमा हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमध्ये एक बनाएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर Zohran Mamdani ले बुद्धका शान्ति, करुणा र प्रज्ञाका शिक्षाहरू आजको विश्वका लागि अझ बढी सान्दर्भिक रहेको उल्लेख गर्दै विभिन्न देशका बौद्ध समुदायलाई एउटै मञ्चमा ल्याएकोमा आयोजकलाई उच्च प्रशंसा व्यक्त गरे।

मेयर ममदानीले भने, “आज हामीले विविधता विभाजनको कारण होइन, बरु हाम्रो सबैभन्दा ठूलो शक्ति हो भन्ने प्रमाणित गरेका छौं।” उनले न्यूयोर्कजस्तो बहुसांस्कृतिक शहरमा पारस्परिक सम्मान, सहिष्णुता र एकताको संस्कृति निर्माणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताए।
मेयरलाई बुद्धको प्रतिमा उपहार
समारोहका क्रममा International Vesak Day 2026 Celebration Committee का प्रमुख सल्लाहकार उर्गेन शेर्पाले न्यूयोर्कका सम्पूर्ण बौद्ध समुदायको तर्फबाट मेयर ममदानीलाई बुद्धको प्रतिमा “प्रेमको प्रतीक” स्वरूप प्रदान गरे।
प्रतिमामा अंकित सन्देशमा लेखिएको थियो—
“Mayor Zohran K. Mamdani, In recognition of your inclusion of historically marginalized communities. May peace and justice prevail.”

यो सम्मान ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायप्रति मेयरले देखाएको समावेशी नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्ने प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो।
विश्वका प्रतिष्ठित भिक्षुहरूको धर्मदेशना
समारोहको मुख्य धर्मदेशना क्यानडाको ओन्टारियोस्थित West End Buddhist Temple and Meditation Centre का निवासी भिक्षु भदन्त डा. सरणपाल भिक्षु तथा Zero Point Meditation Center का निर्देशक ग्येगे योङयाल रिन्पोछेले दिएका थिए। उहाँहरूले करुणा, मैत्री, प्रज्ञा र विश्वशान्तिबारे दिएका प्रेरणादायी प्रवचनले सहभागीहरूलाई गहिरो आध्यात्मिक अनुभूति दिलाएको थियो।

त्यसैगरी जापानका भदन्त टी.के. नाकागाकी, श्रीलंकाका भदन्त धम्मज्योति थेरो, चीनका भदन्त यू लिन, अमेरिकाको मिशिगनका भदन्त धर्मानन्द महाथेरो तथा भदन्त विसुद्धबंश थेरोले पनि विभिन्न बौद्ध परम्पराबाट धर्मदेशना दिएका थिए।
कार्यक्रमको सुरुआत पाली, संस्कृत र तिब्बती भाषामा गरिएको मंगल पाठ, पुष्प अर्पण तथा प्रार्थनाबाट भएको थियो। बंगलादेशबाट आउनुभएका भदन्त यू पञ्ञा दीप भिक्षुले ध्यान सत्र सञ्चालन गरेका थिए भने डा. जिनप्रिय महाथेरोले करणीय मेत्ता सुत्त पाठ गरेर विश्वशान्तिको कामना गरेका थिए।
ज्याक्सन हाइट्समा ऐतिहासिक शान्ति यात्रा
यस वर्षको बुद्ध पूर्णिमा समारोहको सबैभन्दा आकर्षक पक्ष थियो ज्याक्सन हाइट्समा आयोजना गरिएको शान्ति पदयात्रा (Peace Parade)।

न्यूयोर्क सिटीको इतिहासमै पहिलोपटक बुद्ध पूर्णिमाका अवसरमा चारवटा सडक खण्ड आधिकारिक रूपमा बन्द गरेर शान्ति यात्राको व्यवस्था गरिएको थियो। सयौं सहभागीहरूले बौद्ध झण्डा, धार्मिक छाता र शान्तिका सन्देश बोकेका ब्यानरसहित बुद्धका उपदेश गुञ्जाउँदै विश्वशान्तिको कामना गरेका थिए। आयोजकका अनुसार यो न्यूयोर्कको इतिहासमै सबैभन्दा व्यवस्थित र व्यापक बुद्ध पूर्णिमा शान्ति यात्रा बनेको हो।

नेपालसहित विभिन्न देशका सांस्कृतिक प्रस्तुति
दिउँसोको सत्रमा नेपाल, बंगलादेश, तिब्बत, म्यानमार, भुटान लगायत विभिन्न देशका बालबालिकाले सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको निर्देशन भदन्त विसुद्धबंश थेरोले गरेका थिए।

समारोहमा BBCNY का अध्यक्ष शुभाशीष बरुआ, महासचिव अमित बरुआ तथा समारोहका सदस्य सचिव श्यामाश्री बरुआले पनि मन्तव्य व्यक्त गरेका थिए। यस अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीलाई समर्पित “लुम्बिनी” नामक स्मारिका पनि सार्वजनिक गरिएको थियो।

विश्वशान्तिको सन्देश बोकेको ऐतिहासिक उत्सव
कार्यक्रमको समापन नेपाल, बंगलादेश, तिब्बत, म्यानमार र भुटानका सांस्कृतिक प्रस्तुतिसँगै भएको थियो।
आयोजकका अनुसार International Vesak Day 2026 केवल धार्मिक समारोह मात्र नभई, भाषा, संस्कृति र राष्ट्रियताको सीमाभन्दा माथि उठेर बुद्धका करुणा, अहिंसा, मैत्री र सहअस्तित्वका सन्देशलाई विश्वसामु प्रस्तुत गर्ने ऐतिहासिक अभियान बनेको छ।

न्यूयोर्कमा पहिलोपटक १० राष्ट्रका बौद्ध समुदाय एकताबद्ध भएर बुद्ध पूर्णिमा मनाउनु बहुसांस्कृतिक समाजमा धार्मिक सद्भाव, अन्तरसमुदायिक एकता र विश्वशान्तिप्रतिको साझा प्रतिबद्धताको सशक्त उदाहरणका रूपमा इतिहासमा अंकित भएको छ।

