
जुलाई ४ को अवसरमा सुदूरपश्चिम समाज अमेरिकाको पिकनिक कार्यक्रम सम्पन्न, समाज द्नारा आभार प्रकट
मकै हाउस सामुदायिक मिडिया,
न्यूयोर्क । अमेरिकाको २५०औँ स्वतन्त्रता दिवस (जुलाई ४) को अवसरमा सुदूरपश्चिम समाज अमेरिकाद्वारा आयोजित पिकनिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण सहभागी, स्वयंसेवक, प्रायोजक तथा शुभेच्छुकहरूप्रति संस्थाले हार्दिक आभार व्यक्त गरेको छ।

समाजका अध्यक्ष नवीन ओझाले जारी गरेको धन्यवाद सन्देशमा कार्यसमिति सदस्य, पूर्व अध्यक्ष, सल्लाहकार, पूर्व पदाधिकारी, परिवारजन, स्वयंसेवक, सहयोगी संस्था, प्रायोजक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूको योगदानको उच्च प्रशंसा गरिएको छ।

अध्यक्ष ओझाले प्रवासमा नेपाली समुदायबीच एकता, आपसी सद्भाव, भाइचारा तथा सुदूरपश्चिमको भाषा, कला, संस्कृति र मौलिक पहिचानलाई जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सबैको उत्साहजनक सहभागिता र सहयोगले कार्यक्रमलाई अझ स्मरणीय र उपलब्धिमूलक बनाएको उल्लेख गरेका छन्।
उनले कार्यक्रमको तयारीदेखि समापनसम्म निस्वार्थ रूपमा खटिएका स्वयंसेवक, कार्यसमिति, सल्लाहकार, सहयोगी संस्था तथा दाताहरूप्रति विशेष आभार व्यक्त गर्दै उनीहरूको समर्पण र सहयोग संस्थाका लागि प्रेरणादायी रहेको बताएका छन्।

साथै आगामी दिनहरूमा पनि समुदायको एकता, सामाजिक सेवा, सांस्कृतिक संरक्षण तथा नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने अभियानमा सुदूरपश्चिम समाज अमेरिका निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष ओझाले सबैसँग निरन्तर साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन्।

अन्त्यमा, कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहभागी तथा शुभेच्छुकहरूप्रति पुनः हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।

