
जमैका नेपाली समाजको समर बनभोज तथा बिशेष कार्यक्रम नजिकिदै
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । जमैका नेपाली समाजले समर पिकनिक आयोजना गर्ने भएको छ । हाम्रो भाषा, संस्कृति र पहिचान, एकताबद्द नेपाली समाज हाम्रो पहिचान भन्ने नाराका साथ आगामी जुलाई १२ आइतबार बनभोज कार्यक्रमको आयोजना गर्न लागेको जमैका नेपाली समाजका संस्थापक अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।
समर बनभोजमा विविध सांस्कृतिक कार्यक्रम गर्ने तय गरिएको छ । कविता वाचन, गजल, मुक्तक, कथा, अनुभव आदानप्रदान गर्ने लगायतका गतिबिधिहरु गर्ने जसले गर्दा नेपाली भाषाको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने जमैका नेपाली समाजका सचिब पारस भारद्वाजले जानकारी दिए ।

कार्यक्रममा साहित्यप्रेमी, स्रष्टा तथा नयाँ पुस्ताका प्रतिभालाई आफ्नो सिर्जना प्रस्तुत गर्ने खुला अवसर प्रदान गरिनेछ।
त्यसैगरी, समाजका अग्रज, ज्येष्ठ नागरिक, समाजसेवी, स्वयंसेवक तथा समुदायमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरिनेछ । समाजले यस्ता किसिमका कार्यक्रमले सामाजिक सेवाप्रति थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।
जमैकामा तथा न्यूयोर्क आसपासमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, युवा, बालबालिका तथा ज्येष्ठ नागरिकलाई परिवारसहित कार्यक्रममा सहभागी भईदिन समाजले अनुरोध गरेको छ । साथै, स्वयंसेवक, सहयोगदाता तथा प्रायोजकहरूलाई पनि कार्यक्रम सफल बनाउन सहयोग गरिदिन आह्वान गरिएको छ।
यस्ता कार्यक्रमले नेपाली समुदायबीचको एकता, मित्रता, सहकार्य र सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउने विश्वास छ । आगामी दिनमा समुदायको हित, भाषा, कला, संस्कृति संरक्षण तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिइने समाजका अध्यक्ष पुस्कर खनालले बताए ।
साथै, कार्यक्रममा नेपाली समुदायका विभिन्न तहमा अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई ग्रेजुएसन सम्मान प्रदान गरिनेछ भने पीएचडी (PhD) उपाधि हासिल गरेका नेपालीहरूलाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ ।

