
तेस्रो स्थानको खेलका गोल पनि गोल्डेन बुटका लागी गणना हुन्छ ?
मकै हाउस मिडिया,
न्युयोर्क । फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि खेलिने प्ले–अफ खेलमा गरिएका गोल पनि खेलाडीको कुल गोल सङ्ख्या तथा गोल्डेन बुट प्रतिस्पर्धामा गणना हुने भएकाले उत्कृष्ट गोलकर्ताको दौड अन्तिम क्षणसम्म रोमाञ्चक बनेको छ।
यसको अर्थ, सेमिफाइनलबाट बाहिरिएका फ्रान्स र इंग्ल्यान्डका खेलाडीहरूले पनि गोल्डेन बुट जित्ने सम्भावना अझै कायम राखेका छन्। फ्रान्सका किलियन एम्बाप्पे र ओसमान डेम्बेले तथा इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घम तेस्रो स्थानको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो गोल सङ्ख्या बढाउन सक्ने अवस्थामा छन्।
विश्वकपमा अब तेस्रो स्थानको प्ले–अफ र फाइनल मात्र बाँकी रहँदा पाँच वा सोभन्दा बढी गोल गरेका सात खेलाडी गोल्डेन बुटको दौडमा छन्। शनिबार इंग्ल्यान्ड र फ्रान्स तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् भने आइतबार स्पेन र अर्जेन्टिनाबीच उपाधिका लागि फाइनल खेल हुनेछ।
हाल गोलकर्ताको सूचीमा अर्जेन्टिनाका लियोनेल मेस्सी र फ्रान्सका किलियन एम्बाप्पे समान आठ–आठ गोलसहित शीर्ष स्थानमा छन्। दुवैको गोल सङ्ख्या बराबर भए पनि मेस्सीको असिस्ट संख्या बढी भएकाले उनी प्राविधिक रूपमा गोल्डेन बुटको दौडमा अगाडि रहेका छन्।

यसैबीच, नर्वेका अर्लिङ हालान्ड सात गोलसहित तेस्रो स्थानमा छन्। तर नर्वे क्वार्टरफाइनलबाट बाहिरिसकेकाले हालान्डले आफ्नो गोल सङ्ख्या बढाउने अवसर गुमाइसकेका छन्।
इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घम समान छ–छ गोलसहित प्रतिस्पर्धामा छन् भने फ्रान्सका ओसमान डेम्बेले र स्पेनका मिकेल ओयार्साबाल पाँच–पाँच गोलसहित गोल्डेन बुटको होडमा रहेका छन्।
शनिबार हुने इंग्ल्यान्ड–फ्रान्स तेस्रो स्थानको खेलमा दुवै टोलीले कस्तो टोली मैदानमा उतार्छन् भन्ने विषयले पनि गोल्डेन बुटको नतिजामा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। विगतका विश्वकपहरूमा प्रशिक्षकहरूले प्ले–अफ खेलमा टोलीमा परिवर्तन गर्ने गरेका उदाहरणहरू प्रशस्तै छन्।

विश्वकप इतिहासमा हालसम्म सात जना गोल्डेन बुट विजेताले तेस्रो स्थानको खेलमा गोल गरेका छन्। सन् २०१० मा थोमस मुलर, १९९८ मा डाभोर सुकर, १९९० मा साल्भाटोर सिलाची र १९३८ मा लियोनिडास ले प्ले–अफ खेलमा गरेको गोलकै आधारमा गोल्डेन बुट जितेका थिए।

त्यस्तै, १९७४ का ग्रेगोर्ज लाटो, १९६६ का युसेबियो र १९५८ का जुस्ट फन्टेन ले पनि तेस्रो स्थानको खेलमा गोल गर्दै आफ्नो गोल्डेन बुट यात्रालाई थप स्मरणीय बनाएका थिए।
विश्वकपको अन्तिम दुई खेल बाँकी रहँदा गोल्डेन बुटको प्रतिस्पर्धा पनि उपाधि भिडन्तजत्तिकै चासोको विषय बनेको छ। अब तेस्रो स्थानको खेल र फाइनलमा हुने प्रत्येक गोलले उत्कृष्ट गोलकर्ताको समीकरण परिवर्तन गर्न सक्ने सम्भावना रहेको छ।