Banner

फिफा विश्वकपमा पहिलो पटक ‘च्याम्पियनसिप रिङ’ : विजेता टोलीले ट्रफीसँगै पाउने रिङ के हो ?

 

 

मकै हाउस मिडिया, 

न्युयोर्क । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप–२०२६ को फाइनलमा साविक विजेता अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन्। न्यू जर्सीको मेटलाइफ स्टेडियममा हुने यो प्रतिस्पर्धा नेपाली समयअनुसार सोमबार बिहान (अमेरिकी ईस्टर्न समय आइतबार दिउँसो ३ बजे) हुनेछ।

यसपटकको विश्वकप फाइनल खेल केवल नयाँ च्याम्पियन छान्ने अवसर मात्र होइन, फिफाले इतिहासमै पहिलो पटक लागू गर्न लागेको नयाँ सम्मानका कारण पनि विशेष बनेको छ। विजेता टोलीले परम्परागत विश्वकप ट्रफी र स्वर्ण पदकसँगै अब ‘च्याम्पियनसिप रिङ’ पनि प्राप्त गर्नेछ।

अमेरिकी खेलकुदमा लामो समयदेखि लोकप्रिय रहँदै आएको ‘च्याम्पियनसिप रिङ’ को अवधारणालाई फिफाले पहिलो पटक विश्व फुटबलमा भित्र्याएको हो। यसलाई खेलाडीहरूको उपलब्धिलाई थप स्मरणीय बनाउने उद्देश्यका साथ प्रस्तुत गरिएको जनाइएको छ।

फिफाले सार्वजनिक गरेको विवरणअनुसार रिङको डिजाइनमा विश्वकप ट्रफीको आकृति समावेश गरिएको छ भने अर्को भागमा विजेता राष्ट्रको पहिचान झल्किने गरी विशेष डिजाइन तयार गरिएको छ। प्रत्येक खेलाडीका लागि बनाइने रिङमा छुट्टै नम्बर रहनेछ र खेलाडीको औँलाको आकारअनुसार तयार पारिने भएकाले यो व्यक्तिगत सम्मानको प्रतीक हुनेछ।

सन् २०२६ संस्करणलाई लक्षित गर्दै कुल २,०२६ वटा च्याम्पियनसिप रिङ निर्माण गरिएको छ। तीमध्ये ३० वटा विजेता टोलीका खेलाडी तथा सदस्यहरूलाई प्रदान गरिनेछ। बाँकी १,९९६ वटा भने आधिकारिक लाइसेन्स प्राप्त स्मरणीय सामग्री (Official Licensed Product) का रूपमा विश्वभरका फुटबल समर्थकका लागि बिक्रीमा राखिने फिफाको योजना छ।

यसअघि विश्वकप विजेता टोलीका खेलाडीहरूले व्यक्तिगत पहलमा यस्ता औँठी बनाएको उदाहरण भने रहेको छ। सन् २०१८ मा फ्रान्स विश्वकप जितेपछि पाउल पोग्बा र एन्टोनी ग्रिजम्यानले आफ्ना टोलीका सदस्यका लागि विशेष हीरा जडित औँठी तयार गराएका थिए। तर, त्यो फिफाको आधिकारिक कार्यक्रम थिएन।

यसपटक भने फिफाले नै औपचारिक रूपमा ‘च्याम्पियनसिप रिङ’ लाई विश्वकप पुरस्कारको हिस्सा बनाएको हो। यद्यपि, यो अभ्यास केवल सन् २०२६ संस्करणमा सीमित रहने हो वा आगामी विश्वकपहरूमा पनि निरन्तरता दिइने हो भन्ने विषयमा फिफाले अहिलेसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

विश्वकपको गौरवशाली इतिहासमा थपिएको यो नयाँ परम्पराले विजेता टोलीका खेलाडीलाई जीवनभर सम्झिरहने अर्को विशेष सम्मान प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

 

Loading...