
हिल्स प्रोडक्सनद्वारा ‘रिक्तता’ म्युजिकल फिल्म (म्युजिक भिडियो) को पोस्टर सार्वजनिक
मकै हाउस मिडिया,
काठमाडौं । हिल्स प्रोडक्सनको प्रस्तुतिमा निर्माण गरिएको बहुप्रतीक्षित म्युजिकल फिल्म (म्युजिक भिडियो) ‘रिक्तता’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ।
मित्रता, युवापुस्ताको संघर्ष, सपना, सम्बन्ध र जीवनमा आइपर्ने चुनौतीहरूको भावनात्मक कथा प्रस्तुत गर्ने ‘रिक्तता’ले आजका युवाको वास्तविक जीवनलाई संगीत र दृश्यमार्फत उजागर गर्ने प्रयास गरेको निर्माण टिमले जनाएको छ। पोस्टर सार्वजनिक भएसँगै यस म्युजिकल फिल्मप्रति दर्शक तथा संगीतप्रेमीमाझ उत्साह बढेको छ।
यस म्युजिकल फिल्मको निर्देशन रंगमञ्च क्षेत्रमा १० वर्षभन्दा बढी अनुभव भएका राजा श्रेष्ठले गरेका छन्। कथा नवीन चौलागाईंको रहेको छ भने प्रकाश घिमिरेको स्वर तथा संगीत रहेको छ। प्रकाश घिमिरे काठमाडौं विश्वविद्यालय (KU) मा संगीत विषय अध्ययनरत विद्यार्थी हुन्।
गीतका शब्द युवराज काफ्ले, राई रञ्जित र प्रकाश घिमिरेले संयुक्त रूपमा सिर्जना गरेका छन्। ‘काफ्ले’ र ‘ओइ नेता जी’ जस्ता चर्चित गीतका लेखकका रूपमा परिचित युवराज काफ्लेको सहभागिताले पनि यस परियोजनाप्रति थप अपेक्षा बढाएको छ।

निर्माण टिमका अनुसार ‘रिक्तता’ केवल एउटा म्युजिक भिडियो नभई मित्रताको वास्तविक अर्थ, युवाको सपना पूरा गर्ने संघर्ष, सम्बन्धमा आउने उतारचढाव र जीवनका कठिन निर्णयहरूको भावनात्मक यात्रा हो। संगीत, कथा र अभिनयको संयोजनमार्फत दर्शकलाई आफ्नै जीवनसँग जोडिने अनुभव दिने लक्ष्य राखिएको छ।

हिल्स प्रोडक्सनले पोस्टर सार्वजनिकसँगै ‘रिक्तता’ छिट्टै दर्शकमाझ ल्याइने जानकारी दिएको छ। निर्माण टिमले दर्शकलाई म्युजिकल फिल्म हेरी यसको भावनात्मक यात्रामा सहभागी हुन र आफ्नो साथ तथा शुभकामना दिन अनुरोध गरेको छ।
