Banner

मोनरो विश्वविद्यालय न्युयोर्क र इक्यान झापाबीच शैक्षिक अन्तरक्रिया, नेपाली विद्यार्थीका अवसरबारे छलफल

मकै हाउस मिडिया, 

बिर्तामोड । नेपाली विद्यार्थीलाई अमेरिकाको उच्च शिक्षा र अध्ययनका अवसरबारे थप स्पष्ट जानकारी उपलब्ध गराउने उद्देश्यले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले अमेरिकी मोनरो विश्वविद्यालयसँग शैक्षिक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

बिर्तामोडमा आयोजित कार्यक्रममा नेपालका शैक्षिक परामर्शदाता र अमेरिकी विश्वविद्यालयबीच सहकार्य विस्तार, विद्यार्थी भर्ना प्रक्रिया तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आवश्यक शैक्षिक र प्रशासनिक प्रक्रियाका विषयमा छलफल भएको थियो।

कार्यक्रममा मोनरो विश्वविद्यालयकी एसियाली क्षेत्र तथा विद्यार्थी आदानप्रदानसम्बन्धी अनुपालन निर्देशक तथा तोकिएको विद्यालय अधिकारी श्रुति अमात्यले अमेरिकी उच्च शिक्षा प्रणालीबारे सहभागीलाई जानकारी गराइन्। उनले नेपाली विद्यार्थीले अमेरिकामा अध्ययनका लागि विश्वविद्यालय र विषय छनोट गर्दा ध्यान दिनुपर्ने विषय, आवेदन तथा भर्ना प्रक्रिया र अन्तर्राष्ट्रिय विद्यार्थीसम्बन्धी नियमका बारेमा आफ्ना अनुभव तथा जानकारी साझा गरिन्।

अन्तर्राष्ट्रिय विद्यार्थीको शैक्षिक अभिलेख व्यवस्थापन, आवश्यक नियम तथा मापदण्डको पालना र विद्यार्थीको अध्ययन यात्रालाई व्यवस्थित बनाउन विश्वविद्यालय तथा परामर्श संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको विषयमा समेत कार्यक्रममा जोड दिइएको थियो।

इक्यान झापा अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यसमिति सदस्य तथा अतिरिक्त विभाग प्रमुख सरोज खरेलले सहजीकरण गरेका थिए। तालिम विभाग प्रमुख नवीन बोहोराले स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पारेका थिए।

कार्यक्रममा इक्यान झापाका निवर्तमान अध्यक्ष इन्जिनियर रोशन सुवेदी, इक्यान केन्द्रीय कार्यसमितिका सदस्य अनन्तराज घिमिरे तथा सञ्जीव पाण्डेसहित झापामा सञ्चालित विभिन्न शैक्षिक परामर्श संस्थाका सञ्चालक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सहभागी परामर्श व्यवसायीहरूले अमेरिकी विश्वविद्यालयमा विद्यार्थी पठाउँदा आउने विभिन्न व्यावहारिक पक्ष, भर्ना प्रक्रिया र अन्तर्राष्ट्रिय विद्यार्थी व्यवस्थापनसँग सम्बन्धित विषयमा श्रुति अमात्यसँग प्रत्यक्ष जिज्ञासा राखेका थिए।

कार्यक्रममा नेपाल र अमेरिकाबीचको शैक्षिक सहकार्यलाई अझ प्रभावकारी बनाउँदै नेपाली विद्यार्थीका लागि गुणस्तरीय अन्तर्राष्ट्रिय अध्ययनका अवसर विस्तार गर्न सकिने विषयमा पनि विचार आदानप्रदान गरिएको थियो। विश्वविद्यालय र शैक्षिक परामर्श संस्थाबीच प्रत्यक्ष संवादले विद्यार्थीलाई सही सूचना र उपयुक्त शैक्षिक गन्तव्य छनोटमा सहयोग पुग्ने सहभागीहरूको धारणा थियो।

इक्यान झापाले सदस्य संस्थाहरूको व्यावसायिक क्षमता बढाउनुका साथै अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा शैक्षिक संस्थासँग सम्बन्ध विस्तार गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता अन्तरक्रिया तथा ज्ञान आदानप्रदानका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

 

Loading...