
नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी
मकै हाउस सामुदायिक मिडिया,
भर्जिनिया, अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशनबाट मुनिन्द्र नेम्वाङ सभापतिमा विजयी भएका छन्। अन्तिम मतगणनामा नेम्वाङले २ सय ६६ मत प्राप्त गर्दै निकटतम् प्रतिस्पर्धी सी.पी. पौड्याललाई पराजित गरेका हुन्। पौड्यालले १ सय ३८ मत प्राप्त गरेका छन्।
नेपाली जनसम्पर्क समिति अमेरिकाको नयाँ नेतृत्वमा वरिष्ठ उपसभापतिमा विनोद भट्ट विजयी भएका छन्।
त्यस्तै उपसभापति पदमा हरि पी. शर्मा, निमा बोम्जन, सञ्जीव श्रेष्ठ र श्रीराम थापा विजयी भएका छन्।


मतपरिणाम अनुसार उपसभापतिमा गणेशराज भण्डारी, महामन्त्रीमा नारायण खनाल र गौतम दाहाल, सहमहामन्त्रीमा अर्जुन बम र अनिता परियार तथा कोषाध्यक्षमा नारायण पी. पोखरेल विजयी भएका छन् ।
यसैगरी युवा उपसभापति पदमा सुशील खत्री पनि निर्वाचित भएका छन्। प्रकाशित अन्तिम परिणामअनुसार सुशील खत्रीले २ सय ४१ मत प्राप्त गरेका छन्।

१२ वर्षपछि सम्पन्न नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। नयाँ नेतृत्वसँगै समितिलाई थप संगठित, प्रभावकारी र संस्थागत रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्थाका रूपमा रहेको नेपाली जनसम्पर्क समिति अमेरिकाको महाधिवेशन भर्जिनियामा सम्पन्न भएको हो।

