Banner

नेवाः नखः न्यूयोर्कको अध्यक्षमा श्रुति अमात्य निर्वाचित, पहिलो पटक महिलाले नेतृत्व गर्दै

 

मकै हाउस मिडिया, 

ने. सं. ११४६, दिल्लागा तृतिया तदानुसार शनिबार, अगस्ट १, २०२६ का दिन जुममार्फत सम्पन्न संस्थाको सातौँ वार्षिक साधारण सभा तथा पाँचौँ निर्वाचनबाट अध्यक्षमा श्रुती अमात्य सहित नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

साधारण सभाको अध्यक्षता नेवाः नखः न्यूयोर्कका अध्यक्ष डा. नरेश मान शाक्यले गर्नुभएको थियो भने महासचिव तुलसी नारायण चित्रकारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा उपस्थित सदस्यहरूलाई तत्कालीन प्रथम उपाध्यक्ष श्रुति अमात्यले स्वागत गर्नुभएको थियो।

कार्यक्रममा संस्थापक उपाध्यक्ष, पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु मान प्रधानले नेवाः नखः न्यूयोर्कको स्थापना, यसको उद्देश्य, महत्व र इतिहासबारे प्रकाश पार्दै संस्थालाई अझ सुदृढ र प्रभावकारी रूपमा अगाडि बढाउन सबै सदस्यहरू एकताबद्ध भएर सहकार्य गर्नुपर्नेमा जोड दिदै शुभकामना ब्यक्त गर्नु भएका थियो ।
उक्त कार्यक्रममा उपस्थित सवै सदस्यहरुले आ-आफ्ना परिचय दिदै शुभकामना ब्यक्त गरेका थिए ।

खुला सत्रमा महासचिव तुलसी नारायण चित्रकारले संस्थाको पछिल्लो दुई वर्षको कार्यप्रगति तथा विभिन्न गतिविधिहरू प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदन सभाबाट अनुमोदन गरिएको थियो।

बन्द सत्रमा निर्वाचन आयुक्त (निर्वरतमान अध्यक्ष तथा सल्लाहाकार) महेन्द्र वीर बज्राचार्यको नेतृत्वमा पाँचौँ निर्वाचन विधिवत् सम्पन्न भएको थियो। निर्वाचनबाट निम्न कार्यसमिति निर्विरोध निर्वाचित भएको छ:

अध्यक्ष: श्रुति अमात्य
प्रथम उपाध्यक्ष: तुलसी नारायण चित्रकार
द्वितीय उपाध्यक्ष: राधिका कुमारी श्रेष्ठ
महासचिव: सलोनी वन्त श्रेष्ठ
कोषाध्यक्ष: मेनी श्रेष्ठ छोचूँ
सह–कोषाध्यक्ष: उजिला प्रधान
सदस्यहरू: दिपक कुमार प्रधान, नम्रता प्रधान, किरण कुमार रञ्जित, मोहिनी कर्माचार्य, अनिता बज्राचार्य, जीवेन्द्र भक्त प्रधानाङ्ग र रमेश चन्द्र चित्रकार

निर्वाचन आयुक्त महेन्द्र वीर बज्राचार्यले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो।

बन्द सत्रमा अध्यक्ष डा. नरेश मान शाक्यले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुका साथै आफ्नो कार्यकालमा संस्थाका विभिन्न कार्यक्रमहरूमा सहयोग गर्नुहुने सम्पूर्ण सदस्य, संघ–संस्था, महिला तथा पुरुष स्वयंसेवक र सहयोगीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

नवनिर्वाचित अध्यक्ष श्रुति अमात्यले आफ्नो मन्तव्यमा नेवाः भाषा, कला, संस्कृति, परम्परा र संस्कारको संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ पुस्तामा यसको पुस्तान्तरणलाई प्राथमिकता दिने बताउनुभयो। उहाँले सबै समुदायसँग हातेमालो र सहकार्य गर्दै सदस्यहरूलाई समेत लाभान्वित हुने विविध कार्यक्रमहरू सञ्चालन गरी संस्थालाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उहाँले निर्वाचन तथा साधारण सभामा उपस्थित भई सहयोग र समर्थन गर्नुहुने सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

नेवाः नखः न्यूयोर्क नेवाः परम्परा, भाषा, कला तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले सन् २०११ मा न्यूयोर्कमा स्थापना भएको संस्था हो। संस्थाले स्थापनाकालदेखि नै नेवाः समुदायको हित तथा कला–संस्कृतिको संरक्षणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

 

 

 

 

 

Loading...