
While in Kathmandu रेष्टुरेण्ट द्वारा बाढि पिडितको लागी रु.४८३,६९५ सहयोग
मकै हाउस सामुदायिक मिडिया,
न्यूयोर्क । नेपालमा बाढी–पहिरोबाट प्रभावितका लागि सहयोग जुटाउन आयोजित ‘Drink For Nepal’ अभियानमार्फत न्युयोर्कको क्विन्स, रिजवुड स्थित While in Kathmandu रेष्टुरेण्टले कुल ३,२२७ अमेरिकी डलर ( रु.४८३,६९५) संकलन गरी नेपाल पठाएको छ ।
रेष्टुरेण्टका सञ्चालक बिकाश खरेलले फेसबुकमार्फत सार्वजनिक गरेको जानकारीअनुसार, संकलित रकम प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको राहत कोषका बैंक खातामध्ये Global IME Bank मा जम्मा गरिएको हो।
खरेलका अनुसार सहयोग गर्ने सबै दाताले आफ्नो नाम सार्वजनिक नगर्न आग्रह गरेकाले दाताहरूको नाम उल्लेख गरिएको छैन।

अभियानअन्तर्गत नेपाल गार्डेनका सञ्चालक अनिल रौनियारले बियर स्टक सहयोग गरेका थिए। ‘While in Kathmandu’ टिमसँगको सहकार्यमा बिक्री गरिएको बियरबाट मात्रै १ हजार ५३६ डलर संकलन भएको जनाइएको छ। त्यस्तै, ‘While in Kathmandu’ टिमबाट ५६० डलर, कार्यक्रमस्थलमा राखिएको डोनेसन बक्सबाट २११ डलर र अन्य दाताहरूबाट ९२० डलर संकलन भएको खरेलले उल्लेख गरेका छन्।


खरेलले अभियानमा साथ दिने सम्पूर्ण सहयोगी, दाता तथा टिमप्रति आभार व्यक्त गर्दै नेपालमा भएको ठूलो विपत्तिबाट प्रभावितहरूको पुनःस्थापनाका लागि थप सहयोग गर्न अपिल गरेका छन्।

