Banner

बाढीपीडितको सहयोगार्थ मगर संघ अमेरिकाद्वारा रु. ३० लाख भन्दा बढी आर्थिक सहयोग

 

मकै हाउस मिडिया, 

न्युयोर्क । मातृभूमि नेपालमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ मगर संघ अमेरिका केन्द्रीय समितिले सञ्चालन गरेको आर्थिक सहयोग अभियानबाट संकलित २० हजार २०० अमेरिकी डलर नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

मगर संघ अमेरिकाका अनुसार बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको सहयोगका लागि अमेरिकी मगर तथा गैरमगर समुदायबाट आर्थिक सहयोग आह्वान गरी कुल २१ हजार ८७ अमेरिकी डलर संकलन गरिएको थियो। प्राविधिक खर्च कटाएर राहत कोषमा २० हजार २०० डलर जम्मा गरिएको संघले जनाएको छ।

नेपाल सरकार प्रतिनिधि सभाका पूर्वउपसभामुख तथा संघीय सांसद इन्दिरा राना मगर र न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधिराम भण्डारीको समुपस्थितिमा आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो।

‘प्राकृतिक विपद्मा परेका पीडित नागरिकका लागि दीप प्रज्वलन तथा सहयोग रकम हस्तान्तरण कार्यक्रम २०२६’ मार्फत रु. ३० लाख ३० हजार बराबरको प्रतीकात्मक (सिम्बोलिक/डम्मी) चेकसमेत हस्तान्तरण गरिएको मगर संघ अमेरिकाले जनाएको छ।

मगर संघ अमेरिकाका अध्यक्ष दिप सागर बुढा मगरले मानवीय अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै सहयोगले विपद्मा परेका नागरिकप्रतिको माया, सद्भाव, एकता र जिम्मेवारीलाई प्रतिबिम्बित गरेको बताएका छन्।

संघले अभियान सफल बनाउन निरन्तर सहयोग गर्ने विभिन्न च्याप्टर कमिटीप्रति समेत कृतज्ञता व्यक्त गरेको छ ।

 

Loading...