
न्युयोर्कको म्यानह्याट्टनमा “नेपाल डे परेड २०२४” भब्यरुपमा सम्पन्न (फोटो सहित)

मकै हाउस टिभी एण्ड न्यूज़,
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क शहरमा नेपाल डे परेड सम्पन्न भएको छ । न्यूयोर्कको व्यस्त शहर म्यानहाटन आईतबार दिनभर जसो नेपाली संगीतले गुञ्जायमान बन्यो ।
नेपालका विभिन्न जातजाति र क्षेत्रका मानिसहरु आआफ्नै भेषभुषामा उपस्थित भएका थिए । पञ्चे बाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामांग सेलोले गुञ्जिएको परेडमा विभिन्न संघसंस्थाका व्यानरसहित नेपाली र नेपाली अमेरिकनहरुको उपस्थिति रहेको थियो ।




गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली संघसंस्थाको सहकार्य र समन्वयमा नेपाल डे परेड सम्पन्न भएको हो । नेपालको गणतन्त्र दिवसको सेरोफेरो पारेर सन् २०१६ देखि नेपाल डे परेड गर्न थालिएको हो ।

न्यूयोर्क शहरका मेयर एरिक एडम्स, अमेरिकी सिनेटका मेजोरिटी लिडर चक सुमर, न्यूयोर्क राज्यका सांसद स्टेभन रागालगायत स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा पर्यटकहरुले विशेष रुचीका साथ अवलोकन गरेका थिए ।

नेपालको विविध कला, संस्कृति र परम्परा झल्किने गरी गरिएको सांगितिक प्रस्तुतिले म्यानहाटन शहरलाई नेपालमय बनाएको थियो । नेपाली पोशाक, झण्डा र व्यानरसहित नाचगान र बाजा बजाउँदै शहर परिक्रमा गरी आयोजना गरिएको सभामा नेपाली महावाणिज्य दुतावास न्यूयोर्ककी वाणिज्य दुत विष्णु अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने न्यूयोर्कका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक एवं पत्रकार गोकुल श्रेष्ठ, उपवाणिज्य दुत संगीता न्यौपानेलगायतको विशेष आतिथ्यता रहेको थियो ।

न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटबाट उपस्थित भएका नेपालीहरुले देश प्रेम झल्किने गरी आफ्नो एकता र राष्ट्यि भाव प्रकट गरेका थिए । दुई हजार भन्दा बढि नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको उपस्थिति रहेको कार्यक्रमले अमेरिकामा नेपालीको उपस्थिति र एकतालाई झल्काएको थियो । त्यतिमात्र होइन सगरमाथाको देश नेपाल, बुद्ध जन्मेको भूमि मात्र होइन हरेक कोणबाट जीवनको अनुभव बटुल्न नेपाल भ्रमण गर्नु पर्ने सन्देश पनि परेडले दिएको थियो ।

परेडका लागि अध्यक्ष हेमन्त मल्ल रहनु भएको थियो भने ई. टेम्बा शेर्पालाई कन्भेनरको जिम्मेवारी दिईएको थियो । त्यस्तै संचारकर्मी एवं म्यूजिक भिंडियों निर्देशक विक्कि पुलामी र डाजिमा शेर्पाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सात वटै प्रदेशका विशेष प्रतुतिहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको आर्थिक संयोजन दिनदयाल भण्डारी दिनेशले गर्नु भएको हो ।

