
“नेपाल डे परेड” एनआरएनए, न्युयोर्क च्याप्टर र फिप्नाको संयुक्त आयोजनामा हुने
मकै हाउस मिडिया, न्युयोर्क
न्युयोर्क । सन् २०१६ देखि संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरबाट सुरु भएको “नेपाल डे परेड” यस् बर्ष देखि गैर आवासिय नेपाली संघ, न्युयोर्क च्याप्टर र नेपाल आदिवासी जनजाती महासंघ, अमेरिका (फिप्ना)को संयुक्त आयोजनामा हुने भएको छ ।

सन् २०१६ मा सुरुवात भएको नेपाल डे परेड, नेपाली डाएस्पोराका तिन प्रमुख संस्थाहरु नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना), नेपाली जनसम्पर्क समिती अमेरिका र प्रवासी नेपाली मंच अमेरिकाको प्रमुख नेतृत्व र बिभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न भएको थियो, त्यसपछी फिप्नाको नेतृत्व परिवर्तन संगै देखिएको आन्तरिक बिवादका कारण फिप्ना नेपाल डे परेडबाट बाहिर रहेका थिए ।

नेपाल डे पेरडको (एक दशक प्रवेश संगै) दशौ बार्षिकोत्सव मनाउने सुनौलो अवसर संगै फिप्ना र एनआरएनएले संयुक्तरुपमा आयोजना गर्ने सहमती भएको छ ।

यस बर्षको कन्भेनरको जिम्मा सम्हालेका शेर्पा संघ अमेरिकाका अध्यक्ष एपी लामा शेर्पा भन्नुहुन्छ :- “यस् बर्ष देखि फिप्नालाई पनी नेपाल डे परेडमा आयोजकको रुपमा ल्याई फिप्ना र नेपाल डे पेरड बिच देखिएको समस्याको अन्त्य गर्ने प्रण थियो र सफल भएको छ, निकै खुशी महसुस गरेको छु, अव यस् बर्षदेखी झनै बृहत हुनेमा आशा बिश्वास गरेको छु ।”

त्यस्तै गरी नेपाल डे परेड २०२६ का अध्यक्षको जिम्मेवारी सम्हालेका गैह्र आवासिय नेपाली संघ, न्युयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछाने भन्नुहुन्छ :- “हामि प्रवासि भुमिमा रहेरपनी बिभाजनमा बाच्नुपर्दा निक्कै दुख लागेको थियो, अन्तत हामी सबै नेपाली हौ, हाम्रो परिचय नेपाली हो, आज आएर हामि सबै मिली संगै नेपाल डे परेड मनाउनु भनेको प्रवासी भुमीबाट एकताको संदेश दिनु पनी हो ।”

फिप्नाका पुर्व अध्यक्ष तथा नेपाल डे परेडका संस्थापक लुईसांग वाईबा भन्नुहुन्छ :- “नेपाल डे परेड, म फिप्नाको अध्यक्ष रहदा प्रवासी नेपाली मंच र नेपाली जनसम्पर्क समिती र अन्य बिभिन्न संघस्सथाहरुको संयुक्त आयोजनामा नेपालको गणतन्त्र दिवसको अवसरमा प्रवासी भुमीमा नेपाली कला, संस्कार, संस्कृती, भाषा, भेषभुषा, धर्म र परम्पराको पहिचान र स्थायित्वको निमित्त हामीले संयुक्त राज्य अमेरिकाकै ईतिहासमा पहिलो पटक न्युयोर्कबाट सुरुवात गरेका थियौ, पछिल्लो समय अमेरिकाको बिभिन्न राज्य र अन्य बिभिन्न देशहरुमा पनी नेपाल डे परेड मनाईरहेका छन् जुन निकै गर्वको कुरा हो, पछिल्लो समयमा आएर फिप्नाको नेतृत्वले उठाएको केही प्रश्नका कारण फिप्ना नेपाल डे परेडबाट बाहिर रहेका थिए तर आज दशौ बर्षको उत्सव मनाउने क्रममा पुन: फिप्ना जोडीनु निकै खुशी महसुस भएको छ, अबको आगामी बर्षहरुमा झनै प्रभावकारी ढंगले नेपाल डे परेड अगाडी बढ्नेमा आशावादी छु।”

यस बर्ष नेपाल डे परेड एनआरएनए संगै फिप्नालाई जोड्नमा फिप्नाका सदस्य संस्थाहरु, नेतृ्त्वगणहरु र फिनान्सियल प्रोफेसनल तथा पुर्व अध्यक्ष, प्रवासी नेपाली एकता मंच, अमेरिका, टेक गुरुंगको बिशेष भुमिका रहेको छ ।

