Banner

न्युयोर्क सिटीद्वारा मे १७ लाई ‘नेपाली हेरिटेज डे’ घोषणा

 

मकै हाउस सामुदायिक मिडिया, 

न्युयोर्क । न्युयोर्क सिटीले मे १७, २०२६ लाई आधिकारिक रूपमा “नेपाली हेरिटेज डे” घोषणा गरेको छ। मेयर जोहरान ममदानीद्वारा हस्ताक्षर गरिएको उक्त घोषणामा नेपाली-अमेरिकी समुदायले न्युयोर्क सहरको सामाजिक, सांस्कृतिक तथा विविधतायुक्त पहिचान निर्माणमा पुर्‍याएको महत्वपूर्ण योगदानको प्रशंसा गरिएको छ।

घोषणामा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षण तथा प्रवर्द्धनमा पुर्‍याएको योगदानलाई पनि विशेष रूपमा उल्लेख गरिएको छ। न्युयोर्कका पाँचवटै बरोमा नेपाली समुदायको सक्रिय सहभागिता र सांस्कृतिक उपस्थिति बढ्दै गएको सन्दर्भमा यो घोषणा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यसअघि पनि न्युयोर्कमा नेपाली समुदायका लागि ऐतिहासिक उपलब्धिहरू कायम भएका थिए। सन् २०२३ सेप्टेम्बर २० मा तत्कालीन मेयर एरिक एडम्सले लोअर म्यानहाटनस्थित बोलिङ ग्रीन पार्कमा पहिलोपटक नेपालको राष्ट्रिय झण्डा फहराउँदै उक्त दिनलाई “नेपाली हेरिटेज एन्ड कन्स्टिच्युसन डे” घोषणा गरेका थिए।

त्यसैगरी, सन् २०२३ मै न्युयोर्क राज्यकी विधानसभा सदस्य जेनिफर राजकुमारले Assembly Resolution 575 मार्फत “नेपाली-अमेरिकन हेरिटेज डे” प्रस्ताव प्रस्तुत गरेकी थिइन्। उक्त कार्यक्रम न्युयोर्क सिटी मेयर कार्यालय, बोलिङ ग्रीन पार्क एसोसिएसन, माइनोरिटी इम्पावरमेन्ट नेटवर्क, नेपाली महावाणिज्य दूतावास तथा विभिन्न सामुदायिक संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।

 

Loading...