
५४औँ पटक रक्तदान गरेका शंकर पौडेलद्वारा नयाँ विश्व कीर्तिमान
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । न्युयोर्कमा सक्रिय समाजसेवी तथा रक्तदाता शंकर पौडेलले आफ्नो ५४औँ पटकको रक्तदानका क्रममा केवल ३ मिनेट ५८ सेकेन्डमा रगत दान गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।
पौडेल हाल बलेवा समाज अमेरिकाका अध्यक्ष, बाग्लुङ समाज अमेरिकाका केन्द्रीय उपाध्यक्ष, ब्लड डोनर एसोसिएसन अफ अमेरिकाका उपाध्यक्ष, एनआरएनए एनसीसी यूएसए अन्तर्गत ब्लड डोनर एसोसिएसनका उपाध्यक्ष तथा न्युयोर्क ब्लड डोनेट एसोसिएसनका एसियन कम्युनिटी सदस्यको रूपमा विभिन्न सामाजिक संस्थामा सक्रिय छन्।

न्युयोर्क तथा अमेरिकामा रहेका विभिन्न संघसंस्थासँग सहकार्य गर्दै उनी लामो समयदेखि समाजसेवा तथा रक्तदान अभियानमा समर्पित छन्। यही अभियानअन्तर्गत उनले आजसम्म ५४ पटक रक्तदान गरिसकेका छन्।

यसअघि विश्वमै सबैभन्दा छिटो रक्तदान गर्ने कीर्तिमान एक अष्ट्रेलियाली नागरिकको नाममा रहेको बताइन्छ, जसले ३ मिनेट १७ सेकेन्डमा रक्तदान गरेका थिए। शंकर पौडेलले विगतमा पनि पटक–पटक ५ मिनेटभन्दा कम समयमा रक्तदान गरेर आफ्नो विशेष क्षमता प्रदर्शन गर्दै आएका थिए।
यसपटक ५४औँ रक्तदानका क्रममा उनले ३ मिनेट ५८ सेकेन्डमै रगत दान गर्न सफल हुँदै उल्लेखनीय कीर्तिमान स्थापित गर्दै विश्वमै दोस्रो छोटो समयमा रगत दान गर्ने ब्यक्ती बनेका छन् ।

