Banner

ब्राजिलसँग भिड्नु पहिले नर्वे, हालान्ड आफैंले भने– “हाम्रो सम्भावना निकै कम छ”

 

मकै हाउस मिडिया, 

फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को बहुप्रतीक्षित खेलमा ब्राजिलसँग भिड्नुअघि नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो टोलीको सम्भावनाबारे खुलेर प्रतिक्रिया दिएका छन्।

राउण्ड अफ ३२ मा आइभरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा पुगेको नर्वे अब पाँचपटकको विश्व च्याम्पियन ब्राजिलसँग प्रतिस्पर्धा गर्दैछ। खेलअघि सञ्चारकर्मीसँग कुरा गर्दै हालान्डले ब्राजिलविरुद्धको चुनौती सहज नरहेको स्वीकार गरे।

उनले भने, “अन्तिम १६ मा पुगिसकेपछि सबै टोली उत्कृष्ट हुन्छन्। हामीलाई कठिन खेल पर्खिरहेको छ। हामीले राम्रो तयारी गरेका छौँ र मैदानमा आफ्नो शतप्रतिशत दिनेछौँ। तर नतिजाबारे अहिले नै केही भन्न सकिँदैन।”

ब्राजिललाई हराउने सम्भावनाबारे सोधिएको प्रश्नमा हालान्डले संक्षिप्त तर स्पष्ट जवाफ दिए, “साँचो भन्नुपर्दा, हाम्रो सम्भावना निकै कम छ।”

आइभरी कोस्टविरुद्धको खेलमा ८६औँ मिनेटमा निर्णायक गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाएका हालान्डबाट ब्राजिलविरुद्ध पनि समर्थकहरूले ठूलो अपेक्षा गरेका छन्। यद्यपि, हालान्ड स्वयंले भने बलियो प्रतिद्वन्द्वीविरुद्ध यथार्थवादी दृष्टिकोण प्रस्तुत गरेका छन्।

अब विश्व फुटबलका दुई आकर्षक टोलीबीच हुने ब्राजिल–नर्वे भिडन्तलाई फिफा विश्वकप २०२६ को अन्तिम १६ कै सबैभन्दा रोमाञ्चक खेलमध्ये एकका रूपमा हेरिएको छ।

 

Loading...