
ठिक १२ वर्षअघि नेमारलाई लागेको त्यो चोट, जसले चकनाचुर बनाएको थियो ब्राजिलको विश्वकप सपना
मकै हाउस मिडिया,
न्युयोर्क । ठ्याक्कै १२ वर्षअघि, सन् २०१४ को फिफा विश्वकपको क्वाटरफाइनलमा ब्राजिलले कोलम्बियालाई २–१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो। तर त्यो जितभन्दा पनि खेलको अन्तिमतिर भएको एउटा घटनाले विश्व फुटबलमा गहिरो छाप छोड्यो।
खेलको सातौँ मिनेटमा कप्तान थियागो सिल्भाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। त्यसपछि ६९औँ मिनेटमा डेभिड लुइजको शानदार फ्रिकिक गोलसँगै ब्राजिलले अग्रता दोब्बर बनायो। ८०औँ मिनेटमा जेम्स रोड्रिगेजले पेनाल्टीमार्फत कोलम्बियाका लागि एक गोल फर्काए पनि ब्राजिल जिततर्फ उन्मुख थियो।

तर खेल सकिन केही मिनेट मात्र बाँकी रहँदा कोलम्बियाका डिफेन्डर हुआन जुनिगाले नेयमारमाथि गरेको चुनौतीका क्रममा उनी गम्भीर रूपमा घाइते भए। उनको ढाड (स्पाइन) को हड्डीमा चोट लागेपछि उनलाई स्ट्रेचरमार्फत मैदानबाट बाहिर लगिएको थियो।

चिकित्सकीय परीक्षणपछि नेयमारको मेरुदण्डको L3 Vertebra मा फ्र्याक्चर भएको पुष्टि भयो र उनी बाँकी विश्वकपबाट बाहिरिए। उक्त चोटले ब्राजिलको विश्वकप जित्ने आशामाथि ठूलो धक्का पुग्यो।
नेयमारबिना मैदान उत्रिएको ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ऐतिहासिक रूपमा ७–१ गोल अन्तरले पराजित भयो। घरेलु मैदानमा बेहोरेको उक्त हारलाई आज पनि विश्वकप इतिहासकै सबैभन्दा पीडादायी पराजयमध्ये एक मानिन्छ।
नेयमारको त्यो चोट केवल एक खेलाडीको चोट मात्र थिएन, त्यो ब्राजिलका करोडौँ समर्थकको विश्वकप जित्ने सपनामा लागेको गहिरो चोट थियो। आज पनि त्यो क्षण सम्झिँदा ब्राजिलियन समर्थकका लागि सन् २०१४ विश्वकपको पीडा ताजै हुने गर्छ।
