
विश्वकपको मैदानबाट फर्किएको केही सातामै अस्ताए २५ वर्षीय फुटबल स्टार जयडेन एडम्स
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । दक्षिण अफ्रिकी राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जयडेन एडम्सको २५ वर्षको उमेरमै असामयिक निधन भएको छ। केही साताअघि मात्रै विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गरेका एडम्सको निधनले दक्षिण अफ्रिकासहित विश्व फुटबल जगतलाई स्तब्ध बनाएको छ।
एडम्सले विश्वकपको समूह चरणका तीनवटै खेलमा सहभागिता जनाएका थिए। उनको महत्वपूर्ण योगदानमा दक्षिण अफ्रिका नकआउट चरणसम्म पुगेको थियो। तर आयोजक क्यानाडासँग पराजित भएपछि टोलीको विश्वकप यात्रा समाप्त भएको थियो।

प्रहरीका अनुसार शनिबार बिहान केप टाउनको स्कट्चेक्लोफस्थित एक घरमा २५ वर्षीय एडम्स मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धान सुरु गरिएको भए पनि उनको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन।
दक्षिण अफ्रिकाका खेलकुद, कला तथा संस्कृति मन्त्री गेटन म्याकेन्जीले एडम्सको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै देशले एक प्रतिभाशाली र आशलाग्दो फुटबल खेलाडी गुमाएको बताएका छन्।
एकेडेमीबाट उदाउँदै राष्ट्रिय टोली ‘बफाना बफाना’ को महत्वपूर्ण सदस्य बनेका एडम्सको निधनपछि परिवार, सहकर्मी खेलाडी, क्लब तथा लाखौँ फुटबल समर्थक शोकमा डुबेका छन्।
मृत्युको कारणबारे अड्कलबाजी नगर्न आग्रह गर्दै मन्त्री म्याकेन्जीले यस कठिन समयमा एडम्सको परिवार र उनको क्लब मामेलोडी सनडाउन्सको गोपनीयताको सम्मान गर्न सञ्चारमाध्यम तथा सर्वसाधारणलाई अनुरोध गरेका छन्।

