
अमेरिकामा ‘वर्स्ट अफ द वर्स्ट’ सूचीमा थपिए ३ नेपाली, अब कुल संख्या १० पुग्यो
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क। अमेरिकी गृह सुरक्षा विभाग (Department of Homeland Security–DHS) ले सञ्चालन गरिरहेको देशव्यापी अध्यागमन कारबाहीका क्रममा थप तीन नेपाली नागरिकलाई ‘वर्स्ट अफ द वर्स्ट’ (Worst of the Worst) अर्थात् गम्भीर आपराधिक पृष्ठभूमि भएका गैरनागरिकहरूको सूचीमा समावेश गरेको छ। यससँगै उक्त सूचीमा पर्ने नेपालीको संख्या १० पुगेको छ।
डीएचएसले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ह्यारिसबर्ग (पेन्सिलभेनिया) का शंकर कार्की, डलास (टेक्सास) का टंक पराजुली तथा ब्रिजवाटर (मसाचुसेट्स) का प्रसिद्ध बरुवाल नयाँ सूचीमा थपिएका हुन्। कार्कीमाथि ठगी, पराजुलीमाथि खतरनाक लागूऔषधसँग सम्बन्धित अपराध तथा बरुवालमाथि सार्वजनिक भवनमा आगजनी र लुटपाटको आरोप उल्लेख गरिएको छ।
यसअघि डीएचएसले सार्वजनिक गरेको सूचीमा सात नेपाली नागरिक समावेश थिए। उनीहरूमाथि यौन शोषण, ठगी, लागूऔषध कारोबार, हिंसात्मक आक्रमण तथा अन्य गम्भीर आपराधिक गतिविधिमा संलग्न रहेको आरोप उल्लेख गरिएको छ।

पहिले सार्वजनिक गरिएका नेपालीमध्ये टेकन कँडेल कोलोराडोमा नाबालिगको यौन शोषण र बन्धक बनाएको आरोपमा, अनिल पन्थ टेक्सासको डलासमा सञ्चारमाध्यममार्फत नाबालिगलाई प्रलोभनमा पारेको आरोपमा तथा सयनम घिमिरे न्युयोर्कमा यौन दुर्व्यवहारको आरोपमा सूचीकृत छन्।
त्यसैगरी सन्तोष दर्जी एरिजोनामा खतरनाक लागूऔषध, परिचय चोरी र सवारीसाधन चोरी, नबिन शाह टेक्सासमा ठगी, कुटपिट र चोरी, रातुल सिंह डलासमा डकैती तथा रिकेश थापा लुजियानामा वायर फ्रड (विद्युतीय ठगी) सम्बन्धी आरोपमा सूचीमा राखिएका छन्।
डीएचएसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको अध्यागमन नीतिअनुसार गम्भीर तथा हिंसात्मक अपराधमा संलग्न गैरनागरिकलाई प्राथमिकताका साथ पक्राउ गरी देशनिकाला गर्ने अभियान तीव्र बनाइएको हो। सोही रणनीतिअनुसार ‘वर्स्ट अफ द वर्स्ट’ सूची सार्वजनिक गर्दै उच्च जोखिमका व्यक्तिहरूको विवरण सार्वजनिक गरिएको विभागले जनाएको छ।
डीएचएसले मंगलबार उक्त वेबसाइटमा थप ५,००० आपराधिक गैरकानुनी आप्रवासीको विवरण समावेश गरेको घोषणा गरेको छ। यससँगै वेबसाइटमा अहिले देशभरबाट पक्राउ परेका ४०,००० भन्दा बढी व्यक्तिको विवरण उपलब्ध रहेको बताइएको छ।
सन् २०२५ डिसेम्बर ८ मा सुरु गरिएको उक्त वेबसाइटमा हत्या, बलात्कार, नाबालिगमाथिको यौन शोषण, आगजनी, अपहरण, सशस्त्र डकैती, हमला, लागूऔषध तस्करी, ठगीलगायतका गम्भीर अपराधमा पक्राउ परेका गैरनागरिकहरूको विवरण समावेश गरिएको डीएचएसले जनाएको छ।

डीएचएसकी सहायक सचिव लरेन बिसेल ले समुदायको सुरक्षाका लागि गम्भीर अपराधमा संलग्न गैरनागरिकहरूलाई पक्राउ गरी देशनिकाला गर्ने अभियानलाई अझ प्रभावकारी बनाइने र यस प्रक्रियामा पारदर्शिता कायम राख्न वेबसाइट नियमित रूपमा अद्यावधिक गरिने बताएकी छन्।
