
मोनरो युनिभर्सिटीद्वारा मकवानपुरमा शैक्षिक परामर्शदाताहरूसँग बिशेष कार्यक्रम सम्पन्न
मकै हाउस सामुदायिक मिडिया,
हेटौँडा । मोनरो युनिभर्सिटीले नेपाल शैक्षिक परामर्श संघ (ECAN), मकवानपुर शाखासँगको सहकार्यमा हेटौँडास्थित होटल सामना मा शैक्षिक परामर्श व्यवसायीहरूसँग Meet & Greet तथा Information Sharing Session आयोजना गरेको छ। कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रका ३१ भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता ECAN मकवानपुरका उपाध्यक्ष श्री दिपेन्द्र श्रेष्ठज्यूले गर्नुभएको थियो। समापन मन्तव्य राख्दै उहाँले मोनरो युनिभर्सिटीले आयोजना गरेको जानकारीमूलक तथा अन्तरक्रियात्मक कार्यक्रमका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले पछिल्लो समय शैक्षिक परामर्श क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेको र विभिन्न चुनौतीहरू थपिँदै गएको अवस्थामा अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा शैक्षिक परामर्श व्यवसायीबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।


उहाँले विद्यार्थी तथा अभिभावकलाई सही र जिम्मेवार परामर्श प्रदान गर्न विश्वसनीय, अद्यावधिक र आधिकारिक सूचनाको पहुँच अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष संवाद हुँदा शैक्षिक कार्यक्रम, छात्रवृत्ति, भर्ना प्रक्रिया, भिसा प्रक्रिया तथा अनुपालनसम्बन्धी विषयमा परामर्शदाताहरूलाई स्पष्ट जानकारी प्राप्त हुने उहाँको भनाइ थियो। उहाँले ECAN सदस्यहरूलाई व्यावसायिक मापदण्ड कायम गर्दै गुणस्तरीय परामर्श र वास्तविक अन्तर्राष्ट्रिय शैक्षिक अवसरलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।
कार्यक्रमकी प्रमुख अतिथि मोनरो युनिभर्सिटीकी Director of Asia SEVIS Compliance/DSO सुश्री श्रुति अमात्यले मोनरो युनिभर्सिटी तथा अमेरिकाको पछिल्लो अन्तर्राष्ट्रिय शिक्षा परिदृश्यबारे विस्तृत प्रस्तुति दिनुभयो।
सुश्री अमात्यले मोनरो युनिभर्सिटीको पृष्ठभूमि, शैक्षिक कार्यक्रमहरू, क्याम्पस, अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध विद्यार्थी सहायता सेवा, छात्रवृत्ति तथा भर्नाका अवसरहरूबारे जानकारी गराउनुभयो। उहाँले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शैक्षिक यात्रामा विश्वविद्यालयले प्रदान गर्ने सहयोग तथा योग्य विद्यार्थीलाई उपयुक्त शैक्षिक अवसरसँग जोड्न शैक्षिक परामर्श साझेदारहरूको भूमिकाबारे पनि प्रकाश पार्नुभयो।

उहाँले अमेरिकी अध्यागमन नीति, भिसा तथा अनुपालनसम्बन्धी आवश्यकताहरू, SEVIS सम्बन्धी विषयहरू तथा अन्तर्राष्ट्रिय विद्यार्थी र शैक्षिक परामर्श व्यवसायीलाई प्रभाव पार्ने पछिल्ला परिवर्तनहरूबारे समेत जानकारी गराउनुभयो। सही कागजात, नियमको पालना, नैतिक परामर्श तथा विद्यार्थी, परामर्शदाता र विश्वविद्यालयबीच प्रभावकारी सञ्चारको महत्त्वमा उहाँले विशेष जोड दिनुभयो।
सुश्री अमात्यले DHA का पछिल्ला नियम तथा अध्यागमनसम्बन्धी आवश्यकताहरूमा भएका परिवर्तनहरूबारे समेत जानकारी दिँदै परामर्श व्यवसायीहरूलाई नियामकीय परिवर्तनबारे निरन्तर अद्यावधिक रहन र विद्यार्थीलाई आधिकारिक तथा विश्वसनीय स्रोतमा आधारित सूचना प्रदान गर्न आग्रह गर्नुभयो। कार्यक्रममा सहभागी परामर्शदाताहरूले मोनरो युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै भर्ना, छात्रवृत्ति, विद्यार्थीको योग्यता, अनुपालन तथा साझेदारीका सम्भावनासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए।
कार्यक्रममा ECAN का केन्द्रीय कार्यसमिति सदस्यद्वय श्री अनन्त राज घिमिरे र श्री सञ्जीव पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै श्री अनन्त राज घिमिरेले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र दिनप्रतिदिन प्रतिस्पर्धात्मक र सूचना–केन्द्रित बन्दै गएको बताउनुभयो। उहाँले विद्यार्थीलाई व्यावसायिक, जिम्मेवार र गुणस्तरीय परामर्श प्रदान गर्न परामर्श व्यवसायीहरूले विश्वविद्यालयका कार्यक्रम, भिसा नीति, अनुपालनका आवश्यकताहरू तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा विकसित भइरहेका नयाँ अवसरबारे निरन्तर आफ्नो ज्ञान अद्यावधिक गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले विश्वविद्यालय र शैक्षिक परामर्श व्यवसायीबीचको सहकार्य पारदर्शिता, नियमित सञ्चार, सही सूचना आदानप्रदान र पारस्परिक विश्वासमा आधारित हुनुपर्ने बताउनुभयो। यस्ता सूचना आदानप्रदान कार्यक्रममार्फत ECAN सदस्यहरूले विश्वविद्यालयलाई नजिकबाट बुझ्ने तथा नेपाली विद्यार्थीका लागि उपयुक्त शैक्षिक अवसर पहिचान गर्ने अवसर प्राप्त हुने उहाँको भनाइ थियो।
त्यस्तै, श्री सञ्जीव पाण्डेले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा नेटवर्किङ र सहकार्यको महत्त्वबारे प्रकाश पार्नुभयो। विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष संवाद हुँदा संस्थाको अपेक्षा, भर्ना प्रक्रिया, छात्रवृत्ति, विद्यार्थी सहायता प्रणाली तथा अन्य शैक्षिक अवसरबारे परामर्श व्यवसायीहरूले अझ प्रभावकारी रूपमा जानकारी प्राप्त गर्न सक्ने उहाँले बताउनुभयो।

उहाँले विश्वसनीय अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग व्यावसायिक सहकार्यलाई अझ बलियो बनाउन ECAN सदस्यहरूलाई आग्रह गर्दै नैतिकता, पारदर्शिता र विद्यार्थीको हितलाई केन्द्रमा राखेर गरिने सहकार्यले विद्यार्थी, परामर्श व्यवसायी, विश्वविद्यालय तथा समग्र शैक्षिक क्षेत्रलाई दीर्घकालीन लाभ पुर्याउने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन ECAN मकवानपुरका सचिव श्री मनीष अधिकारीले गर्नुभएको थियो। उहाँले कार्यक्रमको प्रभावकारी सञ्चालन तथा समन्वय गर्दै सम्पूर्ण कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।

कार्यक्रममा सहभागी परामर्श व्यवसायीहरूले मोनरो युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष रूपमा अन्तरक्रिया गर्दै अमेरिकी शिक्षा, भर्ना प्रक्रिया, छात्रवृत्ति, अध्यागमनसम्बन्धी पछिल्ला विकास तथा अनुपालनका आवश्यकताहरूबारे जानकारी तथा जिज्ञासाको समाधान प्राप्त गरेका थिए।
कार्यक्रम अत्यन्तै अन्तरक्रियात्मक, जानकारीमूलक तथा प्रभावकारी बनेको सहभागीहरूले बताएका छन्। कार्यक्रमको सफल आयोजनाले मोनरो युनिभर्सिटी र ECAN मकवानपुर शाखाबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपाली विद्यार्थीका लागि गुणस्तरीय अमेरिकी शिक्षा अवसर प्रवर्द्धन गर्न आगामी दिनमा थप सहकार्य, सूचना आदानप्रदान र साझेदारीका लागि महत्वपूर्ण आधार तयार गरेको छ।

