
च्याम्पियन्स लिगको पहिलो खेलमा रियल म्याड्रिडद्वारा इन्टर मिलान पराजित
मकै हाउस मिडिया,
म्याड्रिड — यूईएफए च्याम्पियन्स लिग २०२६/२७ को आफ्नो पहिलो खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
सान्तियागो बर्नाबेउमा भएको रोमाञ्चक खेलमा रियल म्याड्रिडले पहिलो हाफमै दुई गोल गर्दै खेलमा बलियो पकड बनाएको थियो। खेलको १४औँ मिनेटमा किलियन एमबापेले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए। त्यसको नौ मिनेटपछि अर्थात् २३औँ मिनेटमा फेडेरिको भालभर्डेले गोल थप्दै रियलको अग्रता २–० बनाए।

दोस्रो हाफमा इन्टर मिलानले खेलमा फर्किने निरन्तर प्रयास गर्यो। त्यसक्रममा ७७औँ मिनेटमा कार्लोस अगुस्टोले गोल गर्दै इन्टरको आशा जगाए। गोलपछि इन्टरले बराबरीका लागि दबाब बढाए पनि रियल म्याड्रिडले आफ्नो अग्रता जोगाउन सफल भयो।
इन्टरले दोस्रो हाफमा बलमाथि राम्रो नियन्त्रण राख्दै लगातार आक्रमण गरे पनि रियलका गोलरक्षक थिबाउट कोर्टुवाले महत्वपूर्ण बचाउ गर्दै टोलीलाई अग्रता कायम राख्न मद्दत गरे। अन्ततः निर्धारित समयको खेल सकिँदा रियल म्याड्रिड २–१ गोल अन्तरले विजयी भयो।
यससँगै रियल म्याड्रिडले च्याम्पियन्स लिगको नयाँ सिजनमा महत्त्वपूर्ण तीन अंकसहित विजयी सुरुवात गरेको छ भने इन्टर मिलानले भने पहिलो खेलमै हार बेहोरेको छ।

